
काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षको हैसियतमा किशोरकुमार केसीले पदबहाली गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एसोसिएसनका निर्वाचित अध्यक्ष रामप्रसाद गैरेलाई विधानअनुसार अध्यक्ष हुन अयोग्य भन्दै सोमबार केसीलाई अध्यक्षको जिम्मेवारी तोकेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्णय कार्यान्वयनका लागि एसोसिएसनको नाममा सोमबार पत्र पठाउँदै एसोसिएसनको असार ५ गते सम्पन्न १३औं साधारणसभाबाट अध्यक्ष पदमा निर्वाचित गैरे संस्थाको विधानको दफा ७ र ८ बमोजिमको अध्यक्षको योग्यता नपुगेको देखिएको भन्दै गैरेलाई अध्यक्ष पदबाट हटाई निर्वाचनमा अध्यक्ष पदका निकटतम् उमेदवार केसीलाई अध्यक्षको जिम्मेवारी तोकेको थियो ।

गैरेले जिल्ला प्रशासन कार्यालयको पत्र मान्य र क्षम्य नभएको भन्दै कानुनी उपचार खोज्ने तयारीमा रहेको प्रतिक्रिया दिएका छन् । करिब १५ वर्ष अगाडि वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिन डिमान्ड सच्याएको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर्याई गैरेलाई ६ महिना कैद सजाय र एक लाख रूपैयाँ जरीवाना हुने फैसला गरेको थियो । गैरेले कानुन अनुसार प्राप्त सुविधाको उपयोग गरी कैद र जरिवाना बापत नगद बुझाएर कैदको लगत कट्टा गरिसकेका छन् ।

तर एसोसिएसनमा सर्वोच्च अदालतले नै दोषी ठहर गरेकाले अध्यक्षको पदबाट राजीनामा गर्नुपर्ने विषयमा करिब दुई सातादेखि टिकाटिप्पणी भइरहेको थियो ।
पदबहालीपछि अध्यक्ष केसीले नेपाली कांग्रेसको विधानअनुसार सबैलाई समेटेर एसोसिएसनलाई अगाडि बढाउने बताए । उनले निर्वाचनमा बनेका प्यानललाई प्रजातान्त्रिक प्रतिस्पर्धा भन्दै विगत मनमुटाव बिर्सेर बिनाभेदभाव सबैलाई समेटर अघि बढ्ने पनि बताए ।