
काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनकाे निर्वाचित पदाधिकारी तथा सदस्यहरूले किशोर केसीलाई अध्यक्षकाे जिम्मेवारी दिने जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे निर्णय नमान्ने निर्णय गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अध्यक्ष ताेकेका केसीले बुधबार बिहान अध्यक्षको पदबहाली गरेका थिए । त्यसलगत्तै बसेकाे निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बैठकले प्रथम उपाध्यक्ष सुवर्ण लामालाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी दिने निर्णय गरेको छ ।
तर अध्यक्ष केसीले अध्यक्षले आफ्नो अनुपस्थितिमा उपाध्यक्ष वा कसैलाई कार्यवाहक अध्यक्षकाे अख्तियारी दिनसक्ने व्यवस्था विधानमा रहेको भन्दै अध्यक्ष बाहेक अन्य कसैले कसैलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनु विधानअनुसार नहुने बताए ।
कार्यसमितिका १९ मध्ये १८ जनाको हस्ताक्षर रहेको माइन्युटबाट एसोसिएसनका निर्वाचित अध्यक्ष रामप्रसाद गैरेलाई विधानअनुसार अध्यक्ष हुन अयोग्य भन्दै केसीलाई अध्यक्षको जिम्मेवारी ताेकेकाे जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे निर्णय विधानसम्मत नरहेको निर्णय गरेको छ ।
अध्यक्ष केसीले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्थाले प्रशासनकाे निर्देशन अवज्ञा गर्नु पनि अनुचित र आपत्तिजनक हुने भन्दै सबैले विधि विधानले देखाएको बाटाे समात्नु पर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एसोसिएसनका नाममा गत साेमबार पत्र पठाउँदै एसोसिएसनको असार ५ गते सम्पन्न १३औं साधारणसभाबाट अध्यक्ष पदमा निर्वाचित गैरेलाई संस्थाको विधानको दफा ७ र ८ बमोजिमको अध्यक्ष योग्यता नपुगेको देखिएको भन्दै अध्यक्ष पदबाट हटाई निर्वाचनमा अध्यक्ष पदका निकटतम उमेदवार केसीलाई अध्यक्षको जिम्मेवारी तोकेकाे थियो ।
कार्यसमितिका १८जनाले तत्कालै कार्यसमितिको नयाँ निर्वाचन हुनु उपयुक्त हुने बताएका छन् ।