२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

लोकतान्त्रिकमा आरोप–प्रत्यारोप चर्कियो

Nada
२०८३ असार २५ गते ०६:३५
Shares
लोकतान्त्रिकमा आरोप–प्रत्यारोप चर्कियो

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा नेतृत्वको विषयलाई लिएर विवाद बढेको छ । गत निर्वाचनका अध्यक्ष पदका एकमात्र प्रतिस्पर्धी उम्मेदवार किशोरकुमार केसीलाई अध्यक्षको जिम्मेवारी दिने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय नमान्ने कार्यसमितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरूले निर्णय गरेपछि भित्रभित्रै फैलिएको एसोसिएसनभित्रको विवाद सतहमा आएको छ ।

ncell

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एसोसिएसनका नाममा गत सोमबार पत्र पठाउँदै एसोसिएसनको असार ५ गते सम्पन्न १३औं साधारणसभाबाट अध्यक्ष पदमा निर्वाचित रामप्रसाद गैरेलाई संस्थाको विधानको दफा ७ र ८ बमोजिम अध्यक्ष हुन आवश्यक योग्यता नपुगेको देखिएको भन्दै अध्यक्ष पदबाट हटाई निर्वाचनमा अध्यक्ष पदका एकमात्र प्रतिस्पर्धी उम्मेदवार केसीलाई अध्यक्षको जिम्मेवारी तोकेको थियो । केसीले बुधबार बिहान अध्यक्ष पदको पदबहाली गरेका थिए ।

त्यसलगत्तै निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बैठक  कार्यसमितिका प्रथम उपाध्यक्ष सुवर्ण लामाको कार्यवाहक अध्यक्षतामा बसी सिडियोको यस संवन्धि निर्णय नमान्ने निर्णय सार्वजनिक गरियो ।

तर अध्यक्ष केसीले निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बैठकको निर्णय एसोसिएसनको विधान र परम्पराअनुसार नभएको बताएका छन् । उनले अध्यक्षले आफ्नो अनुपस्थितिमा उपाध्यक्ष वा अन्य कसैलाई कार्यवाहक अध्यक्षको अख्तियारी दिन सक्ने व्यवस्था विधानमा रहेको भन्दै अध्यक्षबाहेक अन्य कसैले निर्णयको नाममा कसैलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनु विधानविपरीत र अराजक हुने बताए ।

कार्यसमितिका १९ मध्ये १८ जनाको हस्ताक्षर रहेको माइन्युटमार्फत एसोसिएसनका निर्वाचित अध्यक्ष गैरेलाई विधानअनुसार अध्यक्ष हुन अयोग्य भन्दै केसीलाई अध्यक्षको जिम्मेवारी तोकेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय विधानसम्मत नरहेको समेत निर्णय गरिएको छ ।

अध्यक्ष केसीले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्थाले प्रशासनको निर्देशनको अवज्ञा गर्नु पनि अनुचित र आपत्तिजनक हुने भन्दै सबैले विधि र विधानले देखाएको बाटो समात्नुपर्ने बताए ।

कार्यवाहक अध्यक्ष तोकिएका लामाले निर्वाचित अध्यक्ष अयोग्य भएको अवस्थामा कार्यसमितिका वरिष्ठ उपाध्यक्षले स्वतः कार्यवाहक भई काम गर्न पाउने प्रचलन संघसंस्थाहरूमा रहेको बताए । कार्यसमितिका पदाधिकारी तथा सदस्य गरी १८ जनाले तत्कालै कार्यसमितिको नयाँ निर्वाचन गर्नु उपयुक्त हुने बताएका छन् । बुधबारको बैठकले साउदी अरेबियाको स्किल भेरिफिकेसन अस्वीकार गर्ने र मनोरञ्जन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

अध्यक्ष केसीले पदबहाली गरेपछि एसोसिएसन कार्यालयमा भनाभन र धकेलाधकेल भएको एसोसिएसनमा आबद्ध केही व्यवसायीको भनाइ छ ।

सम्बन्धित खबर