२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मेडिकल संस्था तोक्न प्रतिबन्ध लगाउने कानुन ल्याइँदै

Nada
२०८३ असार २६ गते ०६:१५
Shares
मेडिकल संस्था तोक्न प्रतिबन्ध लगाउने कानुन ल्याइँदै

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि गन्तव्य मुलुकसँग समन्वय हुने व्यवस्था गरे पनि स्वास्थ्य परीक्षण गर्ने संस्था तोक्न प्रतिबन्ध लगाएको छ ।

ncell

मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधनका लागि सुझाव माग गर्दै सार्वजनिक गरेको मस्यौदामा स्वास्थ्य संस्था सम्बन्धी दफा ७२ मा दुईवटा उपदफा थप गरी संस्था तोक्ने व्यवस्थामा प्रतिबन्ध लगाउने प्रावधान राखेको हो । यो व्यवस्था संसद् बाट ऐन संशोधन भएपछि कार्यान्वयनमा आउनेछ ।

वैदेशिक रोजगार ऐनको दफा ७२ मा उपदफा (४) थप गरी स्वास्थ्य परीक्षण सम्बन्धमा कुनै देश विशेषका लागि छुट्टै स्वास्थ्य संस्था तोक्न नपाइने व्यवस्था गरिएको छ । त्यस्तै, मूल ऐनको दफा ७२ मा उपदफा १(क) थप गरी गन्तव्य मुलुकले वैदेशिक रोजगारमा जाने व्यक्तिको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थाको मापदण्ड तोक्दा नेपाल सरकार र गन्तव्य मुलुकबीचको आपसी समन्वयमा गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपालमा स्वास्थ्य परीक्षणलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणित र भरपर्दो बनाउँदै श्रम गन्तव्य मुलुकमा हुने स्वास्थ्य परीक्षणमा असफल हुने प्रवृत्ति रोक्ने उद्देश्यले विभिन्न मुलुकका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था तोकिएका छन् ।

हाल मलेसिया जाने कामदारका लागि ३६, साउदी अरब, बहराइन, कुवेत र ओमान जाने कामदार (गाम्का) अन्तर्गत १९ तथा कोरिया जाने कामदारका लागि ४ संस्थामार्फत स्वास्थ्य परीक्षण गर्ने व्यवस्था छ । अमेरिका र बेलायत जाने कामदारको स्वास्थ्य परीक्षण अन्तर्राष्ट्रिय आप्रवास संस्था (आइओएम) मार्फत तथा कतार जाने कामदारको परीक्षण कतार भिसा सेन्टरबाट भइरहेको छ । बाँकी स्वास्थ्य संस्थाले सयभन्दा बढी देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

सम्बन्धित खबर