
काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगार विभागद्वारा ४४२ वटा म्यानपावर कम्पनीमाथि गरिएको कारबाही अन्यायपूर्ण रहेको भन्दै उक्त कारबाही तत्काल फिर्ता लिन वैदेशिक रोजगार विभागसमक्ष माग गरेको छ ।
वैदेशिक रोजगार विभागले शुक्रबार जारी गरेको सूचनामार्फत ४४२ वटा इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायी संस्थामाथि कारबाही गरिएको निर्णय सार्वजनिक गरेको थियो । एशोसिएसनका अध्यक्ष किशोर केसीले जारी गरेको विज्ञप्तिमा उक्त निर्णयप्रति एशोसिएसनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा उनले कानुनी प्रक्रिया पूरा गरी इजाजत प्राप्त गरेका म्यानपावर कम्पनीहरूलाई पर्याप्त स्पष्टीकरण, संवाद, सुधारको अवसर तथा प्राकृतिक न्यायको सिद्धान्तको पूर्ण पालना नगरी एकैपटक ठुलो संख्यामा कारबाही गर्नु व्यवसायमैत्री वातावरण, लगानीको सुरक्षा तथा सुशासनका दृष्टिले उचित नभएको बताएका छन् ।
विश्वव्यापी आर्थिक प्रतिस्पर्धा, गन्तव्य मुलुकका बदलिँदा नीति, मध्यपूर्वका मुलुकमा देखिएको अशान्त परिस्थिति तथा श्रमिकको सुरक्षासम्बन्धी चुनौतीबीच व्यवसायीहरूले अनेक कठिनाइका बाबजुद लाखौँ नेपालीलाई वैदेशिक रोजगारीमा पठाई मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको अवस्थामा सुधारभन्दा दण्डात्मक दृष्टिकोणले मात्र समस्या समाधान गर्ने सोचले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण कमजोर बनाउने पनि एशोसिएसनको भनाइ छ ।
४४२ वटा इजाजतपत्रवालामाथि गरिएको कारबाही तत्काल पुनरावलोकनमार्फत फिर्ता गरी सम्बन्धित संस्थाहरूलाई आफ्नो भनाइ राख्ने अवसर प्रदान गर्ने वातावरण बनाउनुपर्ने भन्दै अध्यक्ष केसीले व्यवसायीका जायज मागलाई बेवास्ता गरी अनावश्यक दमन, दबाब र एकपक्षीय कारबाहीलाई निरन्तरता दिए चरणबद्ध आन्दोलन, कानुनी उपचार तथा अन्य वैधानिक प्रतिकारका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।