
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघकी कार्यसमिति सदस्य रमा खड्कालाई वैदेशिक रोजगार बोर्डको बोर्ड सदस्य पदमा सिफारिस गर्ने निर्णय गरेको छ । संघको असार २८ गते बसेको कार्यसमिति बैठकले खड्कालाई बोर्डको सदस्य पदमा सिफारिस गर्ने निर्णय गरेको हो ।
वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम संघको सिफारिसमा एक जना महिला सदस्य वैदेशिक रोजगार बोर्डमा रहने व्यवस्था रहेको छ । बोर्डको अध्यक्ष युवा, श्रम तथा रोजगारमन्त्री रहने तथा संघका अध्यक्ष पदेन सदस्य रहने कानुनी व्यवस्था छ ।
संघकी निवर्तमान कार्यसमिति सदस्यसमेत रहेकी खड्का वर्तमान कार्यसमितिमा सर्वाधिक मत प्राप्त गर्ने निर्वाचित सदस्य हुन् । उनले कार्यसमितिको पहिलो वैठकबाट नै युएई देशगत संयोजकको जिम्मेवारीसमेत निर्वाह गर्दै आएकी छन् । संघले वैदेशिक रोजगार क्षेत्रप्रतिको उनको सक्रियता, अनुभव र योगदानलाई मूल्यांकन गर्दै बोर्ड सदस्यका लागि सिफारिस गरेको जनाएको छ ।