२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

लोकतान्त्रिक एसोसिएसनद्वारा त्रुटि सच्याउन सिडिओको ध्यानाकर्षण

Nada
२०८३ असार ३० गते ०६:२०
Shares
लोकतान्त्रिक एसोसिएसनद्वारा त्रुटि सच्याउन सिडिओको ध्यानाकर्षण

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको प्रतिनिधिमण्डलले अध्यक्षको जिम्मेवारी किशोरकुमार केसीलाई दिने निर्णय परिवर्तन गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको ध्यानाकर्षण गराएको छ ।

ncell

एसोसिएसनको प्रतिनिधिमण्डलले सोमबार प्रमुख जिल्ला अधिकारी पौडेललाई उनको कार्यकक्षमा भेटेर एसोसिएसनको कार्यसमितिको निर्वाचनमा पराजित भएका केसीलाई अध्यक्षको जिम्मेवारी तोकेर पत्र पठाउनु जिल्ला प्रशासन कार्यालयको कार्यमा गम्भीर त्रुटि भएको भन्दै उक्त त्रुटि सच्याई निकास दिन माग गरेको हो ।

प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउन गत निर्वाचनमा विजयी बनेका प्रथम उपाध्यक्ष सुवर्ण लामा, पदाधिकारी तथा कार्यसमितिका सदस्य, पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेसहित सल्लाहकारहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

उनीहरूले जिल्ला प्रशासन कार्यालयले अध्यक्षको जिम्मेवारी दिएका केसीलाई संस्थाको सदस्यबाट समेत हटाइसकेको भन्दै त्यससम्बन्धी कागजातसमेत संस्था शाखामा दर्ता गराएका छन् । उनीहरूले कार्यसमितिको निर्णयअनुसार प्रथम उपाध्यक्ष सुवर्ण लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको र उक्त निर्णय नै एसोसिएसनको आधिकारिक निर्णय भएको जिकिरसमेत प्रमुख जिल्ला अधिकारी पौडेलसमक्ष गरेका छन् ।

एसोसिएसनका महासचिव सुमनराज पाण्डेले लोकतान्त्रिक एसोसिएसन आबद्ध व्यवसायीहरूले गत निर्वाचनमा व्यक्त गरेको अभिमत र संस्थाको विधानको रक्षाका लागि कार्यसमिति एकजुट रहेको भन्दै असार २२ गते प्रशासनले काटेको पत्र एकपक्षीय भएको तथा संस्थाको विधानको स्पष्ट उल्लंघन भएको बताए ।

एसोसिएसनको प्रतिनिधिमण्डलको भनाइ सुनेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले सरोकारवाला सबैसँग छलफल गरेर संस्थाको हित हुने गरी निर्णय लिने बताएका छन् ।

सम्बन्धित खबर