
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले इजरायलमा नेपाली कामदारको कोटा बढाउन आग्रह गरेका छन् । अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत स्मुलिक एरीबीच मंगलबार भएको भेटवार्तामा नेपाल–इजरायलबीच आर्थिक, व्यापारिक, लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ ।
महासंघ सचिवालयमा भएको भेटमा अध्यक्ष श्रेष्ठले इजरायलले नेपाली श्रमिक, विशेषगरी केयरगिभरका लागि उपलब्ध गराएको सम्मानजनक रोजगारीको अवसरको सराहना गर्दै सरकार–सरकार (जिटुजी) श्रम सम्झौताले पारदर्शी र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गरेको बताए ।
राजदूत एरीले हाल संस्थागत रूपमा नेपाली श्रमिक इजरायल गइरहेकामा व्यक्तिगत रूपमा घरायसी केयरगिभिङ तथा कृषि क्षेत्रमा पनि श्रमिक लैजाने इजरायलको चाहना रहेको उल्लेख गर्दै यसबाट नेपाली युवाका लागि थप रोजगारीका अवसर सिर्जना हुने धारणा राखेका थिए ।