
काठमाडौं : घरायसी विवाद र पारिवारिक घटनालाई सामाजिक न्यायको मुद्दा बनाउने लहर चलेको छ । व्यक्तिको निजी जीवनलाई मोबाइल र क्यामेरामा कैद गरेर उसको चरित्रहत्या गर्न युट्युबरबीच प्रतिस्पर्धा चलिरहेको छ । पारिवारिक झगडा, वैवाहिक विवाद तथा व्यक्तिगत सम्बन्धसँग जोडिएका विषयलाई भिडियोमार्फत सार्वजनिक गर्ने प्रवृत्तिले व्यक्तिको गोपनीयता र मर्यादामाथि कसरी चोट पु¥याउँछ भन्ने उदाहरण काभ्रेको मण्डनदेउपुरमा देखिएको छ ।
मण्डनदेउपुर–४का ६५ वर्षीय वृद्ध चन्द्रबहादुर परियार र उनकी ३४ वर्षीया श्रीमती जुनु परियारलाई अहिले सामाजिक सञ्जालले लखेटिरहेको छ । उनीहरूको हुर्मत लिन युट्युबरको टोली नै पूर्वतिरबाट १३ घण्टाको यात्रा गरेर काभ्रे पुगेको छ । सुरुमा चन्द्रबहादुरको घर पुगेका उनीहरू त्यहाँबाट डलरको खेती सुरु गर्न उद्यत देखिन्छन् ।
श्रीमती जुनुले चन्द्रबहादुरलाई छाडेर अर्को व्यक्तिसँग विवाह गरिसकेकी छिन् । यो कुरा थाहा पाएका युट्युबरहरू चन्द्रबहादुरलाई रुँदै, कराउँदै बारी–बारी दौडिन लगाउँछन् । श्रीमती भगाउने ‘जार’लाई भेटेमा ‘काटिदिन्छु’ वा ‘छप्काइदिन्छु’ भन्दै चन्द्रबहादुरले दिएको अभिव्यक्ति उनीहरूले रमाएर क्यामेरामा खिच्छन् ।
उनीहरूको यात्रा यतिमै रोकिँदैन । चन्द्रबहादुरकी श्रीमती जुनुलाई भेट्टाउने ‘ठेक्का’ पनि उनीहरूले लिएका छन् । अन्त्यमा उनीहरूले जुनु र उनका नयाँ साथीलाई मकवानपुरको मनहरी–३ सिद्धकालीमा भेट्टाउँछन् । त्यहाँ पुगेपछि जुनुमाथि गरिएको व्यवहार झन् अमानवीय र लज्जास्पद छ । अनधिकृत व्यक्तिहरूले उनलाई कठघरामा उभ्याएका छन् ।
उनले ‘मर्न परे मर्छु, तर चन्द्रबहादुरसँग बस्दिनँ’ भनेर याचना गरेको भिडियोमा देखिन्छ । चन्द्रबहादुरले विगतमा कुट्ने, पिट्ने गरेको जुनुको भनाइ छ । चन्द्रबहादुर अर्थात् जुनुका पूर्वश्रीमान् जसरी पनि श्रीमतीलाई लिएर जाने भन्दै अड्डी कसेर बसेका थिए । ‘म जान्नँ’ भनेर धुरुधुरु रुँदा जबर्जस्ती उनलाई गाडीमा हालेर स्थानीय जनप्रतिनिधिकै रोहबरमा प्रहरीको जिम्मा लगाइन्छ ।
कुनै व्यक्तिको सहमतिबिना उसको निजी जीवनका विषय सार्वजनिक गर्नु गोपनीयताको अधिकार र सञ्चार आचारसंहिताभन्दा बाहिरको कुरा हो । तर, आजभोलि सामाजिक सञ्जालमा यस्ता भिडियो दिनहुँजस्तो देखिन्छ । भिडियो प्रसारित भएपछि धेरै प्रयोगकर्ताले कमेन्ट गर्दै यस्ता अपवाह र पारिवारिक कलहको व्यापार गर्नेलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
स्थानीय जनप्रतिनिधिसहित सम्मिलित उक्त भिडियोका विषयमा प्रहरीमा उजुरी भने परेको छैन । चन्द्रबहादुर र जुनुको घटनाको विषय जिल्ला प्रहरी कार्यालयको जानकारीमा नआएको काभ्रे प्रहरीले बताएको छ ।
यसरी व्यक्तिको पारिवारिक जीवनमा प्रवेश गरेर उनीहरूको गोपनीयता तहसनहस पार्ने सिलसिलाको सुरुवात भएको धेरै भइसक्यो । योभन्दा पहिले पनि धेरै परिवारको व्यक्तिगत जीवन यसैगरी छताछुल्ल भएको छ । केही समयपहिले ‘ज्ञानु ....ज्ञानु हो’ भन्दै एक पुरुषले आफ्नी श्रीमतीलाई पुकारेको भिडियो भाइरल भएको थियो । त्यसलाई धेरैले टिकटकमा अडियो प्रयोग गरी चरित्रहत्या हुनेगरी अभिनय गरे । त्यसपछि पनि अरूको झगडामा रमाउने जमात बढेको देखिन्छ ।
यसरी महिलाको चरित्रहत्या गर्नु अपराध भएको बताउँछन्, अधिवक्ता राजकुमार उप्रेती । ‘सामाजिक सञ्जाल र इन्टरनेटमा महिलालाई जिस्क्याउने, हैरान पार्ने, अपमान गर्ने वा सामाजिक सद्भावमा खलल पार्ने सामग्री प्रकाशन गर्नु दण्डनीय अपराध हो,’ उनी भन्छन्, ‘यस्ता अपराध गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३को दफा ४७ अनुसार कारबाही हुने व्यवस्था छ ।’ यस्ता सामग्री प्रकाशन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उनी बताउँछन् ।
मुलुकी अपराध संहिता, २०७४का विभिन्न प्रावधानसमेत यहाँ उल्लंघन भएको देखिन्छ । दफा ११८ अनुसार सार्वजनिक स्थानमा महिला वा बालबालिकालाई हैरान पार्नु वा अभद्र व्यवहार गर्नु कानुनविपरीत हो । दफा ३०६ र ३०७ले गाली–बेइज्जतीसम्बन्धी कसुरलाई परिभाषित गरेको छ ।
कानुनमा मात्र होइन, उनीहरूले गरेको क्रियाकलाप पत्रकार आचारसंहिताभित्र पनि पर्दैन । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिताले पत्रकारितालाई मर्यादित, जवाफदेही र उत्तरदायी बनाउन स्पष्ट मार्गनिर्देशन गरेको छ । आचारसंहिताको दफा ४ र ५ले पत्रकारले पालना गर्नुपर्ने कर्तव्य र गर्न नहुने कार्यहरू स्पष्ट तोकेको छ । तर, पत्रकार हुँ भन्दै माइक र क्यामेरा बोकेर हिँड्नेले यस्ता कुरा ख्याल नगर्दा समग्र पत्रकारिता क्षेत्र नै बदनाम भएको सरोकारवालाहरू बताउँछन् ।
प्रेस काउन्सिलले दर्ता भएका मिडियामामा अनुगमन गर्दै आएको बताएको छ । तर, युट्युबजस्ता सामाजिक सञ्जाललाई दर्ता गर्नैपर्ने अनिवार्य गराएको छैन । यस्ता भिडियो सामग्रीलाई उजुरीका आधारमा साइबर ब्युरोले अध्ययन अनुसन्धान गर्दै आइरहेको छ ।