
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री फत्तेह सिंह थारूको ८८ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहेका थारूले पञ्चायतकालदेखि संसदीय व्यवस्थासम्म विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।
थारूले भारतबाट डोमेस्टिक पोलिटिक्स एन्ड फरेन अफेयर्स विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेपछि पञ्चायती राजनीतिमा प्रवेश गरेका थिए । राजनीतिक जीवनको प्रारम्भमा उनी बाँके जिल्ला पञ्चायतका सभापति बनेका थिए ।
पछि राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थारूले पञ्चायती व्यवस्थामा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । शिक्षा मन्त्रीका रूपमा उनले विशेषगरी बाँके जिल्लामा विद्यालय स्थापना तथा स्वीकृतिका लागि महत्वपूर्ण योगदान दिएको स्मरण गरिन्छ ।
वि.सं. २०५३ को मध्यावधि प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्दा थारू बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनले वाणिज्य मन्त्री तथा रक्षा मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।
राप्रपाका संस्थापक पुस्ताका नेतामध्ये एक मानिने थारूको निधनप्रति पार्टीका नेता तथा कार्यकर्ताले गहिरो दुःख व्यक्त गर्दै उनको राजनीतिक योगदानको स्मरण गरेका छन् ।