२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

गौरको ऐतिहासिक बरहवा तालमा सेल्फी प्वाइन्ट उद्घाटन

पर्यटन प्रवर्धनमा नयाँ आयाम थपिने विश्वास

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार ३२ गते १९:२७
Shares
गौरको ऐतिहासिक बरहवा तालमा सेल्फी प्वाइन्ट उद्घाटन

रौतहट : रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ५ मा अवस्थित ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको बरहवा तालमा नवनिर्मित आकर्षक सेल्फी प्वाइन्टको औपचारिक उद्घाटन गरिएको छ । पर्यटन विकास कार्यालय रौतहटको विशेष पहल तथा आर्थिक सहयोगमा निर्माण गरिएको उक्त संरचनाले गौर क्षेत्रको समग्र पर्यटन प्रवर्धनमा नयाँ इँटा थप्ने अपेक्षा गरिएको छ ।

ncell

​  एक भव्य समारोहका बीच प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यतामा सो सेल्फी प्वाइन्टको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा जिल्लाको प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुसालसँगै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप-निर्देशक कुमार बुढाथोकीको सहभागिता थियो ।

​त्यसैगरी पर्यटन विकास कार्यालय गौरकी प्रमुख बबिता जयसवाल, स्थानीय तहका जनप्रतिनिधिहरू, सरकारी कर्मचारी, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा स्थानीय भद्रभलादमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

​पर्यटन विकास कार्यालय रौतहटकी प्रमुख बबिता जयसवालका अनुसार मधेश प्रदेश सरकारको भ्याटबाहेक कुल ४ लाख २० हजार रुपैयाँको लागतमा उक्त सेल्फी प्वाइन्ट निर्माण सम्पन्न गरिएको हो । बरहवा तालको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्वलाई थप उजागर गर्दै आन्तरिक एवं बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने मुख्य उद्देश्यसहित यस पूर्वाधारको निर्माण गरिएको प्रमुख जयसवालले जानकारी दिइन् । ​गौरको पहिचान र गरिमासँग जोडिएको बरहवा ताल रैथाने धार्मिक एवं ऐतिहासिक दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिन्छ । पछिल्लो समय स्थानीय निकाय र पर्यटन कार्यालयको सक्रियतामा तालको सौन्दर्याकरण कार्यले गति लिएसँगै यहाँ घुम्न आउने आन्तरिक पर्यटकहरूको संख्यामा वृद्धि भइरहेको छ । यस्तो अवस्थामा निर्माण गरिएको नयाँ सेल्फी प्वाइन्टले विशेष गरी युवापुस्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास लिइएको छ ।

​नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवस्थित भएकाले बरहवा तालमा भारतीय बजार बैरगनिया तथा आसपासका छिमेकी भारतीय सहरहरूबाट समेत ठुलो संख्यामा पर्यटकहरू भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको स्थानीयवासीहरू बताउँछन् । पछिल्लो समय सामाजिक सञ्जालमा तस्वीर र भिडियोहरू साझा गर्ने प्रवृत्तिको विकास भएकाले यस्ता डिजिटलमैत्री आकर्षक संरचनाहरूले पर्यटकीय गन्तव्यको प्रचार-प्रसारमा तीव्र र सकारात्मक भूमिका खेल्ने स्थानीयको भनाइ छ ।

​यद्यपि पर्यटन क्षेत्रका जानकारहरूका अनुसार केवल भौतिक पूर्वाधार निर्माण मात्र पर्यटन विकासका लागि पर्याप्त हुँदैन । बरहवा ताललाई दीर्घकालीन र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नका लागि तालको नियमित सरसफाइ, जलाशयको संरक्षण, हरियाली प्रवर्धन, पर्याप्त प्रकाशको व्यवस्था, सुरक्षा प्रबन्ध, व्यवस्थित पार्किङ स्थल, पर्यटकहरूका लागि विश्रामस्थल तथा मनोरञ्जनका थप आधुनिक पूर्वाधारहरू निर्माण गर्न आवश्यक देखिन्छ ।

​सीमावर्ती जिल्लाको मुख्य केन्द्र भएकाले गौरमा भारतीय पर्यटकहरूलाई आकर्षित गर्ने पर्याप्त आधारहरू विद्यमान छन् । आगामी दिनमा स्थानीय सरकार, प्रदेश सरकार र पर्यटन कार्यालयले संयुक्त रूपमा गुरुयोजना बनाएर योजनाबद्ध ढंगले प्रचार-प्रसार तथा पूर्वाधार विस्तारमा जोड दिन सके बरहवा ताल रौतहट जिल्लाकै एक प्रमुख र नमुना पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ ।

​नवनिर्मित सेल्फी प्वाइन्ट उद्घाटनलाई स्थानीयवासीले गौरको पर्यटन विकासतर्फको एक सकारात्मक र स्वागतयोग्य सुरुआतका रूपमा लिएका छन् । अब यसको वास्तविक प्रभावकारिता भने तालको समग्र व्यवस्थापन, वातावरणीय संरक्षण र पर्यटक सत्कारमैत्री वातावरण निर्माणमा निर्भर रहने सरोकारवालाहरूले औंल्याएका छन् ।

uae

सम्बन्धित खबर