२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

मदरसा शिक्षाको गुणस्तर सुधार र मूलप्रवाहीकरणमा जोड

Nada
इसत्याक अहमद
२०८३ असार ३२ गते २२:१२
Shares
मदरसा शिक्षाको गुणस्तर सुधार र मूलप्रवाहीकरणमा जोड

इटहरी : इटहरीस्थित मदरसा इस्लाहुल मुस्लिमीनमा मदरसा शिक्षाको मूलप्रवाहीकरण तथा गुणस्तर अभिवृद्धिका विषयमा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।

ncell

कार्यक्रममा मदरसाका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो । छलफलमा मदरसा शिक्षालाई समयानुकूल, गुणस्तरीय र प्रतिस्पर्धी बनाउने विषयमा विभिन्न सुझाव प्रस्तुत गरिएका थिए ।

कार्यक्रमका प्रमुख वक्ता पूर्वमन्त्री तथा शिक्षा विज्ञ मोहम्मद जाकिर हुसैनले इटहरीका मदरसाहरूलाई स्थानीय आवश्यकता अनुरूप सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले मदरसाबीच पाठ्यक्रममा एकरूपता कायम गर्ने, स्थानीय सरकारसँग समन्वय बढाउने, सरकारी अनुदान वृद्धि गर्ने, शिक्षकको क्षमता विकास गर्ने तथा आधुनिक र धार्मिक शिक्षाबीच सन्तुलित समन्वय कायम गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले मदरसालाई उत्कृष्ट निजी तथा सामुदायिक विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

मदरसा इस्लाहुल मुस्लिमीनका प्रधानाध्यापक तथा सचिव मौलाना नुर मोहम्मद नदवीले इस्लामी शिक्षा मुस्लिम समुदायका लागि आधारभूत आवश्यकता भएको उल्लेख गर्दै मदरसामा आधुनिक शिक्षासमेत प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताए । सुनसरीका विभिन्न मदरसाले एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको उदाहरण प्रस्तुत गर्दै उनले इटहरीका मदरसाबीच समन्वय गरी नमुना मदरसा शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मदरसाका अध्यक्ष नुर मोहम्मद ‘रिजाल’, शिक्षक तथा स्थानीय सरोकारवालाले पनि मदरसा शिक्षाको सुधार, व्यवस्थापन र गुणस्तर अभिवृद्धिसम्बन्धी आफ्ना धारणा राखेका थिए ।

सोही अवसरमा सरकारी सेवामा नियुक्त हुन लागेकी शिक्षिका निर्जला बास्तोलालाई सम्मानसहित बिदाइ गरिएको थियो । बास्तोलाले मदरसामा कार्यरत रहँदा मुस्लिम समुदायप्रति आफूमा रहेका पूर्वधारणाहरू गलत सावित भएको अनुभव सुनाउँदै समुदायको सद्भाव, सहकार्य र सकारात्मक वातावरणको प्रशंसा गरिन् । उनले अभिभावकलाई आफ्ना बालबालिकालाई मदरसा इस्लाहुल मुस्लिमीनमा भर्ना गराउन आग्रहसमेत गरिन् ।

uae

सम्बन्धित खबर