
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली जुत्ता-चप्पल उद्योगको विकास, बजार विस्तार र उत्पादन क्षमता अभिवृद्धिका लागि सरकारबाट आवश्यक सहजीकरण गरिने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी उत्पादनको प्रयोग बढाउने, बजार प्रवर्द्धन गर्ने र उद्योगलाई प्रतिस्पर्धी बनाउन सरकार सकारात्मक रहेको बताएका हुन् ।
छलफलका क्रममा उनले जुत्ता निर्माण क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तीनै तहका सरकारको सहकार्यमा सीप विकाससम्बन्धी तालिम सञ्चालन गर्ने जानकारी दिए । नेपाली जुत्ता–चप्पलको पहिचान निर्माण, प्रचारप्रसार तथा बजार विस्तारका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
प्रधानमन्त्री शाहले उद्योगको वास्तविक उत्पादन क्षमताका आधारमा कच्चा पदार्थ आयात व्यवस्थापनलाई व्यवस्थित बनाउने उल्लेख गर्दै आयातसम्बन्धी विवरणको अनुगमन र अभिलेख प्रणालीलाई प्रभावकारी बनाइने बताए । स्वदेशी उद्योगको संरक्षण र उत्पादन प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राख्ने उनको भनाइ थियो ।
छलफलमा एफएमएएनका प्रतिनिधिहरूले जुत्ता–चप्पल क्षेत्रमा देखिएका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले भारतसँग जोडिएका विभिन्न नाकाबाट हुने अवैध आयात नियन्त्रण गर्न, कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा नआएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन र गुणस्तरहीन उत्पादनको आयात रोक्न माग गरेका थिए ।
संघका प्रतिनिधिहरूले आयातित जुत्ता-चप्पलको गुणस्तर परीक्षण अनिवार्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकारले उद्योगमैत्री नीति, बजार संरक्षण र आवश्यक सहयोग उपलब्ध गराए स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने धारणा राखेका थिए ।
छलफलमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा संघका सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो ।