२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला

ADV
मध्यान्ह
२०८१ साउन २८ गते १३:१७
नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला

काठमाडौं : नबिल बैंकले नबिल स्कुल अफ सोसियल इन्टरप्रिनेयरसिप - फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो । सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि नि:शुल्क तालिमका लागि आवेदन खुला गरेको हो । इच्छुक व्यक्तिहरूले नबिल बैंकको वेबसाइटमा उपलब्ध फारम भरेर वा क्युआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने बैंकले जनाएको छ । यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।

यो कार्यक्रम नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ । आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको  सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्नेछन् । यसले दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ ।

हालसम्म नबिल एसएसई अन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११ सय ८४ रोजगारीका अवसरहरू सिर्जना भएका छन् । 

यस कार्यक्रमका सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरुको दिगो उपयोग गरी रोजगारी सिर्जना गर्नुका साथै  स्थानीय अर्थतन्त्र बलियो बनाउनसमेत मद्दत गरेको बैंकले जनाएको छ । 

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको शुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise