२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गरुडा नगरपालिकाद्वारा मालपोत कार्यालयलाई मेशिनरी औजार हस्तान्तरण

ADV
मनोज साह
२०८१ साउन २९ गते २१:००
गरुडा नगरपालिकाद्वारा मालपोत कार्यालयलाई मेशिनरी औजार हस्तान्तरण

रौतहट : रौतहट गरुडा नगरपालिकाले मालपोत कार्यालय गरुडालाई मोटरसाइकलसहित मेशिनरी औजार, फर्निचर तथा फिक्वर्सका सामानहरु हस्तान्तरण गरेको छ ।

नगर प्रमुख कन्थमणी जयसवालले मालपोत कार्यालय गरुडाको काम छिटो, छरितो तथा कार्य सम्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामान सहयोग गरिएको बताए । 

गरुडा नगर क्षेत्रका मालपोतका कामहरु नागरिकलाई सास्ती नदिइ छिटो सम्पन्न गर्न नगर प्रमुख जयसवालले आग्रह गरे । अझै पनि काम गर्न असहज भए तथा कार्यालयलाई आवश्यक परे नगरपालिका सहयोग गर्न तत्पर रहेको प्रमुख जयसवालको भनाइ छ । 

जनताको काम छिटो–छरितो हिसाबले सम्पन्न गर्नु आफ्नो दायित्व भएको हुँदा जनतासँग सम्बन्ध रहेका कार्यालयमा गरुडा नगरपालिकाले सहयोग गदै आएको नगर प्रमुख जयसवालको भनाइ छ । आफु नगर प्रमुख भएर आएदेखि यस्ता सहयोगका कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्दै आएको उनले बताए । 

मालपोतको कार्य सम्पादन चुस्त, दुरुस्त गर्न गरुडा नगरपालिकाले १ सय ५० सीसीको मोटरसाइकल, २ थान डेक्सटप कम्प्युटर, १ थान प्रिन्टर, २ थान युपिएस,३ सिटर ३ थान कुर्सी र फिक्स ४ थान कुर्सी हस्तान्तरण गरेको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेख मुस्ताक आलमले बताए । मालपोत कार्यालय गरुडाको माग बमोजिम गरुडा नगरपालिकाले उक्त सामग्रीहरु सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत आलमको भनाइ छ । 

नगरपालिकाबाट प्राप्त मोटरसाइकलसहितको सामग्रीले आफ्नो कार्यालयको काम सम्पादन गर्न ठूलो सहयोग पुग्ने मालपोत कार्यालय गरुडाका शाखा प्रमुख मोहन कुमार पाठकले बताए । फिल्ड भिजिटको लागि मोटरसाइकल र कार्यालयको लागि फर्निचर, कम्प्युटर लगायतको सामानहरु अति आवश्यक रहेको अवस्थामा नगरपालिकाले गरेको सहयोगप्रति हार्दिक आभारी रहेको कार्यालय प्रमुख पाठकले बताए । 

यसअघि पनि गरुडा नगरपालिकाले विभिन्न सरकारी कार्यालय तथा संघसंस्था, अनाथलय लगायतलाई सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा गरुडा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अम्बीका सहनी, जिन्सी शाखा प्रमुख मुकेश कुमार साह, प्रशासन शाखा प्रमुख धिरेन्द्र कुमार यादव,मालपोत कार्यालय गरुडाका लेखा प्रमुख नबिन कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise