
टोकियो : नेपाली जनसम्पर्क समिति जापानले भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार तथा राहतका लागि १० लाख जापानी येन सहयोग गरेको छ ।
नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति जापानले उक्त सहयोग नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषमा जम्मा गरेको हो ।
समितिका अनुसार उक्त रकम नेपाली कांग्रेसको विपद व्यवस्थापन कोषमार्फत एकमुष्ठ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ ।
जनसम्पर्क समिति जापानका अध्यक्ष राजेन्द्रप्रसाद जमरकट्टेलले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै बाढीमा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।
जनसम्पर्क समिति जापानका कोषाध्यक्ष यम कँडेलको संयोजकत्वमा आर्थिक सहयोग अभियान सञ्चालन गरिएको हो । समितिले एक विज्ञप्ति जारी गर्दै विपद्को समयमा यस्ता खालका मानवीय गतिविधिलाई निरन्तरता दिने पनि जनाएको छ ।
