
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थिले कतारमा बसोबास गर्ने नेपालीहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्दा स्थानीय कानुन, संस्कृति, सामाजिक मूल्य–मान्यता र व्यक्तिगत गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन् ।
पन्थीले एक सार्वजनिक सूचना जारी गर्दै व्यक्तिगत गोपनीयता उल्लंघन गर्ने, कतारको सामाजिक मूल्य–मान्यताविपरीत हुने, अपमान तथा मानहानि गर्ने र झुटा समाचार एवं भ्रामक सूचना फैलाउने गतिविधिबाट टाढा रहन नेपाली समुदायलाई अनुरोध गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्नु, शेयर गर्नु, कमेन्ट गर्नु वा अरूले प्रकाशन गरेको सामग्री पुनःप्रसारण गर्नु सामान्य डिजिटल गतिविधि मात्र नभई कतिपय अवस्थामा कानुनी दायित्वसमेत सिर्जना गर्ने विषय भएको उल्लेख गरेका छन् ।
उनले विशेषगरी व्यक्तिको निजी तथा पारिवारिक जीवनसँग सम्बन्धित तस्बिर, भिडियो र विवरण अनुमति वा कानुनी आधारबिना सार्वजनिक नगर्न आग्रह गरेका छन् ।
त्यसैगरी सामाजिक सञ्जालमार्फत गालीगलौज, चरित्रहत्या, मानहानि, धम्की तथा ब्ल्याकमेल गर्ने गतिविधि नगर्न र कतारको संस्कृति, धार्मिक संवेदनशीलता तथा सार्वजनिक मर्यादाविपरीतका सामग्री प्रकाशन नगर्न पनि सचेत गराएका छन् ।