२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

भक्तपुर क्यान्सर अस्पतालमा बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

Nada
२०८३ भदौ १९ गते १५:५२
Shares
भक्तपुर क्यान्सर अस्पतालमा बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भक्तपुर : बाढीका कारण प्रभावित भएका क्यान्सर बिरामीलाई उपचारबाट वञ्चित हुन नदिन भक्तपुर क्यान्सर अस्पतालले विशेष सहुलियत घोषणा गरेको छ । रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर उपचाररत बिरामीलाई लक्षित गर्दै अस्पतालले निःशुल्क उपचार सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

ncell

अस्पतालद्वारा जारी सूचनाअनुसार भदौ १० गते आएको बाढीबाट प्रभावित भई उपचारका लागि आउने बिरामीबाट बेड शुल्क, प्रयोगशाला परीक्षण शुल्क तथा अक्सिजन शुल्क नलिइनेछ । साथै, अस्पतालमा उपलब्ध भएसम्म आवश्यक औषधिसमेत निःशुल्क प्रदान गरिने जनाइएको छ ।

अस्पतालले यसअघि नै कुल बेड क्षमतामध्ये १० प्रतिशत बेडमा निःशुल्क सेवा उपलब्ध गराउँदै आएको छ । सोही व्यवस्थालाई विस्तार गर्दै बाढी प्रभावित जिल्लाका क्यान्सर बिरामीलाई समेत सेवा समेटिएको अस्पतालको भनाइ छ ।

विपन्न, असहाय तथा बेसहारा बिरामीले नेपाल सरकारद्वारा प्रदान गरिने क्यान्सर उपचारसम्बन्धी सुविधा, स्वास्थ्य बिमा तथा प्रदेश सरकारबाट उपलब्ध हुने सहयोगसमेत लिन सक्ने व्यवस्था मिलाइनेछ । यस्ता सेवामा पहुँच सहज बनाउन अस्पतालले आवश्यक सहजीकरण गर्ने जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले विपद्का कारण उपचारमा अवरोध आउन नदिन यस्तो पहल गरिएको बताए । उनका अनुसार आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शुल्क छुटका साथै औषधि सहयोगको व्यवस्था गरिएको हो ।

निःशुल्क सेवा लिन इच्छुक बिरामी वा उनका आफन्तले अस्पतालको सामाजिक सेवा इकाई वा प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ । साथै, अस्पतालका सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष सम्पर्क गरी थप जानकारी लिन सकिने जनाएको छ ।

uae

सम्बन्धित खबर