–युवराज संग्रौला
हरेक राज्यको एउटा अन्तर्निहित परिदृश्य बनेको हुन्छ र त्यो परिदृश्य अनेक तत्वहरूको ‘थुप्रो’को रूपमा रहन्छ । यो ‘थुप्रो’लाई समाज मान्ने हो भने नेपाली समाजलाई ‘गतिहीन वा अड्किएर बसेको’ समाज भन्न सकिन्छ । यो गतिहीन समाजलाई ‘ऊर्जाशील र गतिवान् समाज बनाउन’ २००७ सालमा राणा शासन फ्याँकेर प्रजातन्त्रको स्थापना गरिएको थियो र २०४६ सालमा यसको पुनस्र्थापना गरिएको थियो । तर, यस व्यवस्थाका चालक (दलहरू) नेपाली समाजलाई गति दिन असफल भए । यो असफलताको विश्लेषण गर्दा बहुआयामिक पद्धतिको अनुसरण गर्नुपर्छ ।
पहिला एउटा उपमाद्वारा सुरु गरौँ । एउटा जङ्गलमा ब्वाँसाहरूबाट राज्य सञ्चालन हुन्थ्यो, तर शासनको जिम्मेवारी बदलेर साहाकारी जन्तुमा सारियो । तर साहाकारी नै बिस्तारै मांसाहारीमा परिणत भए । तब जन्तुहरू प्रश्न गर्न थाले, यदि मांसाहारीले नै शासन गर्ने हो भने, खोइ त परिवर्तन ? जनताको यो कुरा सुनेपछि ब्वाँसाहरू सिंहलाई भन्ने थाले, उनीहरू पनि मांसाहारी भएपछि राज्य तपाईँले नै किन नगर्ने ? अर्थात् अचेत पशुहरू परिवर्तन होइन स्थायित्वका पक्षधर हुन्छन् । उनीहरू परिवर्तन चाहँदैनन् । गाई गोरु, भैँसी घोडा आदि नयाँ गोठमा बाँधे पनि दाम्लो चुँडाएर पुरानै गोठमा जान्छन् ।
नेपाली समाज प्रगतिशीलताको विरोधमा सक्रिय छ । गलत शिक्षाले मान्छेका दिमागमा गलत वा त्रुटि व्याप्त संकथनहरू टम्म भरेको छ । त्यसैले मान्छे परिवर्तन पछाडि पुनः प्रतिगमनको चाहनाबाट प्रेरित हुन थाल्छन् । जब प्रगतिशीलतालाई पुरातनताको लठाराले अड्काउँछ, मान्छेमा देवता, दैव, शक्तिशाली, अहंकारी, मालिक र एकल–प्रमुख बन्ने आकांक्षा जाग्छ र तपस्या र कर्म पनि त्यही आकांक्षाबाट निर्देशित हुन्छ । प्रगतिशीलता र सिर्जनात्मकताका विरुद्ध दुइटा कारणहरूले परिणामको निर्माण गर्न थाल्छन् । १. जनताको परिवर्तनप्रतिको सुषुप्त भय र २. नेताको देवता वा मालिक बन्ने आकांक्षा । यस्तो अवस्थामा समाज चिन्तन बिनाको चिन्ताद्वारा ग्रस्त हुन्छ ।
राजनीतिबाट विचार, सोच र नैतिकताको पतन हुन्छ । समाज अफवाहबाट निर्देशित हुन्छ र त्यो अवस्था बदल्न बिचार विहीन भिड अगाडि आउँछ । फ्रेन्च रिभोलुसन यसको उदाहरण हो । अहिले बङ्गलादेशले यही देखाएको छ । मुजीवरको सालिक फुटाएर त्यो पाकिस्तानी तानाशाहीतर्फ फर्किएको छ । पश्चिमी धर्मपुत्रलाई देवतामा परिणत गर्न आतुर छ । तानासाहीको विरोध सत्ता परिवर्तनमा परिणत भएको छ ।
यस्तो बिचार विहीन समाजमा लोभको हवस्, मोजमस्तिको हवस्, मालिकत्वको हवस्, कन्जम्सन (मदान्द)को हवस्, सत्ताको हवस्, पदको हवस्, धन नामको हवस्, र अफवाहको हवसले मानिस ग्रस्त हुन्छ । यस्ता हवस्ले १) राष्ट्रिय मनोविज्ञान (यो राष्ट्र मेरो पहिचानको स्रोत हो भन्ने भावना, २) देशभक्ति देशको इतिहास र गौरवप्रतिको आस्था, ३) उत्पादकत्व (उत्पादनको अधिक क्षमता जो सिपमा आधारित हुन्छ), ४) सामाजिक एकता र ५) सामाजिक तत्वलाई जलाएर राख बनाउँछ ।
यस्तो समाजमा मानिसमा अहंकारको दम्भ भरिन्छ । मानिस व्यक्तिवादी हुन्छ । उपभोग र मदान्द (हेडोनिजम वा मादक आनन्द) उसको जीवनको एकलौटी सोच र चिन्ता बन्छ । यस्तो समाज विशृङ्खल र पथ भ्रष्ट हुन्छ । यस्तो समाजमा आजभोलि नेपालमा जस्तै बालबालिकालाई पनि उपभोक्तावादको नसा दिमागमा भरिन्छ । उसलाई असल मान्छे बन्न होइन बिलासी र ठुलो मान्छे बन्न सिकाइन्छ ।
यस्तो समाजमा चार किसिमका स्वार्थी मानिसहरू देखिन्छन्, १. अल्प बुद्धिले जन्माएको दुष्ट बुद्धि बाहक मान्छे (जसलाई नेपालमा पञ्चायतकालमा मन्डले र अहिले झोले तथा अन्धभक्त भनिन्छ) । यी एक किसिमका दास हुन्छन् । यिनमा मदान्धको हवस् किलकिले सम्म भरिएको हुन्छ । २. स्वर्गको हवसग्रस्त यथार्थबाट टाढा भागेका धर्मनन्दहरू र धर्मलाई उपभोक्तावादमा बदलेर धनार्जन गर्ने महाराज र देवी बनेका भेडाका छाला भिरेका फ्याउराहरू । यिनका दिमागमा धनको हवस् हुन्छ तर, यिनका हातमा रिलीजन (धर्म होइन) हुन्छ । ३. स्वार्थका लागि समाजसेवी भएको स्वांङ्ग गर्नेहरू, जो समाजसेवाका नाममा एयर्पोटमा बास बस्छन् र होटेलमा सेमिनारको भोजन गरी, विदेशी मालिको सेवा गर्छन् । ४. बौद्धिकताका नाममा क्रियाशील कामचोरहरू ।
यिनलाई चिन्ता हुन्छ, तर यी चिन्तन गर्दैनन् । यी चारै थरी उपभोक्तावादी पुँजीवादका गुमस्ता बेनेका हुन्छन् । यिनले समाजको परिवर्तनलाई लत्त्याउँछन् र सत्ताको परिवर्तनलाई आफ्नो आंकाक्षाको लागि विद्रोहको बिगुल फुक्छन् । नेपालको समस्याको थुप्रोका यी चार थरी कारक हुन् । अतः केवल राजनीति सत्ताको परिवर्तनले मात्र नेपालको वर्तमान समस्याको निदान गर्न सक्दैन ।
नेपाल उत्पत्ति देखि आजसम्म अविरल अस्तित्वशील स्वाधीन देश हो । तर, १८१६ पछि नेपालले आफ्नो स्वनिर्णयको प्रयोग गर्न अवरोधको सामना गर्दै आएको छ । नेपाली जनता आफ्नो स्वनिर्णयको लागि लडिरहेका छन्, तर उनीहरू विदेशीको निरन्तर हस्तक्षेप र प्रभुत्वको सामना गरी रहेका छन् । हस्तक्षेपका गोटी बनेका छन्, थुप्रै नेता, थुप्रै कर्मचारी, थुप्रै कथित दही चिउरे विद्धान र अन्धभक्त युवा । यो समस्याको समाधान बिना नेपालको विकास सम्भव छैन ।
नेपालको समग्र वित्त तन्त्र केही वित्त पुँजीवादी राष्ट्रिय स्वार्थ विरोधी व्यापारीको हातमा छ र वर्तमान भोट तन्त्र यिनै व्यापारीको सेवा गर्छ । बैङ्क, बिमा, पुनर्बिमा, आयात निर्यात, निर्माण, शिक्षा र स्वास्थ्य सेवा यिनका हातमा छ । देशको वित्तीय व्यवस्थालाई सार्वजनिक अर्थतन्त्रको मातहतमा नल्याई देशको विकास सम्भव छै ।
कथित धर्मका नाममा देशमा ‘पुरोहितवाद’ले समाजको संरचनालाई वैदिक र बुद्ध दर्शनले निर्माण गरेको विज्ञान, बोध ज्ञान, र तर्क शास्त्रका विरुद्ध धर्मका नाममा सामाजिक वरियतामा आधारित बनाएको छ । पुरुष तल महिला, बाहुन तल जैसी, जैसी तल क्षेत्री, क्षेत्री तल शिल्पीको बरीयता समाप्त नगरी सामाजिक समता निर्माण गर्न सकिन्न ।
अतः वर्तमान समाजको परिवर्तनका लागि राष्ट्रिय भरोसाको निर्माण गर्नका लागि स्वाधीन मनोविज्ञान पुनस्र्थापना, व्यक्तिमा होइन धनमाथि कर लगाउने प्रणाली, नवउदारवाद होइन समाजवादी समतावादमाथि भरोसा र वरीयताहीन योग्यता र सक्षमतामा आधारित सामाजिक संरचनाको निर्माण गर्ने सोच र रणनीतिले मात्र नेपालको विकास सम्भव छ । अतः सामाजिक नागरिक तन्त्रका लागि विहङ्गम चेतना नै अबको राजनीतिको मूलधार हो र गन्तव्य पनि । अतः अब क्रान्तिभित्र क्रान्तिको समय हो ।