
काठमाडौं : सन् २०२६ मा स्थापित गैर-नाफामूलक संस्था ‘ताजा इनिसिएटिभ नेपाल’ ले काठमाडौं उपत्यकाका १२ सय बासिन्दामाझ गरेको नयाँ सर्वेक्षणले वायु प्रदूषणप्रतिको तीव्र जनचासो र आधिकारिक तथ्यांकमा पहुँचबीच गम्भीर खाडल रहेको देखाएको छ ।
सर्वेक्षण अनुसार उपत्यकाका ८१.२ प्रतिशत बासिन्दाहरूले यहाँको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक मान्दै आएका छन् । तर, वायुको गुणस्तर जाँच्नेहरूमध्ये ९४.१ प्रतिशतले कुनै आधिकारिक वा वैज्ञानिक तथ्यांकको सट्टा आफ्नै इन्द्रियहरू (गन्ध, दृश्यता र आँखामा हुने जलन) का आधारमा प्रदूषण अड्कल गर्ने गरेका छन् । समग्रमा ५२.३ प्रतिशत बासिन्दाले आफ्नो क्षेत्रको हावालाई खराब वा अति खराब श्रेणीमा राखेका छन् ।
सहरी क्षेत्रका आधारमा हेर्दा ललितपुरका ६०.९ प्रतिशत, काठमाडौंका ५९.२ प्रतिशत र भक्तपुरका ५६.० प्रतिशत उत्तरदाताले स्थानीय वायुको गुणस्तरप्रति नकारात्मक धारणा व्यक्त गरेका छन् भने उत्तर काठमाडौंमा यो दर ३५.९ प्रतिशत मात्र छ ।
वायु गुणस्तर जाँच्ने ज्ञान शैक्षिक स्तर अनुसार फरक पाइएको छ। प्राथमिक वा सोभन्दा कम शिक्षा हासिल गरेका उत्तरदातामध्ये १०.८ प्रतिशतले मात्र वायु गुणस्तर जाँच्न जानेको बताएका छन् भने स्नातकोत्तर वा सोभन्दा माथिल्लो योग्यता भएकाहरूमा यो दर ६३.० प्रतिशत छ ।
डिजिटल निगरानीमा १८ देखि २४ वर्ष उमेर समूहका युवाहरू बढी सक्रिय छन्; जसमध्ये सक्रिय रूपमा प्रदूषण ट्र्याक गर्ने ६०.३ प्रतिशतले वेबसाइट र ४२.५ प्रतिशतले मोबाइल एप प्रयोग गर्छन् । यद्यपि, यो तथ्यांक सम्पूर्ण १८-२४ उमेर समूहको क्रमशः १४.१ प्रतिशत र १०.० प्रतिशत मात्र हो, जसले अझै पनि ठुलो संख्याले नियमित निगरानी नगर्ने व्यवहारलाई झल्काउँछ ।
सर्वेक्षणमा सहभागी ९८.६ प्रतिशत बासिन्दाले सवारी साधनको धुवाँ र ९४.८ प्रतिशतले सडक निर्माणको धुलोलाई वायु प्रदूषणको मुख्य कारक मान्दै औंल्याएका छन् । वायु प्रदूषण न्यूनीकरणका लागि सरकारी प्रयासहरूप्रति ७०.४ प्रतिशत उत्तरदाताले असन्तुष्टि व्यक्त गरेका छन् ।
यसैगरी, ७९.९ प्रतिशतले सार्वजनिक यातायातको विस्तार र विद्युतीय गतिशीलता (इलेक्ट्रिक मोबिलिटी) तथा ७१.५ प्रतिशतले कडा धुलो नियन्त्रण उपायहरू र सहरी हरियालीको पक्षमा समर्थन जनाएका छन् ।
स्वास्थ्य सुरक्षाका लागि ८२.० प्रतिशतले सर्जिकल मास्क वा स्कार्फमा भर पर्ने बताए पनि ४३.४ प्रतिशतले वायु प्रदूषणबाट बच्न कुनै पनि व्यक्तिगत कदम नचालेको बताएका छन् । यस्तै, काठमाडौं उपत्यका छाड्ने विचार गरिरहेका ७.२ प्रतिशत उत्तरदातामध्ये ३९.१ प्रतिशतले खराब वायु गुणस्तरलाई एक प्रमुख कारण मान्दै यसलाई दोस्रो ठुलो कारकका रूपमा औंल्याएका छन् । जसमा पहिलो कारक आर्थिक दबाब र महंगी ४७.८ प्रतिशत छ ।
ताजा इनिसिएटिभ नेपालकी कार्यकारी निर्देशक रोशनी गिरीले भनिन्, “सर्वेक्षणको तथ्यांकले एक गम्भीर विच्छेद देखाएको छ । पाँचमध्ये चार बासिन्दाहरू हावा उनीहरूको स्वास्थ्यका लागि हानिकारक छ भन्छन्, तथापि अधिकांश मानिसहरू आफूले श्वास फेर्ने हावा बुझ्न विज्ञानभन्दा आफ्नै इन्द्रियहरूमा भर पर्न बाध्य छन्। दसमध्ये छ जनालाई प्रदूषणको स्तर कसरी जाँच्ने भन्ने थाहा छैन ।”
संस्थाले आगामी दिनमा वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई थप पहुँचयोग्य, बुझ्न सकिने र कार्ययोग्य बनाउँदै उपत्यकाभर अनुसन्धान, डाटा प्लेटफर्म र साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।