–लोकनारायण सुबेदी
अन्तर्राष्ट्रिय मुद्राकोषकी प्रबन्ध निर्देशक क्रिस्तालिना ज्योर्जिएभाको आकंलनअनुसार यो वर्ष विश्व अर्थव्यवस्थाको गति यति मन्द हुनेछ कि अर्थतन्त्रको पूरै एक तिहाई हिस्सामा संकुचन उत्पन्न हुन जानेछ । विश्वका प्रमुख तीन आर्थिक व्यवस्था (अमेरिका, यूरोपेली संघ र चीन)मा नै आर्थिक गति मन्द हुन जाने उनको आकंलन छ । यीमध्येमा तेस्रो अर्थात् चीनमा यसो हुनुमा कोरोनाको नयाँ भेरियण्टको बढ्दो असर हुने उनको ठम्माई छ । ज्योर्जिएभाको के अनुमान छ भने यी तीन अर्थव्यवस्थाको तुलनामा अमेरिकाको अवस्था अन्य दुई अर्थव्यवस्थाको भन्दा केही राम्रो रहनेछ ।
पछिल्ला दिनमा विश्व बैंकले पनि विश्वको टाउकोमाथि गम्भीर मन्दी मडारिइरहेको चेतावनी दिँदै आइरहेको छ । विशेषरूपमा तेस्रो विश्वको अर्थव्यवस्थाका लागि यसको निहीतार्थमाथि चर्चा गर्दै आएको छ । २०२२को सेप्टेम्बरमा उसले एक आलेख नै प्रकाशित गरी चिन्ता जाहेर गरेको थियो । जसमा उसले २०२३मा विश्व अर्थव्यवस्थामा १.९ प्रतिशतले मात्रै वृद्धि हुने अनुमान प्रस्तुत गरेको थियो । तर, मुद्राकोष र विश्व बैंक दुवै टाउकोमाथि मडारिइरहेको मन्दीका लागि मूख्यतः यूक्रेन युद्धलाई तथा त्यसले गर्दा पैदा गरेको मुद्रास्फीतिलाई नै जिम्मेवार मान्दछन् । यसरी उनीहरु मन्दीको वर्तमान खतराको पछाडि वर्तमान मुद्रास्फीतिको जवाफमा हरेक ठाउँमा ब्याजको दर बढाउनुकै हात रहेको देख्दछन् । तर, ती संस्थाहरु यसलाई पहिचान गर्नका लागि कुनै किसिमले तयारै छैनन् कि यो टाउकोमाथि मडारिइरहेको संकटको पछाडि नवउदारवादी अर्थव्यवस्थाबाट पैदा भएको संकटको हात पनि हुनसक्छ ।
मुद्रास्फीतिको संकट र यूक्रेन युद्ध
पहिलो कुरा प्रष्ट छ, यी दुई संस्थाहरुको विश्लेषण नै गलत छ । यूक्रेन युद्ध शुरू हुनुभन्दा धेरै पहिलादेखि नै विश्व अर्थव्यवस्था कोभिड प्रभावबाट बाहिर निस्कन शुरु गर्दा गर्दै मुद्रास्फीतिले आफ्नो टाउको उठाउन शुरु गरिसकेको थियो । त्यतिबेला यो मुद्रास्फीतिका लागि महामारीका कारण आपूर्ति श्रृंखलाहरुमा बाधा पर्नुलाई नै जिम्मेवार मानिदै थियो । यद्यपी, निकै धेरै मानिसहरुले त्यतिबेला नै पनि त्यस विश्लेषणप्रति असमति जनाएका थिए । त्यतिबेलै उनीहरुले के ध्यानाकर्षण गराएका थिए भने आपुर्तिहरुमा कुनै वास्तविक बाधाभन्दा निकै बढी यो मुद्रास्फीतिकारी उछाल ठूल्ठूला कर्पोरेशनहरुद्वारा तंगी अर्थात अभावको डरले आफ्नो मुनाफाको अनुपात बढाउनाले नै पैदा भइरहकोे थियो । यूक्रेनको युद्ध त यसभन्दा पहिलादेखि नै चल्दै आएको मुद्रास्फीतिको पृष्ठभूमिमा आइपरेको थियो र पश्चिमा शक्तिहरुद्वारा रुसका विरुद्ध प्रतिबन्ध लगाउन जानुले बडो उदारतापूर्वक मुद्रास्फीतिमा योगदान गरेको थियो ।
विश्वमा कच्चा तेलको मूल्यमा आएको उतार–चढावले यस निष्कर्षलाई नै पुष्टी गर्दछ कि यो मुद्रास्फीतिकारी उछाल यूक्रेन यूद्धबाट पैदा भएको होइन । कच्चा तेलको मानक उच्च मूल्यमा बढोत्तरी मूख्यतः २०२१मा त्यतिबेला भएको थियो जब विश्व अर्थव्यवस्थाले महामारीबाट बाहिर निस्कन शुरु गरेको थियो । सन् २०२१ को आरम्भ र यसै वर्षको अन्त्यका बीच कच्चा तेलको मूल्यमा ५० प्रतिशतभन्दा बढी वृद्धि भएको थियो र त्यो मूल्य ५०.३७ डलर प्रति ब्यारेलबाट बढेर ७७.२४ डलर प्रति ब्यारेल पुगिसकेको थियो । तर, २०२२मा युक्रेन युद्ध हुँदा हुँदै पनि यो मूल्य ७८.२५ डलरबाट बढेर ८२.८२ डरल प्रति ब्यारेल पुग्यो अर्थात् यसमा ५.८ प्रतिशतको मात्रै वृद्धि भएको थियो । स्मरण रहोस् मूल्यवृद्धिको पछिल्लो समयको दर त सबैभन्दा विकसित पुँजीवादी देशहरुमा मडारिइरहेको मुद्रास्फीतिको वर्तमान दरभन्दा कमै छ । जबकि आमरूपमा के दाबी गर्ने गरिँदै आएको छ भने तेलको मूल्य बढ्नाले नै मुद्रास्फीति बढिरहेको छ । निश्चय नै रुसका विरुद्ध प्रतिबन्धहरु लगाए लगत्तै विश्व बजारमा तेलको मूल्यमा उछाल आएको थियो । २०२२को बेलामा यो मूल्य १३३.१८ डलर प्रति ब्यारेलको स्तरसम्म पनि पुगेको थियो । तर, त्यसयता देखि यो मूल्य निकै तीव्ररूपमा तल झर्दै आएको थियो । यसकारण वर्तमान मुद्रास्फीतिका लागि केवल युक्रेन युद्धलाई नै जिम्मेवार ठह¥याउनु भ्रामक हुन जान्छ । तेलको मूल्यमा वृद्धिका लागि पनि आफैमा युद्ध होइन, बरु पश्चिमा देशहरुद्वारा लगाइएको रुसमाथिको प्रतिबन्ध नै जिम्मेवार देखिन्छ । यसका अतिरिक्त उक्त धारणा गलत पनि छ किनभने यसो हुँदैनथ्यो भने उक्त प्रतिबन्धका कारण पैदा भएको मूल्यमा भएको वृद्धि तल झर्नुका साथै आमरूपमा मूल्यवृद्धि तल झर्नुपर्ने थियो, जुन भएन ।
संकट नवउदारवादी व्यवस्थामा निहीत
केवल बृटन वूड्स संस्थाहरुको विश्लेषण गलत हुनु मात्रै होइन, यसभन्दा पनि बढी उल्लेखनीय तथ्य स्वयम् आफ्नो विश्लेषणको दायरामा पनि उनीहरुसँग यसको कुनै समाधानको उपाय नहुनु पनि हो । यदि उनीहरुको वास्तवमा यो मान्यता हुन्थ्यो भने कि आफुतिर बढ्दै आएको मन्दीको संकटका लागि यूक्रेन युद्ध नै जिम्मेवार छ, तब त उनीहरुले कम्तिमा पनि यसको कामना त गरेका हुने थिए कि यो युद्ध शीघ्र समाप्त होओस् । तर यो कुरा त पश्चिमा शक्तिलाई स्वीकार्य छैन । उ त यो लडाईंलाई लामो लम्ब्याउन चाहन्छ । जसबाट रुसलाई विस्तारै कमजोर तुल्याएर झुक्नका लागि बाध्य पार्न सकियोस् । त्यसैकारणले यी दुई जुम्ल्याहा विश्व संस्था अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकले यो युद्धका बारेमा आफ्नो कुनै राय नै राखेनन् । यतिबेला यो युद्ध समाप्त हुने विषयमा ती संस्था यदि मौन रहन चाहन्थे भने पनि मुद्रास्फीतिकारी यो संकटको सामना गर्नका लागि ब्याजको दर बढाउन तथा यसरी मन्दीलाई उन्मुक्त गर्नका अतिरिक्त अरु कुनै बाटो सुझाउन त सक्थे । तर, मुद्रा कोष र विश्व बैंकहरु स्वतन्त्र बजारका प्रति त यत्तिका पक्का छन् कि उनीहरु ब्याजदरको वृद्धिको मन्दी पैदा गर्ने प्रभावमाथि खेद त जनाउछन् । तर, मुद्रास्फीतिमा अंकुश लगाउनका लागि सिधै मूल्य नियन्त्रण जस्तो कुनै अन्य कदमका बारेमा विचार गर्नसम्मका लागि पनि तयार हुने गर्दैनन् ।
हुन त विश्व बैंकका अध्यक्ष डेभिड मालपास ऋणको बोझबाट दबिएका तेस्रो विश्वका देशहरुसँग सहानुभूति अवश्य जनाउने गर्दछन्, जसले आउँदा महिनाहरुमा यस मन्दीको मार झेल्नु नै पर्नेछ र यो पनि स्वीकार गर्दछन् कि तिनको टाउकोमाथि लादिएको ऋणको बोझको ठूलो हिस्सा त यी ब्याजको उच्चदरहरुको कारणले नै चढेको हो । तर पनि उनको भाषणमा खुद ब्याजदर घटाउने बारेमा कतै एक शब्द पनि हुँदैन, राखिँदैन । अर्को शब्दमा भन्न पर्दा बृटन वूड्सका यी दुबै संस्थाहरु विश्वका गरीबहरुको चिन्ताको कुरा त धेरै नै गर्ने गर्दछन् तर, उनीहरुको मद्दतका लागि कुनै ठोस कदम उठाउन तयार हुँदैनन् ।
यस स्थितिले केवल यी संस्थाहरुको दब्बूपना मात्रै देखाउँदैन, यसले अझ गहिरो अर्को सत्यलाई उद्घाटित गर्दछ । त्यो के हो भने विश्व पुँजीवाद आज साँच्चै नै एउटा गम्भीर र चर्को गतिरोधमा फँसेको छ । बितेका केही वर्षदेखि पश्चिमा शक्तिको जुन ढाँचा विकसित भएको छ, त्यसलाई यदि तिनले सुरक्षित बनाएर राख्ने हो भने ती विकसित राष्ट्रहरुले युक्रेन युद्धलाई लम्ब्याइरहनुपर्ने छ । अनि यस स्थितिमा जबसम्म मन्दी तथा त्यसले गर्दा बेरोजगारी पैदा गरिँदैन, मुद्रास्फीतिको वर्तमान उच्चदरबाट कोही पनि बच्न सक्दैन । यसर्थ, विश्व पुँजीवादको यो बाटो पक्रिने कुरामा कसैले आश्चर्य मानिरहनुपर्ने छैन । त्यसैले बरु आजको यथार्थ आवश्यकता के हो, यो स्थितिको प्रतिरोध गरिनु पर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies