
काठमाडौं : वैदेशिक रोजगारीमा युएई जाने नेपाली श्रमिकको प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण शुल्क आधाले घटेको छ ।
जेनजी आन्दोलनपछि नेपाल प्रहरीले जारी गरेको प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण गर्न ३ सय ५३ दिराम करिब १४ हजार रुपैयाँ लिने गरेकोमा अब १९७ दिराम करिब ७ हजार ८ सय रुपैयाँ बुझाए पुग्ने भएको छ ।
यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा संघका पदाधिकारीहरूसहितको प्रतिनिधिमण्डलले नेपालस्थित संयुक्त अरब इमिरेट्सका राजदूतसँग भेटघाट गरी वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विभिन्न समसामयिक विषयमा महत्त्वपूर्ण छलफल गरेपछि युएई राजदूतावासले उक्त जानकारी दिएको हो । युएईले आफ्नो प्रतिबद्धताअनुसार शुल्क घटाएको हो ।
उक्त भेटमा संघले प्राथमिकताका साथ प्रहरी चालचलन रिपोर्ट एटेस्टेसनबिनै नेपाली श्रमिकलाई युएई लैजान सकिने व्यवस्था गर्न अनुरोध गरेको थियो । तर, युएईले प्रहरी चालचलन रिपोर्ट एटेस्टेसनको विषय आफ्नो आन्तरिक सुरक्षा व्यवस्थासँग सम्बन्धित रहेको कारण उक्त प्रक्रिया पूर्णरूपमा हटाउन सम्भव नभए पनि अक्टोबर २०२६ देखि युएईमा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकको प्रहरी चालचलन रिपोर्ट एटेस्टेसनमा लाग्दै आएको शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने बताएको थियो ।
दूतावासले युएईले ६४ मुलुकबाट आफ्नो मुलुक प्रवेश गर्ने विदेशी नागरिकको प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण गरिरहेको भन्दै जेनजी आन्दोलनका क्रममा भागेका ३ हजारभन्दा बढी कैदी नेपालमा पक्राउ नपरेकाले नेपालीप्रति निगरानी बढाएको जानकारी दिएको छ । दूतावासले सबै मुलुकका लागि ३ सय ५३ दिराम शुल्क तोकेको भए पनि नेपालमा आएको अकल्पनीय बाढीले ठूलो नोक्सानी गरेको अवस्थामा आधा शुल्क छुट दिने निर्णय भएको समेत बताएको थियो ।
त्यस्तै, निकट भविष्यमा नेपालबाट भ्रमण तथा व्यावसायिक भिसामा युएई जाने नेपाली नागरिकका लागि प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण गर्न नपर्ने व्यवस्था मिलाउने प्रतिबद्धता समेत राजदूतबाट व्यक्त भएको संघले बताएको छ ।