–जयप्रकाश गुप्ता
कहिले काहीँ ‘क्रान्ति’ र ‘कु’ एउटै जस्तो हुन्छ । योभन्दा कतिपयलाई धेरैलाई नमिठो लाग्दो हो । स्वाभाविक नै हो । हामी कहाँ हिन्दुत्वको नाममा राजाको पुरानो हुकुमी शासन ल्याउन चाहनेहरू नेपाल उपर लगाइएको भारतीय नाकाबन्दीलाई बिर्सेर भारतमा मोदी महोदयको अविच्छिन्न बहुमतीय राजको प्रशस्ति गरिन्छ । तिनैलाई आज बंगलादेश दुःखीरहेको छ ।
अहिले बंगलादेशमा हिन्दुहरूका विरुद्ध भइरहेको दुर्व्यवहारलाई कदापि पनि ठिक भन्न सकिन्न । तर, धेरैले याद गर्दैनन् कि सन् २०२४ मै भारतमा मोदी सरकारले आप्रवासी घुसपैठी बंगलादेशीको नाममा त्यहाँ दशकौँदेखि बसिरहेका मुसलमानहरूलाई राज्यविहीन पार्न नयाँ नागरिकता कानुन ल्याउँदा बंगलादेशका मुसलमानहरू तथा त्यहाँका राजनीतिक दलहरूले कडा प्रतिक्रिया जनाएका थिए । भारतको असम राज्यमा के भइरहेको छ ? त्यहाँका मुख्यमन्त्री हेमन्ता विश्व शर्माका निरन्तर आइरहेका वक्तव्यहरूलाई त्यता र यताका समेत पाखण्डीहरूले नजर अन्दाज गरिरहेका हुन्छन् । यी सबको प्रताडना गलत रूपमै भए पनि आज बंगलादेशी हिन्दुहरू भोग्न बाध्य छन् । जुन एकदमै गलत हो ।
शेख हसिनाले कसरी शासन चलाएकी थिइन ? हामी त्यता जान चाहँदैनौँ । जबकि, त्यहाँका कट्टरपन्थी धर्मान्ध मुसलमानहरूले हिन्दुहरू उपर मौका छोपेर आक्रमण थाल्दा आज शेख हसिनाप्रति सहानुभूतिशील हुँदै छन् नेपालीहरू । बंगलादेशमा मोहम्मद युनुस आज अन्तरिम सरकारका मुखिया भएका छन् । यिनी उपर केहीअघि श्रम कानुनको उल्लङ्घन गरेको आरोपमा जेल सजाय सुनाइएको थियो । यिनी बंगलादेशबाट हसिनाको पलायनपछि मात्र पेरिसबाट ढाका फर्किएका हुन् । भारतमा मोदी सरकारका सबैले नोबेल पुरस्कार प्राप्त अमर्त्य सेनको किन आलोचना गर्छन् ? बंगलादेशमा ती नोबेल पुरस्कार पाउने मोहम्मद युनुस किन सजाय पाए ? किन पेरिस तिर लाग्न बाध्य भए ? त्यहीँको अदालतले भ्रष्टाचारमा दोषी ठहर्याएका अर्का पूर्व प्रधानमन्त्री बेगम खालिदालाई किन लगातार १३ वर्षसम्म जेलमा कोचे ? त्यहाँको अदालतले किन र कसरी शेख हसिनाको आरक्षण कानुनको प्रतिरक्षा गरेका थिए ? आज त्यहाँको अदालत किन तारो भएका छन् ? यसबारे न त भारतमा, न त नेपालमा कुनै चर्चा छ ।
नेपाली बहुसंख्यकहरूले नाक मुनीको जुँगालाई लुकाउन चाहेर जातीय पाखण्डीपना देखाइरहेका छन् । बंगलादेशमा हसिनाले सन् १९७१ को ‘वार भेटरान’ भनेर तिनका चौथौं वा पाचौं पुस्ताहरूलाई सरकारी जागिरमा आरक्षण निश्चित गरेको थियो । नेपालमा बहुसंख्यक शासक वर्गले हाल प्रचलित कथित आरक्षणको नाममा सरकारी जागिरहरूमा कसको हितको चिरस्थायी सम्बद्र्धन तथा प्रवद्र्धन गरिरहेका छन् ? नेपालमा वि.सं. २०६३ पछि सशस्त्र जनयुद्धको नाममा, यसमा पीडितको नाममा कसले राज्यको दोहन गरिरहेको छ ? नेपालमा यहाँका बुद्धिमठाधिशहरूले यसको खोजी गर्दैनन् ?
हसिनाको भित्री वस्त्र, परिधानका वस्तुहरू, साजसज्जा, विलासिताका साधनहरू, कुकुर–बिरालोहरू लुटियो । वङ्गबन्धु शेख मुजीबका सर्वत्र सालिकहरू तोडियो । यो राम्रो भएन, तर भयो यही नै । यस्तै हुँदै आएको हो । भारतको बंगाल राज्यको कलकत्तामा ज्योतिबसुका मार्क्सवादीहरूले अमेरिकन कन्सुलेट अफिसमा आक्रमण गरी लुटपाट गर्दा यही नै गरे । तेहरानमा शाह रेजा पहल्बी दरबार छोडेर भागेपछि यस्तै भयो । इमेल्डा मार्कोसका साथ के भएको थियो ? तिनका पेन्टी र जुत्ता चप्पलहरू महिनौँसम्म चर्चामा थियो । भारतमा जय ललिता उपर भ्रष्टाचारको मुद्दा लगाई जेल पठाइँदा के भयो ? नेपाली पाखण्डीहरू आज बंगलादेशका चर्चा गरिरहेका छन् । गर्नु पनि पर्छ । त्यहाँ गलत नै भएको हो । तर, यस कुरालाई किन बिर्सिने कि राजा त्रिभुवनले निजी ऋण तथा सापटी लिने गरेका नेपाली काँग्रेसका नेता सुवर्ण शमशेर, २०१७ सालमा राजा महेन्द्रले कु गर्नु पूर्व भारत निर्वासनमा गएपछि त्यस बेला उनका श्रीमतीका साथ ललिता निवासमा के भयो ? सूवर्णका परिवारका महिला सदस्यहरूका समेत अन्तर्वस्तुहरू राजा महेन्द्रले लिलाम गराएर, प्रदर्शनमा राखे, बेइज्जत पार्न कुनै कसर बाँकी राखेनन् । चाहनेले त्यस बेलाका समाज दैनिकहरू हेरे हुन्छ । गृष्मबहादुर देवकोटाका पुस्तक पढे पनि हुन्छ ।
यस अर्थमा राजा ज्ञानेन्द्र भाग्यशाली रहे, किन कि उनले संसारमा तानासाहहरू जनरोषको जाँतोमा पिसिनबाट जोगिन भाग्नु पर्दा हुने हबिगतको हेक्का राखे र पो आज भन्दै छन्, “मैले सुम्पेको जनताको नासो अब लिने बेला भएको छ !” क्रान्तिको दुष्परिणाम कठिन हुन्छ, जुन आज बंगलादेशमा भइरहेको छ । यद्यपि, निर्बाध सत्ता चाहनाको यात्रा जब ‘कु देताँ’मा परिणत हुन्छ, त्यसको भोगाई पनि कम कठिन हुँदैन ।