तिलु शर्मा पौडेल / मध्यान्ह
म्याग्दी, ३१ असोज । प्रवासी म्याग्देलीहरुको साझा संस्था मोनाको नयाँ नेतृत्व चयनका लागि कार्तिक २ र ३ गते जिल्ला सदरमुकाम बेनीमा हुन लागेको चौथो महाधिवेशन नजिकिए सँगै नयाँ नेतृत्वको सरगर्मी ह्वात्त बढेको छ । महाधिवेशनबाट बन्ने नयाँ कार्यसमिति ( २०२१-२३) का लागि तीन जनाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराए संगै सरगर्मी ह्वात्तै बढेको हो । अध्यक्ष पदका लागि वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष मीम पुर्जा (नेदरल्यान्ड), उपाध्यक्ष अमर छन्त्याल(अमेरिका) र महासचिव विक्रम कार्की(कतार) ले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । जिल्लाको विकास तथा संस्था बिस्तारमा तीन जनाकै महत्त्वपूर्ण भूमिका रहेको छ ।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा दधिवल खड्का(जापान), महासचिवमा हरि राम्जाली(अस्ट्रेलिया), सचिवमा रमेश पौडेल (कतार), विष्णुप्रसाद बरुवाल (साउदी) र प्रवक्तामा हिक्मत श्रेष्ठ ( अस्ट्रेलिया) को उम्मेदवारी परेको छ । महिला संयोजकमा अनुषा थापा (स्पेन) , महिला उपाध्यक्षमा पूर्णिमा पाइजा (हंङकङ), मध्यपूर्व क्षेत्रीय संयोजकमा तिलक पुन मगर (साउदी), एसिया संयोजकमा दीपक कार्की ( जापान), महिला उप संयोजकमा विष्णु बानिया ( स्पेन ) र अमेरीकाज क्षेत्रीय संयोजकमा डा. अमरबाबु भण्डारी (अमेरिका), मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा दीपक छन्त्याल ( कुवेत ) को उम्मेदवारी परेको निर्वाचन समितिद्वारा जारी सूचनामा जनाइएको छ । उपाध्यक्षमा (३ जना), कोषाध्यक्ष (१), सह कोषाध्यक्ष (१), युरोप महाद्वीप संयोजक ( १ ) र उपसंयोजक(१) मा कसैको पनि उम्मेदवारी परेको छैन ।
उम्मेदवारी नपरेका पदहरूका लागी आवश्यक छलफल र समन्वय गरी पुनः तालिका प्रकाशित गरिने संयोजक श्रेष्ठले मध्यान्हलाई जानकारी दिए । मोनाको पूर्ण कार्यसमितिमा विभिन्न २४ पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् भने कार्यसमितिका सदस्यहरूमा प्रत्येक देशमा रहेका मोनाका कार्यकारी समितिले एक एक जना सदस्यहरू मनोनीत गरी पठाउने व्यवस्था छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies