२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भूमिकास्थानमा प्रधानमन्त्री रोजगार कार्यक्रमले फेरियो दैनिकी

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ २७ गते २१:०४
भूमिकास्थानमा प्रधानमन्त्री रोजगार कार्यक्रमले फेरियो दैनिकी

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये भूमिकास्थान नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रुपमा अगाडि बढिरहेको रोजगार सेवा केन्द्रका रोजगार संयोजक पुष्कर मिश्रले बताए । 

विगत ३ वर्षदेखि निरन्तर रुपमा लागत साझेदारी गरी भौतिक पूर्वाधार निर्माणमा केन्द्रित भएको प्रधानमन्त्री रोजगार कार्यक्रमले  आर्थिक वर्ष २०८०/२०८१  मा  ९० जनालाई न्यूनतम एक सय दिनको रोजगारी दिएको  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए ।

नगरपालिकाका १० वटै वडाका वडा अध्यक्षहरु कार्यक्रमलाई प्रभावकारी बनाउन अहोरात्र खटिएका छन् । आर्थिक वर्ष २०८०/२०८१ मा नगर साझेदारीको ६२.५ लाख बराबरको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइ भुक्तानीको अन्तिम चरणमा रहेको  प्रमुख नेपाली बताए ।

बेरोजगार नागरिकहरु रोजगारी बनून भन्ने मुख्य उद्देश्यका साथ सूचीकृत बेरोजगारहरुलाई कर्मशील रोजगार कार्यक्रममार्फत कृषि खेतिमा साथै सीप विकास र अन्तर शाखा समन्वय गरी विभिन्न तालिमहरु सञ्चालन गरी अल्पकालिन रोजगार, सीप र दक्षता वृद्धि गर्ने गरी कार्यक्रम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताए ।

बाँझो तथा खेतियोग्य जमिनलाई नगरपालिकाले लिजमा लिइ सूचीकृत बेरोजगारलाई प्रयोग गरी अल्पकालिन रोजगारी सिर्जना गरिएको र आगामी आर्थिक वर्षमामा नवप्रवद्र्धन कार्यक्रममार्फत उत्पादनमूलक रोजगारीमा सूचीकृत बेरोजगारलाई अधिकतम संख्यामा प्रयोग गर्ने योजनामा रहेको अधिकृत नेपालीले बताए । 

बेरोजगारलाई न्यूनतम रोजगारीको प्रत्याभूति दिन तथा सामुदायिक पूर्वाधारको विकास र कर्मशील रोजगार कार्यक्रम मार्फत नागरिकको जीवनस्तरमा सुधार ल्याउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । 

कार्यक्रममा रहेका नीतिगत अप्ठ्याराहरुलाई आगामी आर्थिक वर्ष २०८०/२०८१ मा परिमार्जन गरी आयोजना सञ्चालन गर्दा कुल लागतको कम्तिमा ४० प्रतिशत ज्याला र ६०  प्रतिशत सामग्री खरिदको व्यवस्था भएमा आयोजना सञ्चालन तथा कार्यान्वयनमा सहजता देखिनुका साथै प्रभावकारी हुने रोजगार संयोजक पुष्कर मिश्रले बताए । 

सबै वडाहरुले लागत साझेदारीको बजेट समान रुपले पाएपछि सूचीकृत बेरोजगारहरुलाई काममा लगाउन सहज भएको छ । 

१० वटै वडामा आगामी आर्थिक वर्ष २०८१/२०८२ मा पनि लागत साझेदारी गरी भौतिक पूर्वाधार निर्माण, जलधार क्षेत्रको संरक्षण र धार्मिक क्षेत्रको विकासमा काम गरिने भएको छ । 

सूचीकृत लाभग्राही वडा नं. ७  की  उषा घर्ती मगरले  कार्यक्रम निरन्तर भएको खण्डमा आफु जस्तै हजारौं विपन्न वर्गका प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइन् । 

प्रधानमन्त्री रोजागरतर्फ सूचीकृत बेरोजगारहरुलाई बहुआयामिक क्षेत्रमा प्रयोग गरी अल्पकालिन र दिर्घकालिन रोजगारी सिर्जना गर्ने गरी पालिकाले योजना बनाएको नगर प्रमुख झविलाल थापाले बताए । 

कार्यक्रममा विशेष गरी महिला, पुरुष, एकल महिला, अपाङ्ग परिवार तथा अल्पसंख्यक समुदायका सूचीकृत बेरोजगारहरु सहभागी भएको पाइन्छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अनिवार्य लागत साझेदारी, सीप विकास र उत्पादनको अवधारणामा रुपान्तरण गरी सञ्चालन गर्न सकेको खण्डमा लक्षित वर्गले नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको रोजगारीको हकलाई प्रत्याभूत गर्न सक्नेछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise