२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

वैदेशिक रोजगारमा रहेका कामदार शेयर बजारमा हौसिँदै

ADV
२०८१ भदौ ४ गते ०६:४५
वैदेशिक रोजगारमा रहेका कामदार शेयर बजारमा हौसिँदै

काठमाडौं : तुफानी बेगमा उर्लिरहेको नेपाली शेयर बजारमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले ठूलो लगानी खन्याएका छन् । सरकारले वैदेशिक रोजगारीमा रहेका कामदारलाई नेपाली पब्लिक कम्पनीको आईपीओमा प्राथमिकताका आधारमा अवसर दिएपछि अधिकांश नेपाली कामदार शेयर बजारमा जोडिएका छन् ।

उनीहरूमध्ये अधिकांश दोस्रो बजारको कारोबारमा सक्रिय रहेको शेयर बजारका विश्लेषक सन्दीप चौधरी बताउँछन् । दक्षिण कोरियामा रहेका नेपाली कामदारका लागि निरन्तर अनलाइनमार्फत प्राविधिक तालिक सञ्चालन गरिरहेका चौधरीले उनीहरूले ठूलो भोलुम अर्थात दैनिक ठूलो रकमको कारोबार गरिरहेको जानकारी दिए ।

दक्षिण कोरियासहित युरोपेली मुलुकहरू र अमेरिकामा बस्ने नेपालीहरू पनि नेपाली शेयर बजारमा लगानी गर्न सक्रिय रहेकोे चौधरी बताउँछन् । कतिपयले आफ्नो तथा कतिपयले आफन्तको नाममा डिम्याट खाता सञ्चालन गरिरहेको पनि चौधरीले बताए । उनले विदेशी शेयर बजारमा मन्दी आउँदा नेपाली शेयर बजारमा सकारात्मक प्रभाव पर्ने र धेरै लगानी आउने गरेको बताए । आफू रहे–बसेको मुलुकको शेयर बजार वियरिस वा मन्दीको अवस्था हुँदा उनीहरूले नेपाली शेयर बजारमा लगानी बढाउने गरेको अनुभवीहरू बताउँछन् ।

निरन्तर सिधा अर्थात भर्टिकलरूपमा बढेको नेपाली शेयर बजारमा हालको नेप्से परिसूचक वृद्धि तथा यथावत रहेको अवस्थामा वैदेशिक रोजगारमा रहेका कामदारको थप लगानी भित्रिन सक्ने पनि प्राविधिक विश्लेषक चौधरी बताउँछन् ।

शेयर बजारमा लगानी भित्रिँदा नेपाल आउने रेमिट्यान्स पनि औपचारिक च्यानलबाट आउने गर्दछ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा करिब साढे १४ खर्ब रेमिट्यान्स भित्रिएको छ । यो रकममध्ये ठूलो हिस्सा विदेशबाटै शेयर बजारमा लगानी भएको अनुमान छ । हालसम्म ५६ लाख बढी नेपाली विदेशमा रहेका छन् । एक वर्षको अवधिमा ७ लाख ३१ हजारभन्दा बढी नेपाली गएका छन् ।

पछिल्ला केही दिनमा नेप्से परिसूचक र कारोबार रकमले दैनिकजसो नै रेकर्ड बनाउँदै आउनुमा वैदेशिक रोजगारमा रहेका कामदारहरूको योगदान उच्च रहेको बताइएको छ । दोस्रो बजारमा कारोबार गर्ने कतिपय कामदारले शेयर बजारको जोखिम आंकलन गर्न नसक्दा दीर्घकालीन लगानीकर्तामा परिणत हुने जोखिममा पर्ने विश्लेषकहरू बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise