इलामका प्रेमप्रसाद आचार्यले आत्मदह गरेको विषयले सिंगो मुलुकको ध्यान तानेको छ । बानेश्वरस्थित संसद् भवन अगाडि मंगलबार आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए । आचार्यलाई उद्धार गरी कीर्तिपुर अस्पताल भर्ना गरिएको थियो । तर उपचारका क्रममा बुधबार बिहान उनको निधन भयो । आचार्यले शरीरमा आगो लगाउनु अगाडि सामाजिक सञ्जालमा लेखेको स्टाटसले मुलुक तरंगित बन्न पुगेको हो । आचार्यले आफूमा डिप्रेसनको समस्या देखिएको उल्लेख गर्दै त्यसको कारण समेत वर्णन् गरेका थिए । इलामबाट ठूलो सपना बोकेर काठमाडौं, काठमाडौंदेखि रोजगारीको शिलशिलामा विदेश, स्वदेशबाट फर्केर इलाममा व्यवसाय गर्दासम्म भोग्नुपरेको लामो पीडा उल्लेख गरेका छन् । उनको उद्देश्य सफल ब्यावसायी बन्न चाहेको लुक्दैन ।
तर सरकारी निकाय, राजनीतिक नेतृत्व, ठूला व्यवसायी र सरकारी नीतिका कारणले सफल हुन नसकेको मृत्यु अगाडि लेखेका छन् । विशेषगरी साना र मध्यम व्यवसाय सञ्चालनमा कठिनाइ हुने परिस्थिति र नीतिकै कारणले आफूले मृत्युको बाटो रोज्नुपरेको उल्लेख गरेका छन् । सरकारी निकायबाट हुने करको बोझ र ठूला व्यवसायीहरुको अन्यायकै कारणले ऋण बढेर गएकाले मृत्युको प्र्रयत्न बिगतबाटै गर्दै आएको पनि खुलाएका छन् । तर यसपटकको मृत्युलाई आचार्यले विद्रोहको संज्ञा दिए । आगोले शरीरका ८० प्रतिशत भाग जलेकाले उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । आचार्यको निधनपछि उनलाई सहानुभूति दिनेदेखि ऐकेबद्धतामा प्रदर्शन गर्ने समेतका गतिविधि देखिएको छ ।
यी सबै घटनाक्रममा आचार्यले मृत्युको बाटो रोज्नु गलत भएकोमा ठूलो समर्थन देखिन्छ । तर आचार्यले उठाएको एजेण्डाप्रति सहमति जनाउने संख्या धेरै छ । विशेषगरी गरिखाने वर्गप्रति राज्यले उचित बातावरण बनाउन नसकेको आचार्यको निष्कर्षमा आम ऐकेबद्धता देखिन्छ । मुलुकको अहिलेको अवस्था हेर्दा असहमत हुने ठाउँ समेत देखिदैन । अहिले पनि मुलुकमा २० प्रतिशत अथवा ५० लाख नागरिक निरपेक्ष गरिबीको रेखामुनि छन् । रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या यही हाराहारी छ । वर्तमान बजार र व्यवसाय गर्ने वातावरणको प्रकृति हेर्दा केही गर्न चाहनेहरुका निम्ति राम्रो वातावरण छैन । तसर्थ आचार्यले उठाएको प्रश्न र लिएको निर्णयप्रति राज्य गम्भीर बन्न आवश्यक छ । पीडा हुँदैमा मृत्युको बाटो रोज्ने निर्णयलाई कहिल्यै समर्थन गर्न सकिन्न । तर उनले उठाएको एजेण्डा भने मुलुककै निम्ति खतराको घण्टी बन्न सक्छ, यसतर्फ सचेत हुन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies