
काठमाडौँ : जाजरकोट जिल्ला अस्पतालमा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा एकै दिन २ हजार १५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
गिरिजाप्रसाद कोइराला फाउण्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को समन्वयमा बुधवार सञ्चालित शिविरमा महिला, बालबालिका तथा वृद्ध वृद्धासहित ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए ।
शिविरमा १६५ जनाको ईसीजी, ३९८ जनाको भिडियो एक्सरे, १८३ जनाको प्रयोगशाला परीक्षण र १२९ जनाको इको परीक्षण गरिएको थियो । त्यस्तै, २९ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका १६२ जनालाई काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको आयोजकले जनाएको छ ।
शिविरमा नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्मा स्वयं बिरामीको स्वास्थ्य अवस्था बुझ्न र सेवाग्राहीसँग कुराकानी गर्न खटिएका थिए। यस क्रममा स्वास्थ्य परीक्षणका लागि दुई दिन लगाएर १८ कोस टाढाबाट आएकी एक वृद्ध आमाले डा। शर्मालाई आफ्नै छोरासरह मानेर आशीर्वाद दिइन् ।
उनले डा. शर्माको हात समाउँदै भनिन्, ‘तपाईंजस्तो मनकारी डाक्टर मैले नेपालभरिमै देखेको छैन । मेरा ६ छोरा छन्, अब तपाईंलाई थपेर सात छोरा बनाएँ । तपाईंलाई केही अप्ठ्यारो परे मेरा ६ छोरा पठाउँछु ।’
उनको आत्मीय अभिव्यक्तिले शिविरको वातावरण भावुक बनेको थियो । लामो दूरी पार गरेर स्वास्थ्य सेवा लिन आएका स्थानीयले डा. शर्माप्रति देखाएको विश्वास र सद्भावले शिविरमा विशेष माहोल सिर्जना गरेको थियो । शिविरमा सहभागी महिलाहरूले डा. शर्मालाई कटुस उपहारसमेत दिएका थिए । कटुस उपहार दिने महिलामध्ये एक जना २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा ज्यान गुमाएका नवराज विकसहित ६ जनामध्ये एकका परिवारकी सदस्य रहेको जनाइएको छ । जाजरकोट पुग्नुभएका डा। शर्माले स्थानीय काँग्रेसका नेता–कार्यकर्ता तथा समाजका अगुवाहरूसँग पनि भेटघाट र छलफल गरे ।
कर्णालीका दुर्गम बस्तीमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले फाउण्डेसन र केएमसीले विभिन्न जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।
अभियानअन्तर्गत मंसिर ११ गते डोल्पाको दुनै, मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, रोग पहिचान तथा चिकित्सकीय परामर्श प्रदान गरिनेछ । थप उपचार आवश्यक पर्ने बिरामीलाई काठमाडौं मेडिकल कलेजमा रिफर गरिनेछ । रिफर भएका बिरामीको प्रत्यारोपण तथा ओपन हार्ट सर्जरीबाहेकका सबै प्रकारका शल्यक्रिया नि:शुल्क गरिने व्यवस्था गरिएको छ । तर औषधिको खर्च भने बिरामी आफैँले व्यहोर्नुपर्नेछ । दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट कर्णालीका विभिन्न जिल्लाका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।