काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलका कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर श्रम स्वीकृति प्रदान गर्ने कार्य बन्द गर्न निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मध्यान्ह दैनिकको प्रश्नको जवाफमा मन्त्री अर्यालले उक्त जानकारी दिएका हुन् ।
मन्त्री अर्यालले भने, ‘कार्यालय समयमा काम नगर्ने र कार्यालय समयभन्दा बाहिर गएर राति अबेरसम्म श्रम स्वीकृति प्रदान गर्ने गरेको आफूले पनि सुनेपछि मंगलबारदेखि नै कार्यालय समयभन्दा बाहिर गएर श्रम स्वीकृति दिनु नैतिकताको दृष्टिकोण ‘इथिकल्ली’ पनि गलत हो भनेर निर्देशन दिएको छु ।’
मंगलबार मन्त्री अर्यालले मन्त्रालयका उच्च अधिकारीहरूसँग वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलको निरीक्षण गरेका थिए । मन्त्री अर्यालले भने, ‘कार्यालय समयभित्र काम गर्न कति कर्मचारी र भौतिक साधन श्रोतका खाँचो छ, विवरण पठाउनुहोस् मन्त्रालयले तत्कालै परिपूर्ति गर्नेछ, तर कर्मचारीको अभावजस्ता कारण देखाएर राति काम गर्ने वातावरण बन्द गर्नुपर्ने निर्देशन दिएकु छु ।’
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले अनलाइन प्रणालीबाट पूर्व तथा अन्तिम श्रम स्वीकृति दिने व्यवस्था भएपनि कर्मचारीहरूले ढिलाइ गरेर रकम बार्गेनिङ गर्ने गरेको गुनासोसम्बन्धमा पटकपटक प्रश्न उठाएका थिए ।
मन्त्री अर्यालले मन्त्रालय अन्तर्गत हुने काम समयमै सम्पन्न गर्न टाइम कार्ड शुरु गर्ने तयारी भएको बताए । सबै तयारी पूरा गरी आगामी छ महिनाभित्र मोबाइल एप्लिकेशन ‘एप्स’मार्फत टाइम कार्डबाट सेवा दिने बताए ।
पत्रकार सम्मेलनमा मन्त्री अर्यालले सबै समस्याको समाधानका लागि ‘श्रमाधान’को अवधारणा ल्याएको पनि बताए । मन्त्रालयले मंगलबारदेखि श्रमाधान अन्तर्गत २४ घण्टे श्रम सहायता केन्द्र सञ्चालनमा ल्याएको भन्दै मन्त्री अर्यालले कल सेन्टरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकले आफूले झेल्नुपरेको समस्या टिपाउने र मन्त्रालय मातहत निकायहरूबाट त्यसको समाधान खोजिने जानकारी दिए । मोबाइल एपमार्फत नै श्रमिकले आफ्नो समस्या राख्न सक्ने भन्दै मन्त्रालयले श्रमाधानमा ११४१ वा ९८०१८०००१३ नम्बरमा सम्पर्क गरेर वा उक्त नम्बरको भाइबर र इमोसमेतबाट उजुरी गर्न सकिने व्यवस्था मन्त्रालयले गरेकोे छ ।
मन्त्री अर्यालले भने, ‘श्रमाधान एपबाट श्रम टाइम कार्ड लागू हुनेछ । तोकिएको सेवा दिन नसक्ने भए त्यसको कारण टाइम कार्डमा नै दिइने छ । सेवाग्राहीलाई झुलाउने काम गर्न हुँदैन, सबै समस्याको समाधान नहुन पनि सक्छ समाधान दिन नसके त्यसको कारण दिइने छ ।’
मन्त्रीको जिम्मेवारी सम्हालेपछ पहिलो आधिकारिक पत्रकार सम्मेलनमा उपस्थित भएका मन्त्री अर्यालले अमर्यादित र विभेदपूर्ण देखेपछि रोजगारीका लागि विदेश जाने नेपाली कामदारको पृथक लाइन हटाएर सबैका लागि एउटै बनाएको बताए ।
वैदेशिक रोजगार क्षेत्रमा अथाह गुनासा र उजुरी रहेको र आफू मन्त्रीको जिम्मेवारीमा आएपछि आफ्नो ह्वाट्सएपमा मात्रै मंगलबारसम्म १ हजार १२ उजुरी आएको भन्दै मन्त्री अर्यालले सबै शिकायतहरूको छानबिन गरी सम्बन्धित निकायमा पठाएर सकेसम्म छिटो समस्याको समाधान दिने बताए ।
सञ्चारकर्मीहरूको प्रश्नमा मन्त्री अर्यालले फ्रि भिसा फ्रि टिकटको निर्णय सुन्दा लोकप्रिय रहेपनि सबै देशका लागि समानरूपमा लागू गर्न कठिनाइ रहेको भन्दै सुधारका लागि छलफल भइरहेको बताए । उनले भने, ‘सुन्दा उक्त निर्णय रमाइलो नै छ, तर व्यवसाय फष्टाउनु पर्छ, निजी क्षेत्रका व्यवसायी निरूत्साहित गरेर हुँदैन । रोजगारीलगायतका सबै कुरा तत्कालै स्वदेशमा नै हुन्छ भनियो भने त्यो उल्टो हुन्छ, स्वदेशमा उत्पादन बढाउँदै लगेर बाध्यताको वैदेशिक रोजगार अन्त्य गर्नुपर्छ ।’
मन्त्री अर्यालले स्वदेशमा रोजगारीको सम्भावना खोजीका लागि सात वटै प्रदेशमा रोजगार मेलाको आयोजना गर्न थालिएको समेत बताए । मन्त्री अर्याललाई अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाइएको जानकारी दिए । उक्त काम गृहमन्त्रालयको भएपनि गृहले उक्त काम नगर्दै गृह मन्त्रालयसँग समन्वय गरेर अपाङ्ग र अशक्त नागरिकलाई परिचयपत्रका आधारमा सिंहदरबार प्रवेशको व्यवस्था मिलाइएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies