२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मानव बेचबिखन रोकथाममा सरकारले सक्रियता बढाउँदै

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते २१:३०
मानव बेचबिखन रोकथाममा सरकारले सक्रियता बढाउँदै

सुशील दर्नाल/रासस

काठमाडौं : मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा पछिल्लो समयमा झन् सक्रियता देखिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बन्धक बनाइएका नेपालीहरुको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई तीव्रता दिएको हो । मन्त्रालयले खासगरी सडक निर्माणमा काम लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वसनसहित भारतको कस्मिरमा पुर्‍याइएका र विना ज्याला जोखिमयुक्त तरिकारले द्वन्द्वग्रस्त क्षेत्रमा जवरजस्ती काममा लगाइ बन्धक बनाइ राखेका नेपालीहरुको उद्धारमा तीव्रता दिएको हो । 

पछिल्लो समयमा बन्धक बनाइएका धनुषा जिल्लाका ७ जना र सिरहा जिल्लाका २१ जना गरी (२४ देखि ६० वर्ष सम्मका) जम्मा २८ जना पुरुषहरुका सम्बन्धमा भारतीय गैरसरकारी संस्था किन इन्डियामाफर्त जानकारी हुन आएको मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन इन्डियाको प्राविधिक सहयोग र सहकार्यमा उक्त पीडित/प्रभावितहरुलाई उद्धार गरी जनकपुर, धनुषा ल्याइएको मन्त्रालयले जनाएको छ ।

मानव बेचबिखनबाट पीडित र प्रभावितहरुको उद्धार गरी र संरक्षण कार्यलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ ।

यो घटनाको संवेदनशीतालाई मध्यनजर गरी धनुषा ल्याइएका २८ जना पुरुषहरुलाई महिलामन्त्री नवल किशोर साह (सुडी), मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको समुपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत निजहरुको परिवारसँग पुनर्मिलन गराइएको छ । सो उद्धार कार्यमा लागेको यथार्थ खर्च मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थापित पुनस्र्थापना कोषबाट व्यहोरिने छ । 

मानव बेचबिखन अत्यन्त संवेदनशील विषय रहेको र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ बमोजिम त्यस्तो घटनाबाट पीडित÷प्रभावितहरुको सहमतिमा मात्र पहिचान खुलाउन सकिने व्यवस्था भए बमोजिम निजहरुको पहिचान गोप्य राखिएको छ ।

विषयवस्तुको संवेदनशीलतालाई सरोकारवाला सबैले उचित सम्मान गर्न मन्त्रालयले आग्रह पनि गरेको छ । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले नेपालमा हुने मानव बेचबिखनलाई पूर्ण रुपमा रोक्नका लागि राज्य वा सरकार मात्रै लाग्ने भन्दा पनि सरोकारवाला निकाय र सिंगो समाज नै लागिपर्नुपर्ने बताइन् ।

मानव बेचबिखनको मुख्य कारण अशिक्षा र बरोजगारी, घरेलु हिंसा, घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू नै बढी सिकार हुने गरेको उनको भनाइ छ । 

‘हिंसामा परेकाहरू सधैं अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडै त्यस्ता दलालको पञ्जामा पर्छन्’ उनले भनिन् । 

महिला मन्त्रालयले बेचबिखन रोक्न समाजमा चेतना फैलाउनुका साथै विद्यालयदेखि नै बालबालिकालाई त्यसका बारेमा शिक्षित गराउन पाठ्यक्रममै समावेश गर्ने तयारी समेत गरेको छ । 

‘पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउनका लागि मन्त्रालय लागि परेको छ, समाजमा तुरुन्तै लागु गर्न सकिने किसिमका पाठ्यसामग्रीहरू समावेश गर्न जरुरी पनि छ’ महिला मन्त्रालयका सूचना केशवप्रसाद अधिकारीले भने ।

अभियन्ता गौरा नेपालीले शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको बारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्बन्धित निकायसँग समन्वय गर्ने गरी सबै निकाय सक्रिय भएको खण्डमा मानव बेचबिखन तथा ओसारपसारलाई न्यूनीकरण गर्न सकिने बताए । 

मन्त्रालयले सामूहिक रुपमा मानव बेचबिखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानव बेचबिखन रोकथामका लागि अन्तक्र्रिया, सडक नाटक, र्‍याली, घरदैलो जस्ता कार्यक्रम समेत गर्दै आएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशिल सरकारी र गैरसरकारी संघ–संस्थाहरूसँग समन्वय गर्दै मन्त्रालयले पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श पनि प्रदान गर्दै आएको छ ।

मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई त्यसका बारेमा अझै धेरै ज्ञान दिने र उनीहरूलाई बेचबिखन सम्बन्धी अपराधको गाम्भीर्यता बुझाउने र भारतीय सीमा नाकाहरुमा संघसंस्था र नागरिक समाजसँग मिलेर निगरानीलाई अझै प्रभावकारी बनाइने सरकारको योजना छ । 

ADVADV

सम्बन्धित खबर

Advertise