२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

समावेशी बन्न नसकेको ‘समावेशी शिक्षा’

ADV
२०८१ भदौ १२ गते ०६:२०
समावेशी बन्न नसकेको ‘समावेशी शिक्षा’

–समिद कतिला श्रेष्ठ

“मलाई स्कुल जान त मन छ तर, मलाई स्कुलले लिन मान्दैन” यो वाक्य एउटा छ वर्षको बालकको हो, जसको नाम सौगात हो । गत हप्ता सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भयो, जसमा सौगातले भन्दै थिए, उनलाई स्कुल जान मन छ तर, उनी बस्न र हिँड्न नसक्ने भएकोले उनलाई स्कुलले लिन मान्दैन । सौगातको आमाले पनि यो कुराको पुष्टि गरेकी छिन् । “सौगातलाई धेरै विद्यालयहरू लगियो तर कुनै पनि विद्यालयले उसको शारीरिक अवस्था हेरेर लिन मानेन”, उनकी आमाले भनेकी छिन् ।

यो कुरा सौगातको मन र मस्तिष्क दुवैमा छ र उनी व्यक्त गर्न पनि सक्छन् । उनले यो कुरा अहिले हाँसेर भने तर, बिस्तारै जब उनले यो कुरा अझ गहन रूपमा बुझ्ने हुनेछन्, तब यसले उनलाई कस्तो असर गर्छ, त्यो त आउने समयले बताउला । सौगात सेरेब्रल पाल्सी अथवा मस्तिष्क पक्षघात भएको  छ वर्षको बालक हो । यो भएको कारणले सौगातको शारीरिक अवस्था अरू बच्चाहरूभन्दा फरक छ । नेपाल सरकारले पहिचान गरेको १० अपाङ्गतामध्ये यो शारीरिक अपाङ्गता पनि एक हो । सौगातसँग नेपाल सरकारले प्रधान गरेको अपाङ्गता परिचय पत्र पनि छ तर, यसको फाइदा र उपयोगको बारे उनको अभिभावकलाई पनि त्यति धेरै थाहा छैन, न त जनमानसमै ।

सेरेब्रल पाल्सी हुँदा शारीरिकसँगै अन्य समस्याहरू पनि हुन सक्छ । तर, धेरै अवस्थामा यसले शारीरिक अवस्थामा मात्र असर गर्छ, जसले बच्चाको बोली, बुझाई, भाषा र विकासका अरू पक्षलाई केही असर गर्दैन । शारीरिक अवस्था बाहेक सबै अरू बालबालिका जस्तै हुने भएकोले बालबालिकाहरू लाई समयमै विद्यालय पठाउनु पर्छ ।

विशेष विद्यालय हैन समावेशी नै हो, किनकि सौगात जस्ता बालबालिका शारीरिक अवस्थाले बस्न, हिँड्न नसक्ने होला तर, अरू कुरामा उनीहरू अरू बालबालिकाहरू जस्तै अब्बल नै हुन्छन् । यस्ता बालबालिकाहरूलाई लेख्न गाह्रो होला वा नसक्लान् वा ढिलो लेख्लान्, तर उनीहरूले त्यो कुरा भन्न सक्छन् वा किबोर्डमा लेख्न सक्लान् वा अरू कुनै माध्य बाट गर्लान् । खासमा समावेशी भनेको पनि यही हो । उनीहरू आफै उभिन, हिँड्न नसक्लान् तर, उनीहरू कुनै सहायक सामाग्रीको प्रयोगले साथीहरूसँग खेल्न वा रमाइलो गर्न सक्छन् ।

कुनै पनि बालबालिकाको विकासको पक्ष शारीरिक, भाषा, बोली, बुझाइ, मानसिक अवस्था, सामाजिकीकरण, भावनात्मक, संवेगात्मक र बौद्धिक एउटामा असर हुन सक्छ वा एकभन्दा बढीमा । त्योअनुसार उसलाई हरेक कुरा सिक्न कुनै मद्दत र सहयोग आवश्यकता हुन सक्छ, त्यो मिलाउनु नै समावेशी हो ।

पक्कै पनि अर्को बच्चा जस्तो सौगात जस्ता बालबालिकालाई सिक्न थप केही सहयोग आवश्यक हुन्छ, त्यसैले त उनीहरूले अपाङ्गता परिचय पत्र पाएका छन् । तर, त्यसले उनीहरूको पठन पाठनको अवसर, हक र अधिकारको पनि सुनिश्चितता खोजेको छ । यदि कुनै विद्यालयले उनीहरूलाई नलिए, उनीहरूले कानुनी रूपमा त्यस्तो विद्यालयमाथि अदालतमा उजुरी दिन पनि सक्छन् । नेपाल सरकारको नियमअनुसार सबै विद्यालय समावेशी हुनै पर्छ भन्ने नियम छ । तर यसको कार्यान्वयन भएको सीमित ठाउँमा बाहेक अधिकांशमा पाइँदैन ।

सौगातको स्कुल जाने इच्छा भएको तर, स्कुलले नलिएको भिडियो भाइरल भयो । धेरैले सहानुभूति देखाए र प्रोत्साहन दिए सामाजिक सञ्जालमा । तर, व्यक्तिगत रूपमा दुई÷चार जनाले भने पनि आज पनि कुनै विद्यालयले हामी सौगातलाई लिन्छौ भनेको देखिएन । वास्तविकता यही हो । हामीले समावेशी शिक्षा बुझ्न सकेका छैनौँ । सबैले सजिलो र राम्रो बच्चाहरू मात्र लिन खोज्छन् । अलि फरक र मेहनत गर्नुपर्ने बच्चाहरूको पढ्ने र आफ्ना साथीहरूसँग खेल्ने, हुर्किने अधिकार सुनिश्चित गर्ने हामी सबैको कर्तव्य र दायित्व हैन र ? 

शिक्षामा समावेशीको धारणा सबैले बुझ्नै पर्छ । साथै, सहयोग पाए हरेक बच्चा अब्बल हुन सक्छन् । तर, उनीहरूलाई अवसर चाहिन्छ । त्यो तपाईँ हामीले नै उपलब्ध गराउने हो । समय गतिशील छ । सही समयमा, सही मौका दिन सके, नेपालमा सौगात जस्ता थुप्रै बालबालिकाहरूको भविष्य उज्ज्वल हुन सक्छ ।

(बाल विशेषज्ञ थेरापिस्ट श्रेष्ठ, समावेशी तथा विशेष शिक्षा अभियन्ता हुन् ।)

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise