२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

म्यादी जीवन बीमालेख बिक्री कम्पनीहरुको प्रतिष्ठाको विषय

ADV
२०८१ भदौ १३ गते ०६:३०
म्यादी जीवन बीमालेख बिक्री कम्पनीहरुको प्रतिष्ठाको विषय

काठमाडौं : अत्यन्तै न्यून जोखिममा उच्च नाफा हुने वैदेशिक रोजगारमा जाने कामदारको म्यादी जीवन बीमालेख बिक्रीको बाँडफाँडको विषय निजी क्षेत्रका जीवन बीमा कम्पनीबीच प्रतिष्ठाको विषय बनेको छ ।

नेपाल बीमा प्राधिकरणले कूल कारोबारको ७० प्रतिशत हिस्सा समानुपातिक र बाँकी ३० प्रतिशत बीमा कम्पनीको पुँजी र कारोबारका आधारमा वितरण गर्ने प्रस्ताव गरेपछि बीमा कम्पनीहरूबीच बीमालेख बिक्री प्रतिष्ठाको विषय बनेको हो ।

प्राधिकरणले आफ्नो अधिकार क्षेत्र बाहिर गएर जीवन बीमा र लघु जीवन बीमा कम्पनी सञ्चालन गर्ने ‘बिग हाउस’को स्वार्थमा ७०÷३० को अव्यवहारिक प्रस्ताव अघि सारेको कम पुँजी भएका बीमा कम्पनीले आरोप लगाएका छन् । उनीहरूले प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले जीवन बीमा कम्पनीका प्रमुख कार्यकारीलाई बोलाएर ७०÷३० को प्रस्तावमा सहमति गर्न दबाब दिने गरेको दाबी गर्दै असन्तुष्टिसमेत जनाएका छन् । 

जीवन बीमा कम्पनीहरूले गत वर्ष ७ लाख ४१ हजार २ सय ९७ वटा बीमालेख बिक्री गरेका थिए । एक महिनामा मात्रै बीमा कम्पनीले ७१ हजार ७३ वटा वैदेशिक रोजगार बीमालेख जारी गरी २१ करोड हाराहारीमा कमाउने गरेका छन् ।

वैदेशिक रोजगार म्यादी जीवन बीमामा १६ देखि ६० वर्ष उमेर समूहका कामदारले १ देखि ५ वर्षसम्मको बीमा गर्ने गरेका छन् । देश र उमेरअनुसार म्यादी बीमाको रकम फरक–फरक छ । वैदेशिक रोजगारीमा साउदी अरेबिया, कतार र यूएईसहित खाडीका देश र मलेसिया जाने कामदारहरूले १ हजार ५ सयदेखि ४ हजारसम्म, कोरिया र इराजरायल जाने कामदारले २ हजार ५ सयको बीमा गर्नुपर्ने व्यवस्था छ ।

ठूलो संख्यामा खाडी मुलुक र मलेसिया जाने कामदारको श्रम स्वीकृति २ वर्षको हुने भएपनि म्यादी बीमा श्रम स्वीकृति भन्दा १ वर्ष बढी अवधिको गराउँदै आएका छन् । तीन वर्ष अवधि राख्दा कामदारको हित हुने बताइए पनि तीन वर्षको प्रिमियम लिने कार्यले प्रत्यक्ष लाभ बीमा कम्पनीले पाएको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।

गत वर्ष सन नेपाल लाइफ, नेपाल लाइफ, आएमई लाइफ, एशियन लाइफ, सिटिजन्स लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सले कूल म्यादी बीमाको ८० प्रतिशत बीमालेख बिक्री गरेका थिए । उनीहरूले अघिल्लो वर्षको कारोबारको आधारमा ३० प्रतिशत हिस्सामा एकाधिकार खाजेका कारण वैदेशिक म्यादी बीमामा पुल प्रणालीमा समस्या आएको अन्य कम्पनीको आरोप छ ।

वैदेशिक रोजगार विभागका अनुसार यसअघि ११ वटा जीवन बीमा कम्पनीले म्यादी बीमालेख बिक्री गर्दै आएकोमा यस आर्थिक वर्षदेखि थप २ जीवन बीमा कम्पनी र ३ लघुबीमा कम्पनी वैदेशिक रोजगारको म्यादी बीमा बिक्री गर्न सूचीकरण भएका छन् । विभागका अनुसार हाल सूर्यज्योति लाइफ, सन नेपाल लाइफ, सिटीजन्स लाइफ, प्रभु लाइफ, सानिमा लाइफ, आइएमई लाइफ, मेट लाइफ कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा जाने कामदारको म्यादी बीमा गर्ने गररिहेका छन् । यसका अतिरिक्त रिलायवल लाइफ, नेपाल लाइफ, नेशनल लाइफ इन्स्योरेन्स नेपाललगायतले वैदेशिक रोजगार बीमाको पोलिसी बेच्दै आएका छन् । 

विभागका अनुसार गार्डियन माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ म्यादी बीमाको व्यापारमा थपिएका छन् । गत वर्षसम्म वैदेशिक रोजगारी म्यादी बीमा बिक्रीमा नजोडिएको हिमालयन लाइफ इन्स्योरेन्स यस वर्ष सूचीकृत भएको छ भने गत वर्षसम्म सूचीकृत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स चालु वर्षका लागि सूचीकृत भएको छैन ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise