२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘पर्यटन क्षेत्रमा केही गर्ने सपना छ’

ADV
२०८१ भदौ १६ गते ०६:४५
‘पर्यटन क्षेत्रमा केही गर्ने सपना छ’

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा नयाँ नेतृत्वको लागि सोमबार निर्वाचन हुँदैछ । निर्वाचनले टानको आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचनबाट बन्ने १७ सदस्यीय कार्यसमितिका लागि ३४ जना उम्मेदबारहरु चुनावी मैदानमा उत्रिएका छन् । दुई वटा चुनावी प्यानलको नेतृत्व सागर पाण्डे र रामप्रसाद सापकोटाले गरेका छन् । टानको नयाँ नेतृत्व चयन प्रक्रियासँग जोडेर मध्यान्हका छबि सापकोटाले अध्यक्षका उम्मेदवार सागर पाण्डेसँग कुरा गरेका छन् । 

ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल (टान) को निर्वाचनमा तपाईंको उम्मेद्वारी किन ? 

ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल (टान) पर्यटन व्यवसायीको समस्या र नेपालको पर्यटन क्षेत्रको विकासको लागि काम गर्ने संस्था हो । मैले पर्यटन क्षेत्रलाई नजिकबाट बुझेको छु किनभने यस क्षेत्रमा ३० वर्ष समय बिताए । युवा अवस्थादेखि नै पर्यटन क्षेत्र लागियो । अहिले पनि नेपालको पर्यटन क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सपना छ । शुरुको चरणमा यो क्षेत्रमा अकस्मात प्रवेश गरेको थिएँ तर, यसबाट बाहिर निस्कने सक्ने अवस्था बनेन् । पर्यटन क्षेत्रमा अब हामीले नगरे कसले गर्ने भन्ने लागेर टानको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको छु ।   

पर्वतीय पर्यटन र ट्रेकिङ क्षेत्रको विकासको लागि उम्मेदवारी घोषणाको क्रममा तपाईंले के कस्ता योजना अगाडि सार्नुभएको छ ?

टानले स्थापना देखि नै पर्वतीय र टे«किङ काम गर्दै आएको छ । अहिलेसम्म टानको कार्यसमितिले पर्वतीय पर्यटन र ट्रेकिङ क्षेत्रमा निरन्तर काम गरेको छ । कोभिड–१९ को कारण विश्वको पर्यटन क्षेत्र नै संकटमा परेको थियो । तर, अहिले सबैतिर पर्यटकीय गतिविधि बढिरहेका छन् । नेपालमा समेत पर्यटकको आगमन बढीरहेको छ । तर, बसाइ अवधि लामो बनाउने र खर्च गर्ने पर्यटक भने बढ्न सकेको देखिँदैजन । पर्वतीय र ट्रेकिङ क्षेत्रलाई सँगसँगै लैजाने योजना बनाएको छु । टानले पर्यटन क्षेत्रलाई रोड म्याप देखाउने संस्थाको विकास गर्दै आएको छ । राष्ट्रिय रुपमा समेत टानको पहिचान फरक छ । अन्तर्राष्ट्रिय रुपमै टानको महत्व बढ्दै गएको अस्वस्थामा मेरो सो क्षेत्रको अनुभवलाई नयाँ ढंगले अगाडि बढाउने योजना छ । 

यस्तै राज्य र पर्यटन व्यवसायीलाई फाइदा हुनेगरी हान, नाटा लगायत पर्यटनसँग सम्बन्धित संघसंस्था एक भएर काम गर्नु पर्नेछ । पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर लाग्नु भएका पर्यटन व्यवसायी एक भएर सरकारसँग हाम्रा समस्यालाई कार्यान्वयन गर्नेतर्फ मेरो जोड हुनेछ । अहिले सरकार एकातिर, पर्यटनसँग सम्बन्धित व्यवसायी, संघसंस्थाहरु अलग–अलग बाटोतिर हिँड्दा समस्या छ । त्यसैले हामी सबैको लक्ष्य पर्यटन क्षेत्रलाई माथि उठाउने हो भने किन हामी एक भएर नबढ्ने ? 

सरकारले पनि पछिल्लो समय पर्यटन क्षेत्रलाई बुझ्न थालेको छ तर, हाम्रो समस्या अझै कति छन् भन्ने बुझाउन सकिएको छैन । पर्यटकलाई नेपाल ल्याएदेखि नफर्किनेसम्म कहाँ–कहाँ समस्या छ त्यो हामीलाई मात्र थाहा छ । हामीले पर्यटन क्षेत्रमा भविष्य देखेका छौं तर सरकारको साथ भने निकै कम पाइरहेका छौैं, यो ग्याबलाई अन्त्य गर्ने योजना मैले बनाएको छु । पर्यटन क्षेत्रमा पूर्वाधारको अवस्था पनि नाजुक छ, त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा गलत म्यासेज समेत गएको छ, त्यसैले पूर्वाधार निमार्णमा केन्द्रित कार्यक्रम बनाउने तर्फ लाग्ने छु । 

पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्न के गर्नुहुन्छ ? 

मलाई लाग्छ टानलाई बलियो बनाउँदा पर्यटन व्यवसायीलाई पनि बलियो बनाउन सकिन्छ । हामी कमजोर हुँदा हाम्रा माग सरकारले सुनिरहेको छैन । त्यसलै टानलाई पर्यटन क्षेत्र र पर्यटन व्यवसायीले चिनेको नेतृत्वको आवश्यकता देखिन्छ । हामी कोभिडपछि विस्तारै तग्रिँदै छौ । अब हाम्रो मुख्य लक्ष्य नै पर्यटन व्यवसायलाई तीव्र गतिमा अगाडि बढाउनु नै हो । पर्यटन व्यवसायसँग जोडिएका कम्पोनेन्टहरु, गाइड, सहयोगीहरुको संरक्षण गर्ने हो । उहाँहरु पर्यटन क्षेत्रमा खम्बा हुुनुहुन्छ । टानलाई बलियो बनाउने हो भने समग्रमा व्यवसायीहरुको हितको लागि काम गर्न आवश्यक छ । पछिल्लो समय टे«किङ क्षेत्रलाई ध्वस्त बनाउने गतिविधि बढिरहेका छन् । स्थानीय तहमा पर्यटन क्षेत्रको विकास भन्दापनि सडकको क्षेत्रमा विकास देखेको कारण समस्या आएको देखिन्छ तर, हामीले ट्रेकिङ रुटको बारेमा बुझाउन समेत आवश्यक छ । पर्यटन व्यवसायीले ढुक्कसँग व्यापार गर्न र आफ्नो लगानीको सुरक्षित गर्ने योजना बनाउन आवश्यक छ । 

तपाईंको बुझाइमा पर्यटन क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छ ? 

राज्यले पर्यटन क्षेत्रमा धेरै गर्न आवश्यक छ । पर्यटन क्षेत्रले नै नेपाललाई माथि लैजान्छ भन्ने लाग्छ । मेरो ३० वर्षे अनुभवमा राज्यको उपस्थिति कमजोर छ । अहिले जे भएको छ त्यो निजी क्षेत्रका पर्यटन व्यवसायीबाट भएको छ । अहिले पनि पर्यटन व्यवसायीकै कारणले पर्यटन क्षेत्र चलायनमान भइरहेको छ । हामी पर्यटन भन्ने बित्तिकै ‘होलेस्टिक’ रुपमा बुझ्छौं । अब यसलाई पर्वतीय, माउन्टेरिङ, इभेन्ट पर्यटनका रुपमा छुट्याउनुपर्छ । पछिल्लो समय नेपालमा रिसोर्ट, चेन होटल तथा साहसिक पर्यटन क्षेत्रमा लगानी बढ्दै गएको छ । यसमा निजी क्षेत्र नै अगाडि छन् । जसरी पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटकहरुको समेत बसाइ लम्बाउने गतिबिधि समेत बढिरहेको छ । त्यसैले अब निजी क्षेत्रका पर्यटन व्यवसायी र राज्य मिलेर अगाडी बढ्ने हो भने हामी छिट्टै पर्यटन क्षेत्रलाई नयाँ स्वरुपमा विस्तार गर्न सक्छौं । 

अन्त्यमा, निर्वाचनको अन्तिम तयारीमा लाग्नु भएको छ । तपाईंका मतदातालाई के भन्न चाहनुहुन्छ ? 

मेरो योजना र एजेण्डा नै टानलाई बलियो संस्था बनाउने हो । म कुरामा भन्दा काममा बढी विश्वास गर्छु । कुनैपनि संस्थामा व्यवसायीको योजना भन्दा राजनीति योजना बढ्दा समस्या देखिन्छ । टानमा राजनीति भन्दापनि पर्यटन क्षेत्रको विकास गर्ने व्यक्तिको नेतृत्वको आवश्यकता छ । 

संस्थामा राजनीति हुँदा संस्थाको गरिमामा नै आँच आउन सक्छ । त्यसैले व्यक्तिको कुनै राजनीतिमा आस्था हुन सक्छ तर, संस्थामा आउँदा राजनीतिक गन्ध आउनु हुँदैन । यो पार्टी वा त्यो पार्टी भन्दापनि पर्यटन व्यवसायीको एजेण्डालाई माथि ल्याउनु पर्छ । 

म पनि स्वतन्त्र भएर चुनावमा होमिएको छु । सबै टानका सदस्य साथीहरुले बुझ्नु भएको छ । राजनीति गर्ने प्लेटफर्मको रुपमा टानलाई प्रयोग गरिनु हुन्न । टानलाई राजनीतिक सिण्डीकेटबाट मुक्त गरेर अगाडि बढ्न आवश्यक छ । मेरो स्वार्थ नै पर्यटन व्यवसायीको हकहितमा काम गर्ने हो । त्यसैका लागि सबै मतदातासँग मेरो आग्रह छ, हामी सबै मिलेर पर्यटन क्षेत्रमा काम गर्ने हो भने दुई वर्षमा हामीले धेरै काम गर्न सकिन्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise