२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

अर्घाखाँचीको नरपानीमा गर्मी छल्न आउने पर्यटक बढे

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ २९ गते १३:४२
अर्घाखाँचीको नरपानीमा गर्मी छल्न आउने पर्यटक बढे

अर्घाखाँची : अर्घाखाँचीको सबैभन्दा सुन्दर चिसो ठाउँ एकमात्र पर्यटकीय क्षेत्र नरपानी सुपादेउराली खाची हिलस्टेसनमा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

प्राकृतिक चिसो हावा, चिसो पानी, विभिन्न झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटाहरु तथा सबैभन्दा अग्लो ठाउँ खाचीकोट हिलस्टेसनबाट देखिने मनोरम हरियाली दृश्यले पर्यटकलाई आकर्षित गर्नुका साथै मनोरम वातावरण भएकाले तराईको गर्मी छल्न नरपानी क्षेत्रमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दै गएको हो ।

यतिबेला तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढिरहेको छ । रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लाहरुको तापक्रम अहिले  ४४-५४  डिग्रीसम्म पुग्ने गरेको छ । गर्मीले आत्तिएका तराईका मानिसलाई केही समय भए पनि गर्मी छल्ने माध्यम बनेको छ अर्घाखाँचीको नरपानी क्षेत्र । युवायुवती चिसोमा रमाउन, तस्बिर तथा भिडियो लिँदै मनोरञ्जन लिन  याहाँ आउने गरेका छन् । पर्यटक बढेपछि अहिले त्यस क्षेत्रको व्यापारसमेत दोब्बरले वृद्धि भएको स्थानीय प्रकाश महत्रा बताउँछन् ।

भीर, पहरा र छहराको संयोग, प्राकृतिक रुपले भरिपूर्ण नरपानी, सुपादेउराली झोलुङ्गे पुल, खाचीको हिलस्टेसन, गंगा सरोवर अर्घाखाँचीका उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । पर्यटकहरु गर्मी छल्नका लागि यी ठाउँमा बढी आउे र डिभर्नाको ढुंगे बगैंचासम्म अवलोकन गर्ने गरेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

सन्धिखर्क नगरपालिकाले यस आर्थिक वर्षमा पनि नरपानी खाचीकोट  क्षेत्रमा पर्यटन पूर्वाधारका लागि सुपादेउराली तथा अन्य ठाउँमा निर्माण भएका संरचनाहरुको संरक्षण, रंगरोगन, सिँढीहरु मर्मतलगायत पूर्वाधार निर्माण गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए ।

सन्धिखर्क नगरपालिका राजस्व शाखा प्रमुख मुक्तिराम खनालका अनुसार नगरपालिकाका सबै ठाउँमा आउने पर्यटकबाट पैसा लिने गरिएको छैन । पर्यटकबाट शुल्क लिने र त्यो  शुल्कबाट संरचना निर्माणलगायत वार्षिक आम्दानी बढाउने नगरपालिकाको लक्ष्य भएपनि हालसम्म सबै पर्यटकीय क्षेत्रमा प्रवेश नि:शुल्क रहेको र जसले गर्दा पर्यटकहरु उत्साहित हुने गरेको उनले बताए ।

गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत पर्ने नरपानी गोरुसिङ्गेबाट झण्डै ४० किलोमिटर र सन्धिखर्कबाट २० किमी दुरीमा पर्छ । याहाँ आएपछि झण्डै आधा घण्टा पैदल हिँडेपछि खाचीकोट हिलस्टेसन आउँछ ।

खाचीकोट हिलस्टेसन आएका नेपालगञ्जका पवन गिरीले याहाँबाट देखिने तराई, पहाड, हिमालका दृश्य र वातावरणले आफू साथीहरूसँग दोस्रो पटक पनि घुम्न आएको मध्यान्हसँग बताए । ‘पहिला आउँदा कम पर्यटक थिए । अहिले निकै धेरै घुम्न आउने गर्नुहुँदो रहेछ’, उनले भने, ‘हिलस्टेसनको माथि  र वरपरको संरचनालाई केही व्यवस्थित बनाइएको रहेछ । यसले पर्यटकलाई थप सहज बनाएको छ ।’

हिलस्टेसनको सुन्दरता र विशेषता सामाजिक सञ्जालमा देखेर घुम्न आएको गोरखपुरका उमेश मिश्रले बताए । ६ जनाको समूहमा पहिलो पटक यहाँ आएको भन्दै उनले यहाँ आइपुग्दा गोरखपुर र नेपालका तराईका जिल्लाको गर्मी भुलेको बताए ।

हिलस्टेसन अर्घाखाँचीको निकै चर्चित पर्यटकीय क्षेत्र बन्ने अनुमान गरिएको वडा नम्बर ७ का अध्यक्ष चुरा बहादुर केसीले बताए । उनका अनुसार यहाँ बढी भारतको गोरखपुर, बिहार, नोयडा, नेपालका बाँके, बर्दिया, नवलपरासी, रुपन्देही, दाङ, चितवन, नवलपुर, काठमाडौंलगायत शहरबाट पर्यटक आउने गरेका छन् भने प्रायः शनिबार तथा सार्वजनिक बिदाको दिन धेरै पर्यटन यहाँ आउने र सुपादेउराली मन्दिरको दर्शन गरी पिक्निक मनाउने गर्छन् ।

गएको शनिबार मात्रै तीन हजारभन्दा बढी पर्यटक यहाँ आएको सुपादेउराली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्स बहादुर केसीले जानकारी दिए । ‘यो क्षेत्रमा असोजसम्म पर्यटकको उत्तिकै संख्या रहन्छ’, उनले भने, ‘वडा, गाउँपालिका र समितिमार्फत सरसफाइ, व्यवस्थापन र रेखदेखको काम भइरहेको छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise