२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रोल्पाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ADV
सुर्य प्रकाश बुढा मगर
२०८१ जेठ २९ गते १४:०६
रोल्पाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

रोल्पा : रोल्पा जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । रोल्पाका स्थानीय तह अन्तर्गत नगरपालिका तथा गाउँपालिकालाई पालिकास्तरीय खोप समन्वय समितिहरुको आयोजनामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।

१ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी रोल्पा जिल्लाका १० वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले बताए । 'हामीले रोल्पा जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएका छौं,' सुवेदीले भने, 'अब सबै मिलेर रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न बाँकी छ, जिल्ला घोषणा पनि हामीले छिट्टै गर्छौं । त्यसका लागि सबै प्रक्रिया पूरा भएको छ कि छैन भनेर २७ जेठ २०८१ मा बसेको जिल्लास्तरीय खोप समन्वय समितिको बैठकले प्रदेशस्तरीय खोप समन्वय समितिलाई अनुगमन गर्न आग्रह गरेका छौं र मापदण्ड  पूरा भएको छ गर्नुहोस् भनेपछि हामीले रोल्पा जिल्लालाई असार पहिलो हप्ता पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दैछौं ।'

पूर्ण खोप सुनिश्चित घोषणा भएका स्थानीय तह

रोल्पा जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा पहिला २०८१ जेठ २ गते सुनिल स्मृति गाउँपालिका र अन्तिममा जेठ २५ गते गंगादेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको थियो । २०८१ जेठ ३ गते त्रिवेणी गाउँपालिका, जेठ ७ गते रोल्पा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको थियो  । यस्तै जेठ १३ गते लुङ्ग्री गाउँपालिकाजेठ १७ गते माडी गाउँपालिका जेठ १८ गते सुनछहरी गाउँपालिका, जेठ १९ गत परिवर्तन गाउँपालिका, जेठ २२ गते रुन्टिगढी गाउँपालिका, जेठ २४ गते थबाङ गाउँपालिका र जेठ २५ मा गंगादेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घोषणाका मापदण्ड

स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि नेपाल सरकारले तयार गरेको राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकाले विभिन्न १३ प्रकारका खोप नि:शुल्क लगाउनुपर्नेछ । प्रत्येक स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुले शून्य देखि ५९ महिनाको बालबालिकाको घरधुरी अनुमानित संख्या सर्वेक्षण, शून्य देखि १५ महिनासम्मका बालबालिकाको संख्या, १६ देखि २३ महिनाका बालबालिकाको संख्या, २४ देखि ५९ महिनाको बालबालिकाको संख्या, शून्य देखि ५९ महिनासम्मका बालबालिका धरधुरी सर्वेक्षण, पूर्ण खोप सुनिश्चितता घोषणाका लागि दिइएको संख्या, खोप लगाउन छुट १६ देखि ५९ महिनाका बालबालिकाको संख्या र शून्य डोज खोप पाएका बालबालिकाको संख्यालगायत सूचकको आधारमा मूल्यांकन र मापदण्डअनुसार पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise