२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जोखिमपूर्ण बन्दै कर्णाली राजमार्गको यात्रा

ADV
कुलेन्द्र शाही
२०८१ भदौ २३ गते २०:३९
जोखिमपूर्ण बन्दै कर्णाली राजमार्गको यात्रा

सुर्खेत : शनिबार कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भए । जुम्लाको सिँजादेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको फोर्स गाडी शनिबार दिउँसो कालिकोटको तिलागुफा–५ खल्लागाडमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । 

१४ सवार गाडी अनियन्त्रित भई सडकमै पल्टिदाँ ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द प्रसाद चौधरीले बताए । यो एउटा प्रतिनिधि घटना मात्रै हो ।  कर्णाली राजमार्गमा वर्षेनी यस्ता घटना सयौँ संख्यामा हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । 

राजमार्गमा सयौँ नागरिकहरुले सडक दुर्घटनामा परी अकालमै ज्यान गुमाइरहेका छन् । पहाडी भू–भाग, साँघुरा र कच्ची सडकका कारण वर्षेनी हजारौँको संख्यामा सडक दुर्घटना हुने गरेका छन् । कर्णाली राजमार्गलाईे ‘मृत्युमार्गका उपनामले समेत चिनिने गरिएको छ । यो राजमार्ग सञ्चालनमा आएको १८ वर्ष पुगेको छ । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो राजमार्गको यात्रा सधैं जोखिमपूर्ण हुन्छ । जसमा सयौँले ज्यान गुमाउँछन् भने हजारौँ घाइते हुन्छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६–२०७९/०८० सम्म मात्रै १ हजार ४ सय ७१ वटा सवारी दुर्घटना भएका छन् । 

जसमा यी दुर्घटनामा परेर ५ सय ८८ जनाले ज्यान गुमाएका छन् । यस्तै दुर्घटनामा परेर एक हजार ७० जना घाइते भएका छन् । जसमा आर्थिक वर्ष २०७५/०७६ मा १ सय ४६ सवारी दुर्घटनामा परेर ११९ को मृत्यु भएको छ भने १५० जना घाइते भएका छन् । यस्तै २०७६/०७७ मा २३६ सवारी दुर्घटना हुँदा ९७ जनाको ज्यान गएको छ भने १३१ घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

यस्तै २०७७/०७८ मा २९१ सवारी दुर्घटना हुँदा ९८ जनाको मृत्यु र १६९ जना घाइते, २०७८/०७९ मा ४ सय ३ सवारी दुर्घटना हुँदा १ सय ८० को मृत्यु र ३ सय ६२ जना घाइते र २०७९/८० मा ३ सय ४१ सवारी दुर्घटना हुँदा ९४ जनाको मृत्यु भएको छ भने २ सय ५ जना घाइते भएको तथ्यांकमा उल्लेख छ । 

सडक दुर्घटना हुनुको कारण

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत प्रमुख एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले साँघुरो बाटो, मर्मत–सुधारको अभाव, अत्यधिक घुम्ती र पुराना गाडी जस्ता कारणले धेरै दुर्घटना हुने गरेको बताए । 

उनले मापदण्ड विना बनाइएका सडकहरू, अत्यधिक साँघुरा घुम्तीहरू, सडक चिन्हको कमी, खाल्डाखुल्डी सडक र पहिरोका कारण बढी दुर्घटना हुने गरेको बताए । यस्तै सवारी चालकको लापरवाही, अत्याधिक गतिमा सवारी चलाउने, ट्राफिक सचेतनाको अभाव, ओभरटेक गर्ने प्रवृति, लामो रूटमा एउटै चालक हुनु, ओभरलोड गर्ने, सहचालकले सवारी चलाउनु, सवारी चालकबीच अनावश्यक प्रतिस्पर्धा गर्ने भएकोले दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । साथै उनले पशु चौंपायको कारणले पनि बढी दुर्घटना हुने गरेको बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले सवारी साधनको दुरुपयोगले दुर्घटना हुने गरेको बताए । उनले ट्राफिक नियमको पालना नगर्दा, सवारी साधन तीव्र गतिमा चलाउँदा, एउटाको साधन अर्काेले चलाउँदा सवारी दुर्घटना धेरै मात्रामा हुने गरेको बताए । उनले सबै आ–आफ्नो ठाउँबाट नियमबद्ध रुपमा लागिपर्ने सकेमा सवारी दुर्घटना न्यूनीकरण हुने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise