–बिदुर दाहाल
एसइई तथा कक्षा १२ को बोर्ड परीक्षामा आधाभन्दा बढी विद्यार्थी असफल भए । विश्वविद्यालयमा फेल र पासको आधिकारिक तथ्यांक पाउनै मुस्किल छ । अराजकताले भरिएको विश्वविद्यालयमा एउटा शिक्षकले चाहेर केही हुँदैन । नतिजा सुधार शिक्षकले मात्र गर्न सक्दै सक्दैन ।
विद्यालय तहको नतिजालाई लिएर सबै मिलेर शिक्षकलाई गाली गरे । शिक्षकले पढाएनन् । शिक्षकले राजनीति गरेर हिँडे । शिक्षकले पढाउन जानेनन् । पत्रपत्रिका, टेलिभिजन र सामाजिक सञ्जालमा यस्तै–यस्तै समाचार आए । विद्यार्थी होइन, राज्य प्रणाली फेल हो भन्ने कोणबाट पनि बहसहरू चले । सरकारी शिक्षकहरू मुख लुकाएर हिँडे । हुर्मत लिइयो । वास्तवमा दोष शिक्षकको मात्रै हो त ?
शिक्षकको गुनासो हुन्छ । विद्यार्थी होमवर्क गर्दैनन् । मोबाइलमा व्यस्त हुन्छन् । पढाएको कुरामा मतलबै राख्दैनन् । घरपरिवारले पढाइमा चासो राख्दैनन् । घरायसी शैक्षिक वातावरण छँदै छैन । पहिलेका विद्यार्थी धेरै पढ्थे । आजकलका विद्यार्थी पढ्दै पढ्दैनन् । शिक्षकले भनेको मान्दैनन् । उल्टो शिक्षकसँग झगडा गर्न खोज्दछन् । अनि कसरी पढाउनु ? कसरी सिकाउनु ? घोटाएर वा पिलाएर सिकाउन सकिँदैन । आदि आदि ।
सिकाई जटिल प्रक्रिया हो । सिकाइमा धेरै आयामहरू जोडिएका हुन्छन् । शिक्षकको कमजोरी एउटा पाटो होला । विद्यार्थीले नपढ्नु अर्को पाटो होला । त्यतिले मात्र पुग्दैन । यसका बहुआयाम छन् । परीक्षा प्रणाली पेपरमा लेखेको आधारमा फेल पास छुट्याउने खालको छ । व्यवहार परीक्षण कहिल्यै हुँदैन । अहिलेको सन्दर्भमा विद्यार्थी फेल हुनुको एउटै कारण छ– त्यो हो नलेख्नु । प्रश्नले खोजेको उत्तर नदिनु । प्रश्नले खोजेको उत्तर किन लेखेन विद्यार्थीले वा लेख्न सकेन ? त्यो महत्वपूर्ण सवाल हो ।
विद्यार्थीको निश्चित क्षमता हुन्छ । कतिपय क्षमता आर्जित हुन्छन् भने कतिपय क्षमता जन्मजात हुन्छन् । जन्मजात क्षमता परिवर्तन गर्न सकिँदैन । तर, वातावरण नपाएर सिक्न नसकेकालाई उपयुक्त वातावरण दिएर सिकाउन सकिन्छ ।
फेल विद्यार्थी होइन; राज्य प्रणाली हो । राज्यले विद्यार्थीको विविध क्षमतालाई बुझेन । विद्यार्थीको क्षमता फरक छ भन्ने कुरा जान्दा जान्दै सबैलाई एउटै टोकरीमा हालेर फेल÷पास भन्छ । यो नै मुख्य समस्या हो । फरक क्षमता र मन्द बुद्धि भएका विद्यार्थीहरू पनि हुन्छन् । तिनले सिक्ने पाठ्यक्रम खै ? सिकाइलाई वंशाणुगत गुण र वातावरण दुवैले प्रत्यक्ष प्रभाव पार्छन् । यो कुरालाई ध्यान दिएको गरेको खै ?
वंशाणुगत गुण
वंशाणुगतरूपमै विद्यार्थीको सिकाई क्षमता फरक–फरक हुन्छ । कतिपय क्षमता जन्मजात हुन्छ भने कतिपय जन्मँदै व्यक्तिले केही खुबी पाएको र केही नपाएको हुन्छ । हरेकमा खुबी फरक हुन्छ । त्यसलाई पहिचान गरेर सिकाइमा उपयोग गर्न सक्नुपर्छ । नमिलेको यसैमा हो । वंशको १३ औँ पुस्तासम्म गुण र क्षमता सर्छ भन्ने मान्यता छ । त्यसो हुँदा औसतरूपमा कक्षा कोठामा तीन खालका विद्यार्थी हुन्छन्– उच्च बुद्धि भएका, मध्यम बुद्धि भएका र कमजोर बुद्धि भएका । यो जन्मजात गुण परिवर्तन गर्न सकिँदैन । बरु क्षमताको पहिचान गरेर सोअनुसारका पाठ्यक्रम बनाउनु पर्छ । र, सोअनुसार सिकाउनु÷पढाउनु पर्छ । राज्यको ध्यान त्यता तिर गएकै छैन । यो मुख्य विषय हो ।
करिब २५ प्रतिशत विद्यार्थी उच्च बुद्धि÷क्षमता भएका हुन्छन् । यिनीहरूलाई विषय वस्तुको बारेमा बताएपछि वा सिकाएपछि सिक्छन् । यिनीहरूको दिमाग तीक्ष्ण हुन्छ । शिक्षकले सिकाउन अतिरिक्त प्रयास गर्नु पर्दैन । शिक्षकको सामान्य सहयोगबाटै सिक्छन् । विद्यार्थीमा स्व–उत्प्रेरणा हुन्छ । पढ्न जागरूक हुन्छन् । आफै खोजेर पढ्छन् । अनेक प्रयास गर्छन् । सिक्नुपर्छ वा पढ्नुपर्छ भन्ने स्वचेतना हुन्छ । लक्ष्य प्राप्तिमा दृढ हुन्छन् । सिकाइका अवरोधक पक्षलाई पन्छाउन कोसिस गर्छन् । के गर्नु हुन्छ, के गर्नु हुँदैन भन्ने कुरामा सचेत हुन्छन् । खाने मुखलाई जुँघाले छेक्दैन भनेझैँ सिक्न र जान्नको लागि गर्नुपर्ने सबै प्रयास गर्छन् ।
उपयुक्त सिकाई वातावरण, पर्याप्त शैक्षिक सामग्री, सक्षम शिक्षक, राम्रो घरायसी परिवेश, राम्रा साथी सङ्गति भए भने सुनमा सुगन्ध हुन्छ । विद्यार्थीले अझ राम्रो गर्छन् । शिक्षकमा मात्र भर पर्दैनन् । शिक्षकले राम्रो सिकायो भने अझ राम्रो गर्छन् । परीक्षा पास सामान्य कुरा हुन्छ यिनीहरूलाई ।
मध्यम खालका विद्यार्थी कक्षामा झन्डै ५० प्रतिशत हुन्छन् । शिक्षकले राम्रो सिकायो वा घर परिवारले सघायो वा साथी सङ्गति राम्रो छ वा सबै पक्ष सकारात्मक छन् भने यिनीहरूले पनि प्रगति गर्छन् । पहिलो समूहको तुलनामा ढिलो सिक्छन् । शिक्षकले सिकाइका लागि अतिरिक्त प्रयास गर्नुपर्छ । शिक्षकले शिक्षण कौशलता देखाउने वर्ग यही हो । शिक्षकको कोसिसले यो समूहले प्रगति गर्छ । परिवर्तन हुन्छन् । राम्रोसँग सिकायो, बुझ्ने गरी सिकायो, पटक–पटक सिकायो भने यो मध्यम बुद्धि÷क्षमता भएको वर्गले सिक्छन् । परीक्षा पास गर्छन् ।
कक्षामा तेस्रो खालको विद्यार्थी हुन्छ । जो मन्द बुद्धिका हुन्छन् । यिनीहरूले कम सिक्छन् । यिनीहरूलाई सिकाउन लामो समय लाग्छ । धेरै पटक विषय वस्तु दोहो¥याउनु पर्छ । सँगै राखेर सिकाउँदा पहिलो वर्गका विद्यार्थीलाई कक्षा कोठामा बोरिङ हुन्छ । शिक्षकको पटक–पटकको प्रयासमा मात्र यो समूहले सिक्छन् । सिकेको कुरा तुरुन्तै बिर्सन्छन् । त्यसैले यस्ता विद्यार्थीहरूलाई फरक तरिकाले सिकाई गर्नुपर्छ । ज्ञानभन्दा सीपका विषयवस्तु उनीहरूलाई सिकाउनु पर्छ । सिलाई–बुनाई, पेन्टिङ वा एकोहोरो बुद्धि लगाउने विषयहरू सिकाउनु पर्छ । मानसिकभन्दा शारीरिक श्रम गर्नु पर्ने खालका विषय वस्तु यिनीहरूले सिक्छन् । सामान्यतयाः यो वर्गका विद्यार्थीहरू नेपालको विद्यमान परीक्षा प्रणालीमा फेल हुन्छन् । लेख्नुपर्ने कुरा विद्यार्थीको दिमागले सम्झँदैनन् । फटाफट लेख्न हात चल्दैन । लेखाइ सुस्त हुन्छ । अक्षर राम्रा बनाउन सक्दैन । यो वर्गलाई फरक क्षमताका विद्यार्थी जस्तै मान्न सकिन्छ ।
क्षमता फरक भएका विद्यार्थीलाई सिकाई पनि भिन्न तरिकाले गर्नुपर्छ । जुन हाम्रा कक्षा कोठामा सम्भव छैन, शिक्षकले सिकाएन वा पढाएन भनेर गाली गर्दैमा यो समूह पास हुँदैन । कक्षा कोठामा अलग ढङ्गले व्यवहार गर्नुपर्छ । धेरैजसो विद्यालयमा यो खालको परिवेश छँदै छैन । झन्डै २५ प्रतिशत विद्यार्थी यो समूहमा हुन्छन् । यसको अर्थ झन्डै २५ प्रतिशत विद्यार्थी मन्द बुद्धिका हुने हुनाले अहिलेको परीक्षा प्रणालीमा सफल हुन सक्दैनन् । सिकाई र मूल्याङ्कन दुवै फरक तरिकाले गर्नु जरुरी छ । नेपालको शिक्षा प्रणालीले यसलाई बुझेकै छैन ।
हरेक कक्षा कोठामा फरक–फरक बुद्धि र फरक–फरक क्षमताका विद्यार्थी हुन्छन् भन्ने कुरा सबैको दिमागमा घुस्नुपर्छ । त्यसो हुँदा परीक्षामा २५ प्रतिशत प्रश्न अति कठिन चाहिन्छ । तीक्ष्ण बुद्धि भएकाले मात्र समाधान गर्न सक्नुपर्छ । ५० प्रतिशत प्रश्न मध्यम खालका बनाउनु पर्छ । यो प्रश्न जान्ने विद्यार्थी र मध्यम वर्गका आधा जसोले समाधान गर्छन् । अति सजिला प्रश्न २५ प्रतिशत बनाउनु पर्छ । यो प्रश्नको उत्तर पहिलो र दोस्रो वर्गले सजिलै समाधान गर्छन् । तेस्रो वर्गले पनि थोर बहुत मिलाउन सक्छन् । यसो गर्दा धेरै विद्यार्थी पास हुने सम्भावना हुन्छ । प्रश्न बनाउँदा यो पक्षलाई ध्यानै दिइँदैन । शिक्षकले सकेसम्म अप्ठ्यारा प्रश्न बनाउने भन्ने मान्यता छ । समस्या यसैमा छ ।
वातावरणीय पक्ष
सिकाई वातावरण परिवर्तन गर्न सकिन्छ । सिकेर नहुने कुरा यो दुनियाँमा केही छँदै छैन । सबैले सिक्न सक्छन् । खासमा रुचि भएको विषयवस्तु सिक्छन् । रुचि नभएको विषयवस्तु सिकाउन कठिन हुन्छ । त्यति मात्र होइन, सिक्न र सिकाउन वातावरण चाहिन्छ । राज्य र सरोकारवाला वातावरण निर्माणमा लाग्नुपर्छ । केस स्टडी गरेर सिकारुको अवस्था पहिचान गरी समस्या समाधान गर्न सकिन्छ । विद्यार्थीले सिक्दैन वा जान्दैन भन्ने कुरा गलत हो । उपयुक्त सिकाई वातावरण र उपयुक्त विषय वस्तु पाए भने विद्यार्थीले सिक्छन् । त्यो मात्र सत्य हो ।
ज्ञान तथा सीप बढाउन सकिन्छ । विद्यार्थीलाई अनुकूलको वातावरण दिन सकियो भने सिक्छन् । सिकौँ सिकौँ लाग्ने बनाउन सकिन्छ । सिकारुको बुद्धि र क्षमतालाई बढाउन सकिन्छ । त्यसो हुँदा विद्यालयभित्र र बाहिरको वातावरण सिकारु अनुकूलको नियन्त्रित बनाएर सिकाउन सकिन्छ । ध्यान दिनु पर्ने यसैमा हो ।
साथी समूह, घरायसी परिवेश, शिक्षकको सिकाउने शैली, उत्प्रेरणा, शिक्षकको दक्षता, सबल आर्थिक अवस्था हुँदा सिकाइमा फरक पर्छ । यी परिवर्तनीय पक्ष हुन । शिक्षक विषयवस्तुमा पोख्त छन् । सिकाई सिद्धान्तअनुसार शैक्षिक क्रियाकलाप सञ्चालन गर्छन् भने सिकाई थप प्रभावकारी हुन्छ । सिकाई विद्यार्थी मैत्री बनाउनु पर्छ । शिक्षकले विद्यार्थीको क्षमता पहिचान गरेर सिकाउँछन् भने सबैले सिक्छन् । सबै पास हुन्छन् ।
खाँचो व्यवस्थापनको हो । विद्यार्थी जान्दै नजान्ने भन्ने हुँदैन । कम जान्ने र बेसी जान्ने मात्र हुन्छन् । सबै सिकारुलाई सिकाउन सकिन्छ तर, सबैले समान ढङ्गले सिक्न सक्दैनन् । समस्या यही सोचमा छ । कमजोर स्मरण क्षमता भएका विद्यार्थीले सामान्य सीप सिक्न सक्छन् । तर, गणित, विज्ञान जस्ता स्मरण गर्नुपर्ने जटिल विषय सिक्न सक्दैनन् । फरक ढङ्गले तालिम दिएर फरक विषय सिकाउन सकिन्छ । कक्षा कोठाको सामान्य सिकाइभन्दा तालिम र विशेष सिकाई जरुरी हुन्छ । सिकाइका पाठ्यक्रम र सिकाई तरिका सिकारुको क्षमताअनुरूप हुनु जरुरी छ । बल्ल विद्यार्थीले सिक्छन् । यो कुरा राज्यले सोच्नुपर्छ ।
विद्यालयमा विषय शिक्षक दिन नसक्ने सरकारले शिक्षकलाई मात्र दोष लगाउन सुहाउँदैन । तल्लो योग्यता भएका शिक्षकले पढाउँदा कहीँ न कहीँ समस्या आउँछ । सरकारले यो आधारभूत कुरा समेत पूरा गरेको छैन । एकोहोरो शिक्षकलाई गाली गरेर मात्र नतिजा सुधार हुँदैन । मुख्य कुरा सिकाई वातावरण सुधार गर्नुपर्छ । सिकाई वातावरण सुधार गर्न अहिलेको परिवेशमा एउटा बिचरो शिक्षकले सक्दैन । बहुपक्षीय प्रयास चाहिन्छ ।
सिकाइका अवरोधक
सामान्यता अनुपयुक्त घरायसी तथा पारिवारिक वातावरण, कमजोर आर्थिक अवस्था, सिकारुको मानसिक तनाव, गलत परीक्षा तथा मूल्यांकन प्रणाली, कमजोर पठन संस्कृति, तहअनुसारको पूर्व ज्ञान÷सीप नहुनु, खराब साथी सङ्गति र सहपाठी समूह, शिक्षकको कमजोर शिक्षण शैली/विषय शिक्षक नहुनु, तालमेल नभएको पाठ्यक्रमको ठाडो र तेर्सो संरचना, फरक सिकाई क्षमताका विद्यार्थीलाई सम्बोधन गर्न नसक्नु, रुचि÷क्षमताअनुसारका विषय छनौट अवसर नहुनु, शैक्षिक सामग्री तथा भौतिक पूर्वाधारको कमी हुनु, कमजोर शैक्षिक वातावरण र व्यवस्थापन हनुलगायतका कुरा अवरोधको रूपमा रहेका छन् ।
माथि उल्लेख गरेका पक्षहरू सकारात्मक छन् भने सिकाई राम्रो हुन्छ । नकारात्मकता बढी हुँदा सिकाई कमजोर हुन्छ । त्यस्ता पक्षलाई व्यवस्थापन गरी सिकाई प्रभावकारी बनाउन सकिन्छ । शिक्षकको एक्लो प्रयासले मात्र सिकाई परिवर्तन हुँदैन । नेपालको राज्य व्यवस्थाले शिक्षकलाई एउटा बिचरो प्राणी बनाएको छ । सबै वातावरण उसले सुधार गर्न सक्दैन । यद्यपि, शिक्षक महत्वपूर्ण अङ्ग हो । यसमा कुनै दुई मत छैन । सिकाई सुधार र सफलता प्राप्तिका लागि राज्य, घरपरिवार, शिक्षक, सिकारु सबै लाग्नुपर्छ । राज्यले शैक्षिक लगानी बढाई शैक्षिक प्रणाली परिवर्तन गर्नुपर्छ । आवासीय विद्यालय र राम्रा शैक्षिक ल्याब बनाएर अवस्था सुधार गर्न सकिन्छ । रुचि परीक्षण गरेर सोअनुरूपको अध्ययन क्षेत्रमा लाग्न विद्यार्थीलाई परामर्श दिनुपर्छ । बल्ल विद्यार्थीलाई सिकाउन सकिन्छ । यो खालको शैक्षिक वातावरण बनाउने मूल दायित्व राज्यको हो । शिक्षक, विद्यार्थी र समाज राज्यका सहयोगी अङ्ग हुन । यी एक अर्कामा परिपूरक हुन्छन् । सबैको भूमिका र सहयोगबाट मात्र नतिजा राम्रो निकाल्न सकिन्छ । विद्यार्थी सफल हुन्छन् ।
यी सबै कुराको लागि राज्यको शैक्षिक प्रणाली र व्यवस्थापन परिवर्तन अत्यावश्यक छ । उपयुक्त शैक्षिक वातावरण नबनेको वर्तमान अवस्थामा असफलताको भारी शिक्षकले मात्र बोक्न सक्दैन । विद्यार्थीको असफलतामा राज्य प्रणाली बढी दोषी छ । विद्यार्थी मात्र फेल होइन; राज्य प्रणाली फेल हो ।