–नरेन्द्रमान श्रेष्ठ
नेपालको कला, संस्कृति र सांस्कृतिक सम्पदा विश्वमै चर्चित छ । नेपालको र नेपालीको पहिचान भनेकै देशको प्राकृतिक स्रोत, प्राकृतिक सौन्दर्य, जात्रा–पर्व र सांस्कृतिक सम्पदा नै हुन् । नेपालका कतिपय सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत पनि छन् । नेपाललाई जलस्रोतको धनी देश र कृषि प्रधान देश भनेर चिनिन्छ । यद्यपि, विगतमा कृषि प्रधान भनिँदै आएको भए पनि आजको अवस्थामा नेपाल आयातमुखी कृषि प्रणालीमा निर्भर भइरहेको देखिन्छ । तर जस्तोसुकै परिवर्तन आए पनि नेपालको मौलिक पहिचान भनेको यहाँको कला, संस्कृति र सम्पदामा नै निहित छ भन्नेमा दुईमत छैन ।
संस्कृति हाम्रो सुन्दरता हो, संस्कृति हाम्रो पहिचान हो र सम्पदा हाम्रो बहुमूल्य गहना हो । तर दुःखको कुरा, यसको महत्व हामीभन्दा विदेशीले बढी बुझेका छन् भन्दा पनि फरक नपर्ला । यही कारणले नेपालका सांस्कृतिक सम्पदाले विदेशीलाई आकर्षित गरिरहेको छ । लाखौं विदेशी पर्यटकहरू हरेक वर्ष नेपाल भ्रमणमा आउँछन् र यहाँको प्राकृतिक सौन्दर्य, कला, संस्कृति र सम्पदाबाट मोहित हुने गर्छन् । नेपालको सम्पदा नै हाम्रो गौरव हो भन्नेमा कुनै संकोच छैन । यस्ता सम्पदाहरूको संरक्षण, संवर्धन र प्रचार–प्रसार आजको आवश्यकता बनेको छ ।
एकातिर विदेशी पर्यटकहरू नेपाली कला र सांस्कृतिक सम्पदामा रमाइरहेका छन् भने अर्कोतिर हाम्रै युवा पुस्ता भने त्यसतर्फ आकर्षित नभएको देखिन्छ । आजका युवाहरू विदेशी, विशेषगरी पश्चिमी संस्कृतिको पछि लागिरहेका छन् । पछिल्लो समय देशका अधिकांश क्षेत्रमा पश्चिमी संस्कृति प्रभाव जमाउँदै गएको छ । यसको असर हाम्रा मौलिकता, वेशभूषा, भाषा, नृत्य, जात्रा, पर्व, मेलापात, रीतिरिवाज, गीत–संगीत, भजन, मन्दिर, चैत्य, गुम्बा र ढुंगेधारा आदि सबैमा परेको छ ।
यदि यिनको संरक्षणप्रति हामी गम्भीर भएनौं भने निकट भविष्यमा यी सम्पदाहरू विस्थापित हुने खतरा छ । कतिपय सरोकारवालाहरूले यसप्रति चिन्ता व्यक्त गरिसकेका छन् । यस्तो देखिन्छ कि हामीले आफ्ना युवाहरूलाई हाम्रो सम्पदा र संस्कृतिको महत्व बुझाउन सकेका छैनौं । अर्कोतर्फ, देशका स्रोत र सम्पदाको उचित व्यवस्थापन गर्न पनि सरोकारवालाहरू असफल देखिन्छन् ।
देशको कला, संस्कृति र सम्पदाबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ भन्ने चेतना युवापुस्तामा विकास गर्नु आजको आवश्यकतामध्ये एक हो । यदि हाम्रा युवाहरू सम्पदा संरक्षणप्रति सचेत भएनन् भने कतिपय बाह्य शक्ति वा आप्रवासीहरूले यिनको अतिक्रमण गर्ने खतरा अझै बढ्न सक्छ ।
२०७२ सालको विनाशकारी भूकम्पले काठमाडौं उपत्यकाका थुप्रै सम्पदालाई गम्भीर क्षति पुर्यायो । तर एक दशक बितिसक्दा पनि ती सम्पदाको पुनर्निर्माण पूरा हुन सकेको छैन । आज पनि थुप्रै सम्पदा जीर्ण अवस्थामा छन् । यदि यसमा गम्भीर ध्यान दिइएन भने यिनलाई विश्व सम्पदा सूचीबाट हटाउने अवस्था आउन सक्छ । यो अत्यन्तै गम्भीर विषय हो तर सम्बन्धित निकायहरूले यसलाई गम्भीरतापूर्वक नलिएको जस्तो देखिन्छ ।
आज मुलुक नै भ्यु टावरको सहर बन्ने दौडमा लागिरहेको छ । टोलटोलमा रहेका ऐतिहासिक मठ–मन्दिर, गुम्बा, चैत्यहरूलाई संरक्षण र संवर्धन गर्ने सट्टा, ठुलाठुला भवन, सभा–सम्मेलनका हलहरू, स्टेडियम निर्माणतर्फ प्राथमिकता दिइएको देखिन्छ । काठमाडौंलाई हेरिटेज सिटी बनाउने सोचभन्दा स्मार्ट सिटी बनाउने होडबाजी चलिरहेको छ ।
कला, संस्कृति र सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यकाले नेपाललाई विश्वमा छुट्टै पहिचान दिलाएको छ । यिनको संरक्षण, संवर्धन र प्रचारप्रसार गर्नु सबैको कर्तव्य हो । यद्यपि, काठमाडौंका केही महानगर र सम्पदा संरक्षण अभियन्ता यस दिशामा लागिपरेका छन् भन्ने कुरालाई पनि बेवास्ता गर्न मिल्दैन । अन्त्यमा, नेपालको पहिचान नै यहाँको मौलिक कला, संस्कृति र सम्पदा हो । यसको संरक्षणमा सरकार, स्थानीय निकाय, नागरिक समाज र सम्पूर्ण नेपालीले साझा प्रयास गर्न आवश्यक छ ।