२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

पितृ सम्मान तथा कुश भित्र्याउने पर्व

shivam cement
२०८२ भदौ ७ गते ०६:१५
पितृ सम्मान तथा कुश भित्र्याउने पर्व

–विश्वनाथ खरेल

भनिन्छ ‘पितृदेवो भवः’ यो वैदिक शिक्षा पद्धतिलाई मौलिक आदर्श कायम राख्दै शैक्षिक, सांस्कृतिक र परम्परागत पर्वका रूपमा पितृ सम्मान पर्वका रूपमा नेपाललगायत विश्वभरि हिन्दुहरूले मनाउँदै आएका छन् । फलतः हामी धर्म संस्कृतिमा धेरै नै धनी छौं । यसमा खासगरी आमाको मुख हेर्ने औँसी, बाबुको मुख हेर्ने कुशे औँसी, गुरुको महत्व भएको गुरु पूर्णिमा, दिदी–बहिनीको लागि तिज र दाजुभाइलाई भाइटिका रहेको छ । यी सबै सन्दर्भलाई हेर्दा, अनेकौँ चाडपर्वमा आध्यात्मिक भावनाका साथै, सामाजिक अनुशासन, मर्यादा, त्याग अनि कृतज्ञताको भावना पनि पाइन्छ । हाम्रा सम्पूर्ण चाडपर्वका शुभ–पुण्य दिनहरूमा ईश्वर, जीव र जगतलाई आध्यात्मिक तथा भौतिक समन्वयात्मक भावनाले जीवन अगाडि बढ्न–बढाउन प्रेरणा प्रदान गरिरहेको देखिन्छ । 

सामाजिक सुसंगठन पनि यी पर्वमा देखिन्छन् । यसैले संस्कृति र परम्परा भनेको सभ्य मानिसका सभ्यताका परिचायक हुन् । कुनै समाज वा कुनै राष्ट्र कति पुरानो वा कति सभ्य छ भन्ने कुराको पहिचान संस्कृति र परम्पराबाट गरिन्छ । हिन्दु धर्म र संस्कृति मानव मात्रको प्राचीन संस्कृति हो र यो सनातन वैदिक कालदेखि कुनै न कुनै रूपमा चल्दै आएको छ । यसरी नै मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः, अतिथिदेवो भवः यी हाम्रा शिक्षाका आदर्श वाक्य हुन् । हाम्रो संस्कृति आशावादी छ । हामीलाई जीवनअघि र मृत्युपछि पनि आफ्ना सन्तानप्रतिको आशा एवं ममता रहन्छ । यी कुराहरूलाई मध्यनजर राखेर नै हाम्रो इतिहास, धर्म, संस्कृति यिनै कुराका प्रमाण हुन् । 

यसैले आजको दिन आफ्नो जन्म दिने र हामीलाई हुर्काउने, बढाउने, सत्कर्म, शिक्षादीक्षा दिलाई योग्य बनाउन निरन्तर प्रयास गर्ने आफ्ना बाबुको श्रद्धापूर्वक दर्शन गरी पाउमा परेर हार्दिकता देखाउने दिन हो । यही स्नेह–सम्बन्धबाट हाम्रो समाज बाँधिएको छ । तुलनात्मक दृष्टिकोणले हेर्दा, हाम्रो परम्परा र संस्कृति दूरगामी, प्रकाशमय, जन्म–जन्मान्तरको आत्मीय भावनाले भरिपूर्ण भएको पाइन्छ । अन्य संस्कृतिमा भने यस्तो भावनात्मक प्रखरता पाइँदैन । वस्तुतः हाम्रो धर्म–संस्कृतिअनुसार हरेक मनुष्यलाई तीन ऋणको दायित्व हुन्छ । ती हुन– देवता, पितृ र ऋषि ऋण । यी तीन ऋणबाट उऋण भई कृतज्ञ हुनुपर्दछ । यसका लागि पितृप्रति श्रद्धा गरिन्छ । दिवङ्गत पितृको श्राद्ध–तर्पण, आयुर्दा, सन्तान, विद्या, धन, स्वर्ग, मोक्ष, सुख, राज्य, समृद्धि, ऐश्वर्य आदि प्राप्त हुन्छ भन्ने स्मृति शास्त्रको भनाइ छ । 

हाम्रो धर्म शास्त्रको भनाईअनुसार बाबु पाँच किसिमका हुन्छन् भनेका छन्– आचार्य चाणक्यले । यिनमा जन्म दिने बाबु, संस्कार सिकाउने गुरु, विद्या दिने गुरु, अन्न दिने र भयबाट मुक्त गर्ने पर्छन् । यसरी नै बाबुलाई संस्कृत भाषामा जनक, पिता आदि भनिन्छ । जनकको अर्थ जन्म दिने हुन्छ । वैदिक ग्रन्थमा बाबुलाई देवताजस्तै मान्नुपर्छ भनिएको छ । यसर्थ, बाबु खुसी भए सबै देवता खुसी हुन्छन् भन्ने पौराणिक कथन छ । त्यसैगरी, धर्मशास्त्रले बाबुलाई पुष्कर तीर्थको संज्ञा दिएको छ । त्यस्तै, गरुड पुराणले जसका बाबु खुसी भएका छन्, उनीहरूलाई असल सन्तान प्राप्त हुन्छन् भन्ने उद्घोष गरेको छ । अतः बाबुको सेवा गर्दा भगवान् खुसी भएर वरदान दिन आएका प्रसङ्ग पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । 

पितृ भक्तिका कारण भरद्वाज ऋषिका सात भाइ छोराले परिबन्दवश लाग्न आएको गोवधजन्य अपराधबाट मुक्ति पाएका प्रसङ्ग हरिवंशमा भेटिन्छ । त्यस्तै, द्वारका निवासी शिव शर्माका पाँच भाइ छोरा यज्ञ शर्मा, वेद शर्मा, धर्म शर्मा, विष्णु शर्मा र सोम शर्माले पितृ भक्तिकै कारण देव दुर्लभ कर्म गर्न सफल भएको कुरा पद्मपुराणले गरेको छ । पितृ भक्तिकै कारण ब्राह्मण शिरोमणि परशुराम चिरञ्जीवी बनेका थिए भने गणेशले अग्र पूजाको अधिकार पाएका थिए । महारथी भीष्मले इच्छा मृत्यु र अर्जुनले कर्णमाथि विजय पाउनुका कारण पनि पितृ भक्ति नै थियो । रामायणका अनुसार बाबुको आज्ञाले भगवान् राम १४ वर्षका लागि वनवासमा गएका थिए भने श्रवणकुमारले बोकेर तीर्थाटन गराई वृद्ध बाबुआमाको इच्छा पूरा गरेका थिए । बाबुको खुसीका लागि महारथी भीष्म अखण्ड ब्रह्मचारी रहेका थिए । ब्राह्मण शिरोमणि परशुराम मातृ हत्यामा समेत तत्पर भएका थिए । 

कृष्णले आफू स्वयम् सक्षम हुँदाहुँदै पनि बाबुको मान राख्न जन्मनासाथ गोकुल लगिदिन आग्रह गरेका प्रसङ्ग भागवतमा व्यासले उठाएका मात्र छैनन्, कंशवधपछि कृष्णले सर्वप्रथम आमाबाबुकै उद्धार गरेका प्रसङ्गसमेत उठाएका छन् । तसर्थ, स्वस्थानी व्रत कथामा पनि गोमा ब्राह्मणीका छोरा नवराजको पितृ भक्ति पनि उत्तिकै चर्चित भएको उल्लेख गरिएको छ । 

हिन्दु शास्त्रीय विधानअनुसार प्रत्येक देव कार्य, पितृ कार्य र संस्कार आदि कार्य सुसम्पन्न गरिँदा कुशको आवश्यकता पर्दछ । पितृ आमावास्या अथवा गोकर्णे औँसीको दिनलाई कुशे औँसी पनि भन्ने चलन छ । यसरी यसै दिन ब्राह्मण पुरोहितका हातबाट नयाँ कुश ग्रहण गरी त्यसैले वर्ष दिन भरको देव पितृ कार्यहरू सम्पन्न गरिन्छ । त्यस दिन बाहेक ब्राह्मणहरूले अरू दिन कुश काट्दैनन् । कुश भनेको एक प्रकारको धार्मिक दृष्टिबाट पवित्र झार हो । कुश उत्पत्तिको बारेमा विभिन्न धार्मिक शास्त्रहरूमा आ–आफ्नो किसिमको मतभेद पाइन्छ । अतः श्रीमद्भागवत महापुराणका अनुसार लोक रक्षक भगवान् विष्णुले पृथ्वीको उद्धार कार्य गर्नका लागि जब बराह अवतार लिनुभयो, त्यतिखेर हिरण्याक्षलाई वध गरी पृथ्वीको रक्षा गरिसकेपछि आफूलाई थकाइको अनुभव हुँदा समुद्र किनारमा विश्राम गर्नुभयो । त्यसरी विश्राम गर्दा बालुवामा झरेका भगवानका रौँबाट कुश उत्पन्न भएको हो भन्ने कुरा उल्लेख छ । यसरी कुशको विशेष सम्बन्ध पितृ कार्यसँग रहेको पाइन्छ । प्रत्येक वर्ष आउने भाद्र महिना कृष्ण पक्षको यो औँसी तिथिलाई कुशे औँसी भनिन्छ । हाम्रा धर्म, संस्कृति, परम्पराअनुसार सम्पूर्ण शुभ कार्यहरू, शुभ संस्कारहरूमा चाहिने पवित्र वनस्पति तत्व कुशलाई ब्राम्हणहरूद्वारा हिन्दु मात्रका घर–घरमा वितरण गरिन्छ ।

अन्त्यमा भन्नुपर्दा, यस संसारमा जन्म लिएका हरेक सन्तानले पिताको सम्मान गर्ने वैदिक कालदेखि नै परम्परा विकसित भएको पाइन्छ । यसरी आजको दिनमा पिता जीवित हुनेले मीठा मीठा पकवान तयार पारी खुवाउने, न्याना उपयोगी कपडाद्वारा सम्मान गर्ने, बुवाको मुख दर्शन गर्ने र प्रणाम गर्ने चलन रहेको छ भने पिताको देहावसान भइसकेकाहरूले चाहीँ पितृ मुक्तिको कामना गर्दै पितृ तर्पण वा दान दक्षिणा गर्ने गर्दछन् । यसको साथसाथै पिताको स्मृतिमा कतिपयले यसै दिन गुरुकुल, पाठशाला, मठमन्दिरमा रहेका पराश्रित बटुक, ब्राह्मण र साधु सन्तलाई भोजन गराउने, वस्त्र दान गर्ने, त्यस्तै पिताको नाममा अक्षयकोष खडा गर्ने, धारा, पाटी पौवा, चौतारा, धर्मशाला आदि निर्माण गर्नेजस्ता सुकार्य गर्ने परम्परासमेत रहेको पाइन्छ । यसरी बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदा दान गरेमा पुण्य मिल्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । 

यो ब्रह्माण्डमा जन्म दिने आमा–बाबु र शिक्षा दिने गुरुलाई वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले जीवित देवताका रूपमा मान्ने गर्दछन् । यसरी देव कार्य, पितृ कार्यलगायत अन्य कार्यहरू गर्दा कुशविना कार्य सम्पन्न हुन सक्दैन । त्यसैले हरेक पुण्य कार्यहरू अर्थात् पितृ तथा देव कार्य जस्तै ः नुहाउँदा, जपस्नान गर्दा, दान गर्दा, पाठ पूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दु धर्मावलम्बिहरुले महत्वका साथ हेर्दछन् । तसर्थ, हिन्दूधर्मको दैनिकी र संस्कारहरू अत्यन्तै वैज्ञानिक छन् । यसैकारणले गर्दा नै गीता र वेद नै आविष्कारका जननी हुन् ।

ADV

सम्बन्धित खबर

Advertise