२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

प्रकृतिबाट टाढा जाने दुस्साहस

ADV
२०८१ जेठ ३० गते ०६:३०
प्रकृतिबाट टाढा जाने दुस्साहस

–खगेन्द्र पौडेल

प्रकृति जति आवरणमा सुन्दर छ, त्यति नै आन्तरिक रहस्य र शक्तिले पनि पूर्ण छ । नदीनाला, वनजङ्गल, पशुप्राणी, हिमाल पहाड, छाँगा–छहरा र अनेकन बोटबिरुवाको समन्वयले प्रकृति शोभनीय बनेको हुन्छ । नदी, झरना हाम्रो मानव जीवनका सबैभन्दा प्रिय प्रतिविम्ब हुन् । हिमालको फेदबाट सागरको अतल गहिराइसम्मका यात्रा नै नदीको जीवन कहानी हो । वनजङ्गल र खोलानालाले यसबीचमा जे–जस्ता अनुभूतिहरू सँगाल्छन्, ती सबै अनुभूतिहरू सागरमा समर्पण गर्नु सबै यो प्रकृतिको माया प्रेम नियति नै हो । 

यी वनजङ्गल खोलानाला र नदी झरनाहरू उसको बगाइमा सबै ऋतुहरू क्रमशः पोखिन आइपुग्छन् । वर्षातदेखि लिएर वसन्तसम्मका अनुभूतिहरूका भिन्न–भिन्न रङ लिएर वर्षौँदेखि यसरी नै बगिरहेको हुन्छ । वरपर भीर, पहरा र वनजङ्गलमा पलाएका पालुवाको दर्शन गर्दै गन्तव्यतिर एक नासले हिँडिरहेको देखिन्छ । सायद नदीहरू वसन्तमा सर्वाधिक शान्त हुने गर्दछन् । नदीको पानी यति सङ्लो हुन्छ कि भित्रका ढुङ्गा र बालुवा पनि प्रष्ट देखिन्छन् । तर, यो आजको मानिसहरूको गलत कामको कारण भताभुङ्ग हुन थालेको छ । 

हिजोको जस्तो जनचेतना आजको दिनको मानिसहरूमा पलाउन सकेको छैन । हिजो हरियाली भएको वनमा आगो लगायौं, साना–साना रूखहरू कटानी गर्‍यौं, गाईवस्तु छोड्यौं अब भोलि कसले सोचिदिने, यो हामीले सोच्ने दिन आउन सकेको छैन । समयक्रमसँगै प्रकृतिको स्वरूप बदलिँदो छ । मानवीय क्रियाकलापले प्रकृतिका नियमहरू परिवर्तन भइरहेका छन् ।

अर्कोतर्फ नेपाल क्रमशः पर्यटकीयको देशको रूपमा विकास भइरहेको छ । हाम्रो प्राकृतिक सम्पदा हेर्नकै निम्ति विदेशबाट मानिसहरू आइरहेका छन् । जसको प्रभाव पनि यहाँको प्रकृतिमाथि पनि परिरहेको छ । पर्यटक पनि प्राकृतिक आनन्द लिन नै आउने हुन् । तर, हाम्रो व्यवस्थापकीय कमजोरीका कारण हाम्रो प्रकृतिमाथि थप असर परिरहेको छ । 

आज सहरी संरचना प्रकृति अनुकुल छैन । सडक अनि पूर्वाधार निर्माण मनपरी शैलीमा भएका छन् । सहर कंक्रिटै कंक्रिटले भरिँदा गाउँ पनि व्यवस्थित बन्न सकिरहेका छैनन् । नयाँ बन्ने शहरहरुभित्र पनि उस्तै भद्रगोलको अवस्था छ । जसले एकातिर सुन्दर प्राकृतिक संरचनालाई भताभुंग पारिरहेको छ भने अर्कोतिर मानवका लागि बस्तीहरू बस्न योग्य बनाएको छैन । 

विडम्बनाको विषय, आज काठमाडौंसहित मुख्य सहरका नदीहरू लुप्त भएका छन् । नदी पानी बग्ने होइन, ढल बग्ने बनेका छन् । जसको प्राकृतिकरूपमा रहने महत्व बिथोलिएको छ । जसको सौन्दर्य सकिएको छ । जुन सुधारतर्फ होइन, थप बिग्रनेतर्फ उन्मुख छ ।

प्रकृतिभन्दा बाहिर जान खोज्नु हाम्रो दुस्साहस हो । यो दुस्साहसले हामीलाई जोगाउँदै । यदि हामी समयमै सच्चिन सकेनौ भने त्यसको गलत परिणाम पनि हामीले नै भोग्नुपर्नेछ । विकसित देशहरूले आफूलाई सच्याउन थालेका छन् । प्रकृतिसँग नजिकिने वातावरण बनाउन थालेका छन् । जुन सिकाइलाई हामीले आत्मसाथ गर्नैपर्छ । हाम्रा बस्तीहरू प्रकृतिमैत्री, हाम्रा व्यवहारहरू प्रकृतिमैत्री हुनैपर्छ । प्रकृति अनुकुल भएमा मात्रै हामी जोगिन्छौँ भन्ने कुरालाई हेक्का राख्नुको विकल्प छैन । 

ADVADV

सम्बन्धित खबर

Advertise