–राजन तिमिल्सिना
विद्यालयमा विज्ञान प्रयोगशाला बनाउनुको सट्टामा सरस्वती र गणेशको मूर्ति स्थापन गर्ने प्रचलन अझैसम्म हटेको छैन । शिक्षकहरू स्वयम्मा अन्धविश्वास र रुढीजन्य चेतनाले राज गरिरहेको दह्रो प्रमाण पनि यही हो । श्रमिकहरूले कुदेका मूर्ति र निर्माण गरेका मन्दिरहरू निर्जीव हुन्, यिनीहरूको चेतना र विवेक हुँदैन भन्ने कुरा समेत शिक्षकलाई थाहा छैन । पत्थरलाई पूजा गरे पनि नगरे पनि, फूल अबिर चढाए पनि नचढाए पनि, फलफूल चढाए पनि नचढाए पनि उसले राम्रो या नराम्रो कुनै प्रतिक्रिया जनाउन सक्दैन भन्ने सामान्य ज्ञान र चेतना समेत नभएका शिक्षकहरूले कस्तो खाले जनशक्ति उत्पादन गरिरहेका छन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।
निर्जीव ढुङ्गाहरूबाट देवता बनाए पनि, भवन बनाए पनि, ढुङ्गाको गुण र सारतत्व एउटै हुन्छ र त्यसले मानव जीवनलाई केही कुराको फरक पार्न सक्दैन भन्ने समेत ज्ञान नहुनु विडम्बनापूर्ण हो । ढुङ्गाको आवश्यकताअनुसार प्रयोग गर्नु राम्रो कुरा हो तर, त्यसलाई जीवित मानिसको भन्दा माथिल्लो दर्जा दिनु र उसले मानिसको मनोकांक्षा पूरा गर्छ भन्ने सोच्नु अज्ञानता र मूर्खता सिवाय केही होइन । चीन, जापान जस्ता देशहरूमा चार/पाँच कक्षा पढ्ने विद्यार्थीले प्रयोगात्मक शिक्षाको माध्यमबाट, घडी, मोबाइल, कम्प्युटर बनाउन सिक्छन् । त्यहाँबाट उत्पादित जनशक्तिले अन्तरिक्ष जाने लिफ्ट र अन्य जटिल यान्त्रिक उपकरणहरू निर्माण गरिरहेका छन् । त्यहाँ हरेक विद्यालयमा विज्ञान प्रयोगशाला अनिवार्य हुन्छ । त्यहाँ सरस्वती, गणेश जस्ता पात्रलाई न शिक्षकले चिन्दछन्, न विद्यार्थीले नै चिन्दछन् । हाम्रो देशका शिक्षकको चेतना स्तर, विश्व दृष्टिकोण, तार्किक क्षमता, विवेकीपना, रचनात्मक दूरदर्शिता, शिक्षण विधि, शैक्षिक गुणस्तर, जिज्ञासुपना आदि आधारमा वर्गीकरण गर्दा उनीहरूले, हली, गोठाला, ज्यामी, द्वारपाले भन्दा राम्रो जनशक्ति उत्पादन गर्न सक्दैनन् भन्ने कुरा ठोकुवासाथ भन्न सकिन्छ ।
शिक्षकहरूमा विषयको गहिरो ज्ञान, भौतिक जगत, मानव समाज र विज्ञानका सिद्धान्त, अवधारणा र तथ्यहरू बारे यथेष्ट जानकारी हुनुपर्दछ । विभिन्न विषयहरू जस्तै– विज्ञान, इतिहास, समाजशास्त्र, गणित र सम्बन्धित विषयका बारेमा अतिरिक्त ज्ञान भएन भने शिक्षकले आफ्नो दायित्व निर्वाह गर्न सक्दैन । विज्ञान शिक्षकले विज्ञान विभिन्न शाखाहरू जस्तै : भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, इलेकट्रोनिक्स विज्ञान, खगोल विज्ञान, कम्प्युटर विज्ञान आदिको आधारभूत ज्ञान हुनु आवश्यक हुन्छ । विज्ञानका जटिल विषयहरूलाई प्रयोगात्मक तथा सरल तरिकामा प्रस्तुत गर्न सक्ने क्षमता समेत हुनुपर्दछ ।
शिक्षकसँग नयाँ नयाँ जानकारी, प्रविधि र पद्धतिहरूको बारेमा अनुसन्धान गर्न र नवीन ज्ञान प्राप्त गर्न सधैँ उत्सुकता र इच्छाशक्ति हुनुपर्छ । विद्यार्थीहरूलाई तथ्यको आधारमा अनुसन्धान पद्धतिद्वारा अध्यापन गराई सोही पद्धति अनुसार सिक्न प्रेरित गर्नु पर्दछ ।
शिक्षकले सम्बन्धित विषयका अवधारणाहरूलाई रोचक, रचनात्मक र कलात्मक ढङ्गले प्रस्तुत गर्न सक्नुपर्छ । शिक्षकले पठन–पाठन प्रक्रियामा प्रयोगशालाको प्रयोग, शारीरिक व्यायामहरू, विभिन्न वैज्ञानिक, समाज शास्त्री, अन्वेषक, अध्येता, खोजकर्ताहरूका नयाँ–नयाँ तथ्यहरूलाई उदाहरण दिएर प्रस्ट्याउन सक्नु पर्छ । शिक्षकको संवाद कौशल उच्चस्तरीय हुनुपर्छ । आफ्नो पाठ्यक्रमका जटिल विषयहरूलाई सरल, स्पष्ट, तथ्यपरक र रोचक तरिकाले बुझाउन सक्षम हुनुपर्छ ।
शिक्षकले विद्यार्थीहरूका प्रश्नहरूको धैर्यपूर्वक सही उत्तर दिनु, उनीहरूको विचार र दृष्टिकोणलाई सम्मान गर्नु र उनीहरूको कमजोरीलाई सुधार्ने अवसरका रूपमा लिन सक्ने हुनु आवश्यक छ । शिक्षकले कम्प्युटर, इन्टरनेट, र अन्य डिजिटल स्रोतहरूको ज्ञान र प्रभावकारी प्रयोग गर्न जान्नुपर्छ । ई–लर्निङ, अनलाइन स्रोत, र डिजिटल उपकरणहरूको उपयोग गरेर शिक्षण विधिलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सक्नुपर्छ ।
शिक्षकले विद्यार्थीहरूलाई विज्ञानप्रति रुचि बढाउने, खोज, अनुसन्धान गर्ने, प्रयोगात्मक विधि अपनाउन र उनीहरूको जिज्ञासालाई बढवा दिने वातावरण सिर्जना गर्न सक्षम हुनुपर्छ । विज्ञानका नयाँ अनुसन्धान र खोजहरू निरन्तर परिवर्तनशील हुन्छन् । शिक्षकले यस किसिमको परिवर्तनलाई सहजै स्वीकार गर्न सक्ने र शिक्षण विधिमा समायोजन गर्न सक्नुपर्छ । शिक्षकले इमानदारिता, पारदर्शिता र नैतिक मूल्यहरूको पालना गर्नुपर्छ । विद्यार्थीहरूले शिक्षकबाट नै यस्ता कुरा अनुसरण गर्ने भएकाले शिक्षकले हमेसा यी गुणहरू विकसित गर्ने र व्यवहारमा प्रदर्शन गर्ने प्रयास गर्नुपर्छ ।