इन्जिनियर पंकज जलान अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघका संस्थापक अध्यक्ष हुन् । नेपालको आइटी क्षेत्रमा २५ वर्षदेखि अध्ययन गराइरहेको लर्डबुद्ध एजुकेसन फाउन्डेसनको अध्यक्ष समेत रहेका जलानले नेपालमा पहिलो आइटी कलेजमा खोलेका थिए । सिप र प्रविधिको विकास र नेपालको शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा कसरी बनाउन सकिन्छ भन्ने विषयमा मध्यान्हका छबि सापकोटाले कुराकानी गरेका छन् ।
नेपालमा उच्च शिक्षाको लागि आइटीको सम्भावना कस्तो छ ?
नेपालमा उच्च शिक्षामा आइटी क्षेत्रको राम्रो सम्भावना छ । आइटी बाहेक पनि अन्य विषयमा उच्च शिक्षा अध्ययन गर्नको लागि हरेक स्तरको कलेजमा राम्रो पढाइ हुने गर्छ ।
तर, यहाँ विद्यार्थीलाई हामीले सचेत गराउनु पर्ने छ । अहिले विद्यार्थीको दिमागमा भने नेपालमा त जागिर नै पाइँदैन भन्ने भ्रम छ । विदेश गयो भने सजिलै जागिर पाइन्छ भन्ने छ । तर, वास्तविकतामा त्यस्तो अवस्था छैन । त्यहाँ पनि अवस्था गाह्रो नै छ । तर, अहिले प्राविधिक ज्ञान हुने हो भने पार्ट टाइम जागिर खोज्दा नेपालमा पनि हरेक क्षेत्रमा पाइन्छ ।
हाम्रा विश्वविद्यालयले पनि सिप अनुसारको शिक्षायुक्त विषय पढाएका छन् । अब पास हुनलाई पढ्ने समय होइन । पास फेलसँग मतलब भन्दा पनि सिपको खोजी हुन थालेको छ । सिप भयो भने मात्र बजारले स्वीकार गर्छ ।
उच्च शिक्षामा विदेशी विद्यार्थी ल्याउनका लागि के गर्न सकिन्छ ?
हामीकहाँ १९९८ देखि नै विदेशी विश्वविद्यालयको कार्यक्रम सुरु भएको हो । लर्डबुद्ध कलेज नेपालको पहिलो आइटी कलेज र पहिलो विदेशी विश्वविद्यालय सम्बोधन प्राप्त गर्ने कलेज पनि हो । पछिल्लो समयमा नेपालका धेरै कलेजले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिइरहेका छन् ।
तर, अन्तर्राष्ट्रिय स्तरको विद्यार्थी ल्याउनलाई सरकारले विद्यार्थी भिसा खोल्न आवश्यक छ । अहिलेसम्म त्यो अवधारणा नेपालमा छैन । विद्यार्थी भिसाको लागि निजी क्षेत्रका कलेज सञ्चालकले विगत तिन वर्षदेखि आवाज उठाइरहेका छन् । तर, कार्यान्यवन तथा सुनुुवाइ भने भएको छैन । अन्तर्राष्टिय शिक्षा प्रदायक संघबाट प्रधानमन्त्रीदेखि शिक्षा मन्त्री नियामक निकाय सबैलाई ध्यानाकर्षण गराइरहेका छौँ ।
यसपालि चाहिँ सरकारले विद्यार्थी भिसा दिने भनेर बजेटमा त लेखेको छ तर, त्यसको नियमावली बनिसकेको छैन । नियमावली बनाउने र सबै देशबाट विद्यार्थी भिसा पाउने व्यवस्था गर्ने हो भने नेपाल उच्च शिक्षाको हब बन्न धेरै समय लाग्दैन । त्यसपछि हामीले स्टडी इन नेपाल क्याम्पेन सुरु गरेपछि नेपालमा उच्च शिक्षा अध्ययन गर्न विदेशी विद्यार्थी आउने सम्भावना निकै उच्च छ ।
नेपाललाई शिक्षाको हब बनाउने कुरा गर्दा हाम्रो लक्षित विषय के हुन सक्छ ?
हामी कहाँ विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज समेत छन् । यस्तै विदेशी विद्यार्थी ल्याउन हामीले बुद्धकै जन्म भएको देश भएकोले बुद्ध अध्ययनको अभियान समेत सुरु गर्न सक्छौँ ।
यहाँ बुद्ध विचारको ठूलो बजार छ । साउथ कोरिया, थाईल्याण्ड, कम्बोडिया, भियतनाम, श्रीलंकादेखि जापानसम्मका विद्यार्थी ल्याउन सकिन्छ । त्यसका लागि हामीकहाँ भएको शिक्षालाई मार्केटिङ गर्न आवश्यक छ । हामीले सरकारलाई भनेका पनि छौँ । तीन वर्ष भित्र पाँच देखि सात हजार विद्यार्थी नेपाल ल्याउछौँ भनेका छौँ । तर, समस्या नीति निर्मातामा नै छ ।
हामीले एउटा रोडम्याप बनाउन पर्छ । अब १०/२० वर्षको योजना बनाएर नेपालको उच्च शिक्षा कता लैजाने भन्ने बहस गर्न आवश्यक छ । सरकारले पहिलो त भिसाकै लागि काम गर्न आवश्यक छ ।
विद्यार्थीलाई भिसा निःशुल्क गर्ने वा उनीहरूको बसाइको लागि केही सहजता गराउने वा छात्रवृत्ति दिने भन्ने विषयमा स्पष्ट हुन आवश्यक छ । अर्को, स्टडी इन नेपालको अवधारणा ल्याएर सबै दूतावासमार्फत मार्केटिङ गर्ने वातावरण बनाउन सकिन्छ ।
उच्च शिक्षालाई नियमन गर्ने निकायको पनि आवश्यकता छ, जुन अहिले छैन । उच्च शिक्षा आयोगको कुरा आएको छ, त्यसलाई जति चाँडो ल्याउन आवश्यक छ ।
नेपालको शिक्षा क्षेत्रको पूर्वाधार र जनशक्ति सक्षम छन् त ?
हाम्रोमा जुन जनशक्तिको कुनै कमी छैन । यहाँको शिक्षामा लगानी पनि ठूलो छ । पूर्वाधार बनाउनलाई समस्या छैन तर, सरकारको भिजन स्पष्ट हुन आवश्यक छ ।
निजी क्षेत्रको पूर्वाधार र लगानी सुरक्षित रहन्छ कि रहँदैन, भन्ने विश्वास सरकारले दिनुपर्यो । शिक्षामा लगानी गर्नलाई सरकारले कमसेकम एक तहको वातावरण बनाउन आवश्यक छ । अहिले जस्तो विद्यालय शिक्षामा वर्षौंदेखि विद्यालय चलाएर बसेको मान्छेलाई अब त गुठीमा जा, राष्ट्रियकरण गर्नु पर्यो भन्ने बहसले शिक्षामा कसले लगानी गर्छ ? सरकारले निजी क्षेत्रको लगानी जहाँ पनि हुन्छ त्यसलाई हामी सुरक्षित राख्छौँ र त्यसलाई हामी सम्मान गर्छौं भन्ने एउटा दृष्टिकोण बनाउन आवश्यक छ ।
आजको दिनमा भारत जस्तो देशले पनि विदेशी विश्वविद्यालयलाई ढोका खोलेको छ । अहिले आउनुस, लगानी गर्नुस्, कलेज खोल्नुस् भनिरहेका छन् । हाम्रोमा पनि त्यहाँ जाने विदेशी लगानी ल्याउन सकिन्छ ।
यहाँ हावापानी अति नै राम्रो छ । मलेसिया जस्तो देशमा १४० देशका मान्छे गएर बसेका छन् भने नेपालमा आउँदैन भन्ने हुँदैन । हाम्रो वातावरणले पनि सपोर्ट गर्छ । हामीकहाँ खान बस्न पनि सस्तो छ, हस्पिटालिटी राम्रो छ । आपराधिक क्रियाकलाप पनि एकदम कम छ । त्यति हुँदाहुँदै पनि हामीले विदेशी पर्यटक देखि विद्यार्थी ल्याउन सकेका छैनौँ ।
सरकारले विदेशी विद्यार्थी ल्याउने दिने हो भने नेपाललाई कस्तो फाइदा हुन्छ ?
विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आए भने नेपालका विद्यार्थी बाहिर जान पनि रोकिन्छ । उच्च शिक्षाबाट जीडीपीमा ठूलो योगदान प्राप्त गर्न सकिन्छ । तर, हामीकहाँ त्यसप्रति ध्यान नपुगेको देखिन्छ । हामीले ब्लक गरिरहेका छौैँ ।
आजको उच्च शिक्षामा खुला नीति हुनुपर्छ । बरु नियमन गर्ने पारामिटर टाइट गरे हुन्छ नी । नियमन अलि कडा हुनुपर्यो तर, नयाँ मान्छे आउँछ भने त्यसलाई ढोका त खोल्दिनु पर्योे नी ।