रोल्पा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री नारायण प्रकाश(एनपी)साउदले नेपाली कांग्रेस विकासप्रेमी पार्टी भएको बताएका छन् ।
नेपाली कांग्रेस रोल्पाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साउदले कांग्रेस पार्टी अहिले प्रमुख प्रतिपक्षी दल भएर पनि आम नागरिकले नेपाली कांग्रेसबाट विकासको आशा गरेको बताए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जिल्ला स्तरीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रम रोल्पाको कार्यक्रम १० औं भएको उनले बताए ।
कुनै समयमा एकल दुई तिहाई मत लिएको नेकपा माओवादी केन्द्र अहिले विस्तारै कमजोर बन्दै गएको र पछिल्लो समय रुपान्तरणमा पुगेको समेत उनले बताए । ‘रोल्पामा पुरानै अवस्थामा फर्कन्छ, तपाईहरु ढुक्क हुनुहोस् र निरन्तर अगाडि बढ्नुहोस्, मेरो शुभकामना छ’ साउदले भने ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले अब आउने नेपाली कांग्रेस कस्तो हुनुपर्छ ?, र नेपाली कांग्रेसको अवस्था बुझ्न आफू सात वटै प्रदेशको जिल्लामा पुग्ने कार्यक्रम अनुसार आफूहरू रोल्पा आएको बताए ।
राजनीति भनेको व्यक्ति अनुभूति र विश्लेषण भएको र जनताको आम समस्यालाई समाधान गर्नु नेतृत्वको दायित्व भएको र पदको लागि राजनीति नभएको उनले बताए ।
नेपालमा भ्रष्टाचार र सहकारीमा रकम अपचल गर्ने काम बढेकाले नेपाली कांग्रेस त्यसलाई निरन्तर आवाज उठाउने गरेको र न्याय दिनको लागि सडकदेखि सदनसम्म आवाज उठाएका कारण संसदीय छानबिन समिति बनेको जिकिर गरे । रोल्पामा नेपाली कांग्रेस एक भएर अगाडि बढी कम्युनिस्ट पार्टीहरुसँग चुनावमा विजयी भएमा मात्र यस अन्तरक्रिया सफल भएको मानिने उनले बताए ।
कांग्रेसका केन्द्रीय सदस्य गोविन्द बहादुर शाहीले नेपाली कांग्रेसले माओवादी केन्द्रलाई शान्ति प्रक्रियामा गएको र आम निर्वाचनमा जाँदा नसोचेको परिमाण बेहोर्नु परेको बताए ।
नेपाली कांग्रेसमा लागेर ज्यान गुमाएका व्यक्तिलाई कुनै घोषणा र कुनै ठाउँमा उनीहरूको नाम उल्लेख नगर्नु अहिलेको कांग्रेसको लागि दुःखद पक्ष भएको उनले बताए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरले सिंगो देश, सिंगो कांग्रेस र सिंगो रोल्पा कांग्रेस कहाँ छ ? भन्ने कुरा अहिलेको चिन्ताको विषय भएको बताए ।