–बिदुर दाहाल
शिक्षकको राजनीतिक डि.एन.ए. परिक्षण गर्नु हुन्छ कि हुँदैन ? अहिले व्यापक बहसको विषय बनेको छ । आदिम कालदेखि शिक्षकलाई (गुरु) सम्मान गर्दै समाजमा ज्ञान र चेतनाको दियो जगाउने पात्रको रूपमा हेरिएको छ । शिक्षक समाजको आँखा हो । दिमाग हो । हिन्दु धर्मशास्त्रले सम्मान गर्दै ‘गुरु ब्रह्म, गुरु विष्णु, गुरुदेवो महेश्वरा’ भनेको छ । यो सम्मान शिक्षकले कायम गर्ने कि नगर्ने मुख्य सवाल हो ।
एककाइसौँ शताब्दीको सूचना युगमा गुरुको भूमिका कस्तो हुनुपर्छ, त्यो पाटो पछि केलाउला । कस्तो शिक्षक समाजलाई चाहिन्छ, त्यो बहस होला । अहिलेलाई शिक्षकको भूमिका ज्ञानको ज्योति फैलाउने र समाजलाई बाटो देखाउने पात्र भएकोले एउटा राजनीतिक पार्टीको कार्यकर्ता भएर हिँड्नु हुन्छ कि हुँदैन भन्ने कोणबाट मात्र चर्चा गर्न खोजिएको छ ।
देशमा राणा शासन तथा एक दलीय व्यवस्था हुँदा वाक स्वतन्त्रता बर्जित थिए । त्यस्तो बेला शिक्षकले विद्यार्थीको माध्यमबाट समाजमा चेतना फैलाउनु र राज्य व्यवस्थाविरुद्ध लाग्न प्रेरित गर्नु स्वभाविक थियो । त्यो स्वीकार्य थियो । राज्य देश र जनताको पक्षमा नहुँदा त्यसविरुद्ध शिक्षकले चेतना फैलाई समाज परिवर्तनमा भूमिका खेल्नु दायित्व थियो । त्यो कर्तव्य थियो ।
तर, व्यवस्था परिवर्तन भइ दुनियाँको उत्तम व्यवस्था गणतन्त्र युगमा शिक्षक कांग्रेस, एमाले, माओवादी वा अरु कुनै वादी भएर हिँड्नु चाहिँ स्वभाविक हुन सक्दैन । उसले आफूलाई पार्टीको कार्यकर्ताको रूपमा प्रस्तुत गर्नु जरुरी छैन । शिक्षक राष्ट्रको हुन्छ । पार्टीको कार्यकर्ता हुँदैन । त्यसकारण शिक्षकलाई पार्टी विशेषको राजनीतिक कार्यकर्ताबाट बाहिर निकाल्नै पर्छ । यो अर्थमा शिक्षकको राजनीतिक डि.एन.ए. निष्क्रिय हुनुपर्छ ।
पार्टीका नेताले यसमा विरोध गर्नु स्वभाविक हो । किनकी उनीहरूलाई चुनाव जिताउने कार्यकर्ता चाहिएको छ । नेपालका नेताले चुनाव बाहेक अरु सोचेकै हुँदैनन् । शिक्षकले पार्टीको राजनीति धानिदिएको अवस्थामा छ । नेतालाई चिन्ता लाग्नु स्वभाविक हो । शिक्षक पार्टीको कार्यकर्ता भएर हिँड्ने कि नहिँड्ने ? मुख्य सवाल यो हो ।
शिक्षकको आफ्नो विचार हुन हुन्छ । विचार बोक्न पाउनु संवैधानिक अधिकार हो । यो अधिकार नेपालको संविधानले दिएको छ । शिक्षक जागिर मात्र होइन; सेवाको पेशा हो । उसले आफ्नो मूल धर्म पहिला निभाउनु पर्छ । शिक्षक समाजको मोडेल हो । मोडेल नै हुनुपर्छ । आफ्नो विचारलाई गोप्य मतदानमा उपयोग गर्नु जायज हुन्छ । कथा र परिवेशले खोजेको यही हो ।
लोकतन्त्रमा पार्टीहरूको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षकले पार्टी मन पराउनु र उसलाई मतदान गर्नु अधिकार भए पनि खुलेयाम कार्यकर्ता भएर हिँड्नु स्वभाविक हुँदैन । पार्टीको नेता र कार्यकर्ता भएर भौँतारिनु लज्जाको विषय हो । यसले शिक्षकको कद घटाउँछ । घटाएको छ । समाजले स्वीकार गरेको मूल्य मान्यतालाई तिलाञ्जलि दिँदै पार्टीमा लागेर यो वा त्यो पक्षको वकालत गरेर हिँड्ने शिक्षकको राजनीतिक डि.एन.ए. पहिचान गरि निष्क्रिय बनाउनु आजको आवश्यकता हो ।