२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

शैक्षिक भ्रमण : ज्ञानको भरपर्दो स्रोत

ADV
२०८१ जेठ ३१ गते ०६:३०
शैक्षिक भ्रमण : ज्ञानको भरपर्दो स्रोत

–निष्णु थिङ

विद्यार्थी जीवन पाठ्यपुस्तकबाटै संसार चिन्ने, थाहा पाउने र संज्ञान निर्माण गर्ने बेला हो । विद्यार्थी हुर्कंदै गएपछि उनलाई पुस्तक बाहेक आफै अवलोकन गरेर सिक्ने र थप ज्ञान हासिल गर्ने अवसर उत्तिकै चाहिन्छ । पुस्तकको ज्ञानमात्रै पर्याप्त हुँदैन । प्रत्यक्ष आफै कुनै स्थान विशेषमा गएर अवलोकन गरेर अनुभव प्राप्त गर्नु पनि ज्ञानको अर्को स्रोत हो । विद्यालय वा कलेजको चौघेराभन्दा बाहिरको दुनियाँसित साक्षात् गराउन निकै आवश्यक छ । पुस्तक मात्रै चिन्नेले आफ्नै देश, भूगोल, संस्कृति र विविधता पनि चिन्न र जान्न जरुरी छ । सरासर पढ्ने र डिग्री हासिल गर्ने अनि रोजगारीमा प्रवेश गर्ने विद्यार्थीको ज्ञानको दायरा सीमित हुने हुँदा उनले कुनै कार्यालयमा गएर सम्पादन गर्ने काम र प्रवाह गर्ने सेवामा फरक पार्छ नै ।

यस्तै, विद्यार्थीको ज्ञानको दायरालाई फराकिलो बनाउने उद्देश्यले पंक्तिकार स्वयम्को नेतृत्वमा आजभन्दा १६ वर्ष अगाडि स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएपछि श्री चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सर्लाहीमा पहिलो पटक शैक्षिक भ्रमणको संस्थागत र औपचारिक पहल भएको थियो । त्यो पहलले सार्थकता पायो । त्यतिबेला स्नातक तहसम्म मात्र अध्यापन हुने सो कलेजमा हामीले कक्षा १२ र स्नातक तेस्रो(अन्तिम) वर्षमा अध्ययनरत विभिन्न सङ्कायमा विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा क्याम्पसले लैजाने नीतिगत निर्णय गर्‍यौँ । त्यसको नेतृत्व तत्कालीन स्ववियुले नै लियो । खासगरी, कक्षा १२ का विद्यार्थीहरूलाई आफ्नै देशभित्र भ्रमणमा जाने प्राथमिक रोजाइ दिइयो । स्नातक अन्तिम वर्षका विद्यार्थीहरूलाई सकभर छिमेकी देशमा जान प्रोत्साहन दिइन्थ्यो । त्यसको खास कारण के थियो भने कक्षा १२ मा पढ्ने विद्यार्थीहरू भर्खरै विद्यालय शिक्षा सकेर आएका हुन्छन् । उमेरले पनि उनीहरू बीस वर्षभन्दा मुनिका नै हुने गरेकोले पहिला आफ्नै देशका पर्यटकीय स्थलहरू भ्रमण गरुन् र चिनुन् भन्ने हो । आफ्नो देशभित्र सुरक्षा र व्यवस्थापनका दृष्टिले अलि सहज हुन्थ्यो । स्नातक तेस्रो वर्षमा चाहिँ विद्यार्थीहरू उमेरले २३/२४ जति हुँदा अलि परिपक्व भइसकेका हुन्छन् । त्यो बेलासम्म उनले आफैले स्वदेशका विभिन्न क्षेत्र घुमिसकेका हुन्छन् । केही हदसम्म आफ्नो देश चिन्ने भइसकेका हुन्छन् । त्यसैले, छिमेकी देशमा जान हामीले प्रोत्साहन गर्थ्यौं । 

हामीलाई राहदानी र प्रवेश अनुमति पत्र नचाहिने छिमेकी मुलुक भारत नै हो । तसर्थ, भारतका दार्जिलिङ, कालिम्पोङ, सिक्किम र कलकत्ता, नैनीताललगायत केही विशेष ठाउँहरूमा जान सिफारिस गरिन्थ्यो । छिमेकी देश भ्रमण गर्नाले छिमेकीसितको सम्बन्धमा न्यानोपन ल्याउन सजिलो हुन्छ । भविष्यमा यी विद्यार्थीहरू देशको महत्वपूर्ण स्थानहरूमा पुग्नेछन् र त्यतिबेला छिमेकीसित कसरी व्यवहार गर्ने अहिलेदेखि नै सिकून् र छिमेकी पनि चिनून् भन्ने ध्येय हो । अर्को कुरा, दिल्ली र काठमाडौंको बीचमा मात्रै आदान–प्रदान हुने औपचारिक सम्बन्धले नेपाल र भारतको सम्बन्ध दिगो हुँदैन । अहिले सरकारदेखि सरकारसम्मको कूटनीति न्यून प्रभावकारी भइरहेको बेला यस्ता शैक्षिक भ्रमणले जनस्तरमै सम्बन्धको विकास गराउन सहयोग पुर्‍याउँछ ।

सामूहिक कार्यको अभ्यास 

शैक्षिक भ्रमणलाई अचेल घुमघाममा मात्रै सीमित राखेको पाइन्छ । शैक्षिक भ्रमणलाई आफ्नो मिल्ने साथीहरूको झुण्ड बनायो, आफ्नै तरिकाले घुमेर आउनु ठान्दछन् । शैक्षिक भ्रमण आफैमा अध्ययनको नयाँ पाटो हो । नयाँ ठाउँमा सामूहिकरूपमा गएर नयाँ ज्ञानसमेत हासिल गर्नु हो । 

शैक्षिक भ्रमण वर्षमा हामीले विद्यार्थीलाई मानसिक, व्यावहारिक, सामाजिक र आर्थिकरूपमा तयारी गराउथ्यौँ । जाने विद्यार्थीहरूलाई क्याम्पसमै प्रशिक्षण दिइन्थ्यो । अनुभवीहरूको अनुभव पनि पनि बताउँथ्यौँ । शैक्षिक भ्रमण अवधिमा पालना गर्नुपर्ने कर्तव्य, बहन गर्नुपर्ने जिम्मेवारीहरू र गर्नुपर्ने आवश्यक कामहरूबारे जानकारी गराएर तयारी गरिन्थ्यो । अनुशासनको बारेमा सम्झाउने र बुझाउने काम गरिन्थ्यो । शैक्षिक भ्रमणलाई अध्ययन भ्रमण बनाउन विभिन्न विभागीय समूहहरू बनाउने र आपसमा सहकार्य कसरी गर्ने ती कुराहरू पनि सिकाउँथ्यौँ । विभागीय समितिहरूमा जस्तैः प्रतिवेदन लेखन समिति, आर्थिक समिति, स्वास्थ्य समिति, अनुशासन समिति, मेलमिलाप समिति र मूल समिति निर्माण गरेर जिम्मेवारी बाँडफाँट गराउँथ्यौँ । यी समितिहरूमा राखेर हामीले विद्यार्थीहरूलाई भविष्यको तयारी गराएका थियौं । 

जीवनमा आइपर्ने व्यवहारिक कठिनाइहरूको सामना गर्न पनि यस्तो गर्न आवश्यक छ । एक पटक कालिम्पोङ जाँदा त्यहाँ पुग्दा नपुग्दै केही विद्यार्थीहरू बिरामी भए । नयाँ ठाउँमा कहाँ अस्पताल छ ? कसरी लैजाने ? जस्ता समस्याहरू व्यहोर्न पर्‍यो । अहिलेको जस्तो सामाजिक सञ्जाल पनि थिएन । एक/दुई जना बिरामी भएका कारणले बाँकीलाई त्यतिकै प्रतीक्षा गराउने कुरै भएन । उपचार गर्नेलाई अस्पतालमा व्यवस्थापन गरेर बाँकीलाई पूर्वनिर्धारित योजनाबमोजिम स्थान विशेषमा लगेर जानै पर्‍यो । 

पूर्व निर्धारित योजनामा जति विलम्ब भयो, उति नै खर्च बढ्ने हुँदा फटाफट तालिकाबमोजिम चल्नुपर्थ्यो । एकदिन मात्रै विलम्ब हुँदा पचास हजार सरदर खर्च थपिन्थ्यो । त्यो शैक्षिक भ्रमण समूह कार्यको एक नमुना थियो । विद्यार्थीहरूलाई हरेक व्यावहारिक समस्याको जिम्मेवार बनाइन्थ्यो । ताकि उनीहरू आफैले भोगून्, सिकून् र जानुन् भनेर । स्ववियुको उपस्थिति चाहिँ अभिभावकत्वको लागि र विशेष अवस्थामा नेतृत्व लिने मात्रै थियो । यसरी सामूहिक अभ्यासले उनीहरूलाई भविष्यमा कोही सरकारी जागिरमा, कोही राजनीतिमा, कोही व्यापार व्यवसायलगायत विभिन्न पेशागत क्षेत्रहरूमा प्रवेश गर्दा त्यहाँ सामूहिक अभ्यासबिना कुनै पनि परिणाम निकाल्न सकिँदैन । तसर्थ, त्यो शैक्षिक भ्रमण त्यसको लागि पूर्व तयारी नै थियो । 

लेखनको पूर्वप्रशिक्षण

शैक्षिक भ्रमणलाई अध्ययन र अनुसन्धानसित जोड्न हामीले प्रतिवेदन लेखन समिति बनाएका थियौं । त्यो समितिले प्रत्येक ठाउँको बारेमा प्रतिवेदन लेख्थ्यो । त्यसैगरी, प्रत्येक विद्यार्थीलाई दैनिकी लेख्न दिइन्थ्यो । बेलुका खाना खाएर सुत्नु अगाडि दिनभरिको समीक्षा गरिन्थ्यो । समीक्षामा सबैलाई आफ्नो धारणा राख्न दिइन्थ्यो । स–साना व्यावहारिक समस्याहरूको सम्बोधन गर्ने, अनि प्रतिवेदन लेखन समितिले प्रतिवेदन पढेर समूहमा सुनाउँथे । ज–जसको दैनिकी तयारी छ, तिनका दैनिकी सुनाउन लगाइन्थ्यो । तिनमा सुझाव र आफ्ना धारणा व्यक्त गर्न लगाइन्थ्यो । प्रतिवेदनमा सुझावहरू समेट्दै सुधार पनि गर्थे । त्यसको साथसाथै, विद्यार्थीहरूलाई आ–आफ्ना प्रतिभा प्रस्तुत गराउन लगाउँथे । त्यसमा कोहीले गीत सुनाउँथे, कोहीले कविता, गजल, सायरी र चुट्किला वाचन गर्थे । कोही नाचेर देखाउथे । यसरी प्रतिभा प्रस्फुटनको पनि राम्रो अवसर हुन्थ्यो । प्रत्येक दिन सुत्नु अगाडि भोलिको योजना बनाएर त्योअनुसार तयार भइदिन सबैलाई जानकारी गराइन्थ्यो । भ्रमण सकेर आएपछि प्रतिवेदन, नियात्रा, अवलोकन र अनुभूति पनि पुनः लेख्न लगाएर क्याम्पसमा हामीले स्थापना गरेका साहित्य, कला तथा प्रतिभा प्रदर्शनी बोर्डमा राख्थ्यौँ ।

देश चिन्ने र समाज बुझ्ने 

वास्तवमा ती शैक्षिक भ्रमणहरू देश चिन्ने र समाज बुझ्ने महत्वपूर्ण अवसर थिए । कालिम्पोङमा विज्ञान केन्द्र रहेछ । त्यहाँ डाँडामा कसरी भव्य विज्ञान केन्द्र निर्माण गरेको देखियो । त्यहाँ भारतका सबै वैज्ञानिकहरूका सालिक थिए । अहिले हामीलाई सामान्यजस्तो लाग्ने दूरसञ्चार (फोन, मोबाइल) को प्रारम्भिक आविष्कार कस्तो थियो ? त्यो प्रत्यक्ष हेर्न र अवलोकन गर्न पायौँ । उहिले दूरसञ्चार सुविधा नहुँदा (फोन) टाढा–टाढाका मान्छेहरू कसरी संवाद गर्थे ? उतिबेलाका वैज्ञानिकहरूले परिकल्पना गरे, आविष्कारको प्रयास गरे । त्यहाँ लामो पाइप राखेको थियो । डाँडाको एक छेउबाट अर्को छेउसम्म । एक छेउमा एकजना र अर्को छेउमा एकजना मान्छे गएर ढ्वाङमा आवाज दिन थालेछन् । आपसमा कुराकानी गर्न थालेछन् । त्यसरी पाइपको एकछेउबाट अर्को छेउमा ध्वनि प्रसारित भएको देखेर वैज्ञानिकहरूले फोनको परिकल्पना गर्न थालेका रहेछन् । त्यसैको विकसितरूप अहिले हामी सबैको हात हातमा मोबाइल फोन छ । 

अर्को, त्यहाँ सौर्यमण्डल रहेछ । सौर्यमण्डलको बारेमा पढाउँदा रहेछन् । अँध्यारो सुरुङ भएर एउटा ठूलो कालो कोठामा हामीलाई राख्यो । अनि करिब एक घण्टासम्म सौर्यमण्डलको बारेमा पढायो । सौर्यमण्डलका ग्रहहरू यति नजिक देखिन्थे कि तिनलाई छुन सकिन्छ जस्तो हुन्थ्यो । सौर्यमण्डलको विभिन्न ग्रहहरूको बारेमा परिचय गराउँथे । त्यसले अन्तरिक्षसम्बन्धी राम्रो ज्ञान दियो । दार्जिलिङमा चिडियाखाना हेरियो, ढुङ्गाको बगैंचा (रक गार्डेन), रक क्लाइम्बिङ, पर्वतारोहण पनि गर्‍यौँ । टाइगर हिल्समा गएर सूर्योदय हेर्‍यौँ र गोरखा स्मारक पनि अवलोकन गरियो । 

त्यस्तै, महत्वपूर्ण पदयात्रा बारे संक्षिप्त चर्चा गरौँ । प्रायजसोः कक्षा १२ का विद्यार्थीहरूलाई गोरखाको मनकामना दर्शन गराउन लैजाँदा हामी पैदल यात्राबाट जान्थ्यौँ । लुम्बिनी, बुटवल, पाल्पा र पोखरा हुँदै घर फर्किने रुटमा पारेर मनकामना जान्थ्यौँ । दिनभरी पोखराका अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय, सराङकोट, फेवाताल, सेतो गुम्बा घुम्दै बास बस्न साँझमा हामी गोरखाको आबुखैरेनी पुग्थ्यौँ । बिहान चारै बजे त्यहाँबाट उकालै उकालो लागेर सुन्तलाको बगैंचाघारी हुँदै मनकामनाको डाँडामा चढ्यौँ । बाटोभरी सुन्दर पहाडका दृश्यहरू र मनोरम जङ्गल र सुन्तलाको बगैंचा । हामीले ठ्याक्कै सुन्तला पाक्ने सिजनमा शैक्षिक भ्रमणको तालिका बनाउँथ्यौं । कार्तिक पहिलो हप्तादेखि मंसिरसम्मको त्यो समय आकाश खुल्ला हुन्छ । पर परका हिमालहरू देखिन्छ । बाटाभरि ताजा–ताजा सुन्तला बोटमै आफैले टिपेर खाना पाउँछन् । बोटमै पाँच रुपैयाँ किलो सुन्तला खाएको स्वाद अझै जिब्रोमा छ । विद्यार्थीहरूलाई अगाडि पठाएर हामीचाहिँ अन्तिममा बस्थ्यौँ । हाम्रा क्याम्पसका शिक्षक अनिता मेडमका अनुभव र मीठा मीठा कुरा सुन्दै त्यसमाथि ताजा ताजा सुन्तला खाँदै पदयात्रा गर्दा उकालोको थकाइ नै त्यति लाग्दैनथे । करिब चार÷पाँच घण्टा समय लाग्थ्यो त्यो माथि मनकामना पुग्न । सुन्तलाको केस्रा केस्रा केलाउँदै उकालो चढ्दा पहिला आफूभन्दा माथि देखिने सेता तुवालाहरू, स–साना बादलहरू चढ्दै जादा तल देखिन्छ । ती दृश्यहरू साह्रै मनमोहक थिए । बाटाभरिका हामीले दश÷पन्ध्र किलो सुन्तला नै सकाउँथ्यौँ । 

यसपालि तिनै आफू पढेको क्याम्पसमा धेरै वर्षपछि जान पायो । थाहा भो, हामीले शुरु गरेका त्यो शैक्षिक भ्रमणको कार्यक्रमले अझै निरन्तरता पाइरहेको रहेछ । त्यसले साह्रै हर्षविभोर र गौरवान्वित गरायो । १६ वर्ष अगाडिको विगततिर पुनः तान्यो । विद्यार्थी जीवनका यस्ता घट्नाहरू मीठा र स्मरणीय लाग्छ नै । यस्ता शैक्षिक भ्रमणहरूले विद्यार्थीलाई सीमित पाठ्यक्रम र पाठ्यपुस्तकको घेराबाट बाहिर खुल्ला संसार र आकाशमा विचरण गर्ने अवसर दिन्छन् । विद्यार्थी जीवनपछि हरेकले छनौट गर्ने करियरमा यसले मद्दत गरेको नै देखियो । त्यसैले, शैक्षिक भ्रमण एउटा गतिलो आफ्नै इन्द्रियले संसार चिन्ने र बुझ्ने भरपर्दो माध्यम हो । नयाँ ज्ञान हासिल गर्ने रमाइलो स्रोत पनि हो । 

ADVADV

सम्बन्धित खबर

Advertise