२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

रेशनल ओभरसिजमार्फत कतार आएका दर्जनौं युवायुवतीको बिचल्ली, कतारमा रहेको दलाल सम्पर्कविहीन

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज ३ गते ०६:२५
रेशनल ओभरसिजमार्फत कतार आएका दर्जनौं युवायुवतीको बिचल्ली, कतारमा रहेको दलाल सम्पर्कविहीन

दोहा, कतार : सिरहा बन्दीपुरका नीरज बस्नेत कतार आएको एक महिना हुनै लाग्यो । उनले त्रिभुवन विमानस्थलको बहिर्गमन विभागमा देखेको सपना कतार प्रवेशसँगै तुहिन थाल्यो । कतार पुगेर मनग्गे कमाउने र जीवनयापन शैलीलाई सुधार्ने सुखद सपना बोकेका बस्नेतका सपना आफ्नै कारण तुहिएको भने होइन ।

‘सेल्फ’ अर्थात आफैं श्रम सम्झौता गरेर लेबर भिसामा कतार आएका उनले २५ सय रियाल तलबका लागि रेशनल ओभरसिज प्रा.लि.लाई ३ लाख १५ हजार रुपैयाँ बुझाएका थिए । उनले बैंकिङ च्यानलमार्फत पैसा भुक्तानी गरेर प्रमाण सुरक्षित राखेका छन् । उनी कतार प्रवेश गरेको करिब २८ दिन भइसकेको छ भने उनको कतारी आइडी पनि छैन । यसर्थ उनी दुई दिनपछि स्वतः अलेखबद्ध बन्नेछन् ।

त्यस्तै अर्का पीडित छन्, झापाका विशाल कार्की । जलजला रिक्रुटमेन्ट प्रा.लि.मार्फत श्रम सम्झौता गरेर आएका उनले १६ सय कतारी रियाल तलब मिल्ने आशामा २ लाख ४० हजार रुपैयाँ रेशनल ओभरसिज प्रा.लि.लाई बुझाएका थिए । कतार प्रवेश गरेको ३० दिन बितिसक्दा पनि उनले काम, कतारी आइडी पाएका छैनन् भने खानालाई अन्न पनि पाएका छैनन् ।

मध्यान्हकर्मीले फेला पारेको अर्का पीडित हुन् मेलुङ गाउँपालिका दोलखाका तारा बहादुर थापा । जलजला रिक्रुटमेन्ट प्रा.लि.मार्फत लेबर भिसामा श्रम सम्झौता गरेर कतार आएका उनी नेपालमा अवकाश प्राप्त सरकारी कर्मचारी हुन् । १७ सय कतारी रियाल तलबसहित दैनिक ५०/१०० रियाल टिप्स पनि मिल्ने प्रलोभनमा सेक्युरिटी गार्डको काममा भनेर उनी आएका हुन् । उनले आकर्षक कमाइ हुने देखेर २ लाख ४० हजार रुपैयाँ बुझाएका थिए । कतार प्रवेश गरेको ३० दिन कटिसक्दा उनको पनि न काम छ, न कतारी आइडी न त खानालाई अन्नको दाना नै छ ।

पीडा नै पीडाले थिचिएका अर्का पीडित हुन्, उदयपुरका सुनील ठाकुर । कपाल काट्ने नाइको काम हो आकर्षक कमाइ हुन्छ भनेर २ लाख ८० हजार जलजला रिक्रुमेन्ट प्रा.लि.मार्फत लेबर भिसामा श्रम सम्झौता गरेर कतार आएका उनले उक्त रकम भने रेशनल ओभरसिज प्रा.लि.लाई बुझाएका हुन् । कतार प्रवेश गरेको महिनौं बित्दा पनि उनको अवस्था अरूको जस्तै काम, दाम र मामविहीन छ ।

पीडितहरूको सूचीमा रहेका अर्का पीडित हुन्, मोटरसाइकल मेकानिकल कामका लागि २ लाख ८० हजार रुपैयाँ तिरेका उदयपुर जिल्लाकै गयानन्द चौधरी । १८ सय ५० कतारी रियाल तलब हुने प्रलोभन देखाएर लेबर भिसामा जलजला रिक्रुटमेन्ट प्रा.लि.मार्फत श्रम सम्झौता गरेर रेशनल ओभरसिज प्रा.लि.मार्फत उनी करिब २ महिना पहिले कतार आएका हुन् । उनको अवस्था पनि अरूको जस्तै काम, दाम र मामविहीन छ । 

मध्यान्हकर्मी कतारको राजधानी दोहामा अवस्थित मुसुरास्थित पीडितहरू बसेको ठाउँमा पुगेर उनीहरूसँग समस्या बुझ्दै जाँदा यी पीडितबाहेक दर्जनौं नेपाली युवती पनि अप्ठेरो अवस्थामा रहेको फेला परेको छ । पीडितहरुसँगको कुराकानीका क्रममा उनीहरूसहित अन्य थुप्रैलाई अलपत्र पार्ने काठमाडौंको कोटेश्वरमा कार्यालय रहेको रेशनल ओभरसिज प्रा.लि.का सञ्चालक लोकेन्द्रबहादुर कार्की हुन् । कार्कीविरुद्ध कतारस्थित नेपाली दूतावासमा पीडितहरूले गत आइतबार लिखित उजुरीसमेत दिएका छन् । उजुरीमा कार्कीले झुट बोलेको, नेपालमा कबोल गरेबमोजिम काम र तलब नदिएको उल्लेख गरेका छन् ।

पीडितलाई लिएर दूतावास पुगेका एनआरएनए एनसीसी कतारका श्रमिक विभाग उपसंयोजक विकास गैह्रे, श्रमिक विभागका संयोजक कृष्ण पन्थी र अध्यक्ष रमेश भट्ट कार्कीको शैलीबाट आजित मात्र नभइ रुष्टसमेत बनेका छन् । पन्थीले कार्कीलाई मानवीय गुण नभएको व्यक्तिको रूपमा चित्रण गरे । उनले सोही व्यक्तिले केही महिना पहिले अलपत्र पारेका पाँच जना नेपाली युवतीलाई एनसीसीले नेपाल फिर्तीका लागि समन्वय गरी नेपाल पठाएको स्मरण गर्दै पछिल्लो एक सालमा कार्कीले श्रमिकलाई दिएको यो तेस्रो पीडा रहेको बताए ।

दूतावासमा आइतबार श्रम काउन्सिलर टिकामणि न्यौपाने र पीडितसँगै बसेर कार्कीलाई टेलिफोन सम्पर्क गर्दा बुधबारसम्ममा समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे दूतावास बन्द हुने समयसम्म कार्की सम्पर्कमा नआएको श्रम काउन्सिलर न्यौपानेले जानकारी दिए । मध्यान्हसँग कुरा गर्दै उनले कतारमा कार्कीले लिएर आउने डिमान्ड रोक्ने र नेपालमा रहेको म्यानपावरलाई आवश्यक कारबाहीका लागि विभागमा पत्राचार गर्दै कतारमा रहेका पीडितका लागी न्यायोचित सहयोग गर्ने बताए । पीडितहरू दूतावास पुगेपछि कार्की सम्पर्कविहीन जस्तै छन् ।

मनसुरामा रहेको कोठामा भेडा बाख्रा कोचे झैँ दर्जन कामदारलाई राखेका कार्कीले मुन्ताजामा रहेको अर्को कोठामा युवा र युवतीलाई सँगै राखेको भिडियो मध्यान्हसमक्ष आइपुगेको छ । ‘हामी डबल डेकर बेडको तलमाथि केटा र केटी छासमिस गरेर सुत्ने गर्छौं, बाथरुमको प्रयोग गर्न, नुहाउन र कपडा बदल्न समस्या छ । जागिर छ, तर तोकिएको तलब दिँदैनन्, हाम्रो बिचल्ली भयो,’ मध्यान्हसँगको कुराकानीमा एक पीडित नेपाली युवतीले आँशु बगाउँदै बिलौना सुनाइन् ।

कार्कीसँग पीडितहरूले ‘कि तोकिएको काम दिनुहोस्, कि हामीलाई नेपाल फिर्ता गरेर हाम्रो पैसा फिर्ता दिनुहोस्’ भनेर माग गरिरहेका छन् । पीडितहरूको आवाज दबाउन कार्कीले एक विदेशी नगारिकलाई प्रयोग गरी उक्त व्यक्ति कतारको अपराध अनुसन्धान विभाग (सीआईडी) हो भनेर तर्साउने गरेको पीडितहरु बताउँछन् । पीडितमध्ये सुनील ठाकुरलाई कार्कीले कम्पनी छाडेर हिँडेको र सम्पर्कमा नभएको भनि ‘रन अवे’ केशसमेत हालेका छन् ।

मध्यान्हलाई प्राप्त अर्को एक अडियोमा ‘२/४ जनालाई यही कतारमा सिध्याउन सकिनँ भने लोकेन्द्र कार्की हैन’ भनेर पीडित श्रमिकलाई टेलिफोनमा धम्काएको स्पष्ट सुन्न सकिन्छ । आफ्नो म्यानपावरमार्फत पठाउने भन्दै अर्को चिनेजानेका साथीहरूको म्यानपावर प्रयोग गरेर कामदार कतार ल्याउँदै कार्कीले ठग्ने गरेका छन् । 

‘मेरो ममीको हातबाट भाइ टिका लगाउनु भएको हो, मेरो मामा पर्नुहुन्छ, तर मलाइ नै यस्तो बिचल्ली बनाउनुभयो,’ साइनोले भान्जा पर्ने विशाल कार्कीले भने । मध्यान्हकर्मीले कार्कीसँग यसबारेमा थप बुझ्न र प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्दा पुरानो नम्बर बन्द रहेको र नयाँ नम्बरमा पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यसबारेमा जलजला रिक्रुटमेन्ट प्रा.लि.का सञ्चालक केन्द्रप्रसाद डाँगीसँग सम्पर्क राख्दा पीडित कामदारको समस्या समाधानका लागि आफूहरुले भरपूर प्रयास गरिरहेको बताए ।

कार्कीका परिवारका अन्य सदस्यले नेपालबाट कतारमा कामदार पठाउने र यता श्रीमान श्रीमती मिलेर श्रमिकलाई बेवास्ता गर्ने, न्यून तलबमा काम गर्न दबाब दिने र काम नगरे कुनै पनि सुविधा नदिने गरेको पीडितहरू बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise