२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

अध्यक्षमा धवल नजर

ADV
भावना पाठक
२०८१ असोज ६ गते ०६:५०
अध्यक्षमा धवल नजर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आगामी महाधिवेशन केन्द्रित हुन थालेको छ । केन्द्रीय कार्यसम्पादन समितिले वडादेखि सबै तहको अधिवेशन आगामी वैशाखभित्र सम्पन्न गर्ने निर्णय गरेसँगै राप्रपाभित्र केन्द्रीय महाधिवेशनकै चुनावी माहोल सुरु हुन पुगेको नेताहरू बताउँछन् । 

राप्रपाको गत भदौ २३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वडादेखि सबै तहको अधिवेशन सम्पन्न गने निर्णय गरेको थियो । राप्रपाको केन्द्रीय महाधिवेशन २०७८ मंसिरमा भएको थियो । निर्धारित समयमै महाधिवेशन गर्दा राप्रपाको महाधिवेशन २०८२ मंसिरभित्र सम्पन्न गर्नुपर्छ । 

पार्टीका महामन्त्री धवलशमशेर जबरा पक्षधर नेताहरू समयमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । अध्यक्ष राजेन्द्र लिङ्देन पक्षधर नेताहरूपनि समयमै महाधिवेशन हुने बताउँछन् । तर, यी दुवै पक्षधर नेताहरू नेतृत्वमा लिङदेनलाई दोहोर्‍याउने र धवलशमशेरलाई नेतृत्वमा स्थाति गराउने रस्साकस्सीमा छन् । 

नेताहरूका अनुसार राजेन्द्र लिङ्देन अध्यक्षमा दोहोरिन चाहन्छन् । तर, उनलाई रोकेर आफू नेतृत्वमा पुग्ने कसरतमा लागेका छन्  महामन्त्री धवलशमशेर जबरा । जबराको यस्तो मुभले राप्रपामा दुई पक्षीय आन्तरिक गतिविधि हुन थालेको नेताहरू बताउँछन् । 

भावी नेतृत्वका दाबेदारले वडादेखिका अधिवेशनमा आफ्नो गतिविधिलाई सक्रिय बनाउनेछन् । धवलशमशेरले अघिल्लो पटक नै अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका थिए । तत्कालीन समयमा कमल थापालाई नेतृत्वमा रोक्न शवलशमशेरले लिङ्देनलाई अध्यक्षमा समर्थन गरेका थिए । आफू महामन्त्रीमा बसेका थिए । यसपटक आफैं अध्यक्षमा उठ्नेगरी अगाडि बढेका हुन् । धवलशमशरले आफ्नो नेतृत्वका लागि समेत नेताहरूसँग संवाद थालेका छन् । 

पूर्वअध्यक्ष लोकेन्द्र बहादुर चन्दले राप्रपा अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनले दुई पटक नेताहरूलाई बोलाएर आफ्नो निवास लोकन्थलीमा छलफलसमेत गरिसकेका छन् । 

चन्दको चासोमा नेताहरू प्रकाशचन्द्र लोहनी, हरि बहादुर बस्नेत, नवराज सुवेदी, पशुपति शमशेर राणालगायत समेत सहमत रहेको बताइन्छ । चन्दले आफ्ना निकट नेताहरूसँग लिङ्देनले पार्टी चलाउन नसकेको भनेर नयाँ नेतृत्वका लागि तयार रहनुपर्ने बताउँदै आएका छन् । 

उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवलशमशेरसहितका नेताहरूले पनि पार्टीभित्र आफ्नो पक्षमा लबिङ बढाउन अध्यक्ष इतर पक्षलाई एकीकृत गरिरहेका छन् ।

नेताहरूका अनुसार आगामी महाधिवेशनमा पनि अध्यक्षमा लिङ्देनले फेरि उम्मेदवारी दिने पक्कापक्की छ । इतर समूहबाट अध्यक्षमा उम्मेदवारी दिने भनेर महामन्त्री शवलशमशेरले आफूलाई अगाडि ल्याएका हुन् । 

महाधिवेशनलाई नै लक्षित गरेर महामन्त्री राणाले फरक राजनीतिक प्रस्ताव समेत ल्याउनेबारे छलफल चलाइरहेका छन् । 

विगतको अभ्यासले पार्टीमा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नरहेको नेताहरू बताउँछन् । विधान बमोजिम वडादेखि केन्द्रसम्म प्रक्रिया हुने भयो । तल्लो निकायमा सहमति हुन सक्ने तर, केन्द्रमा पदाधिकारीदखि केन्द्रीय सदस्यसम्म चुनाव नै हुने वातावरण रहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise