२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

मन्त्री जोशीद्वारा निर्माणाधीन चैनपुर सेती जलविद्युत आयोजनाको अवलोकन

ADV
सत्यराज सिंह
२०८१ जेठ ३१ गते १३:१८
मन्त्री जोशीद्वारा निर्माणाधीन चैनपुर सेती जलविद्युत आयोजनाको अवलोकन

बझाङ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र प्रदेशसभा सदस्य दमन भण्डारीले बुधबार तलकोट गाउँपालिका– ३ स्थित बष्टीमा रहेको निर्माणाधीन चैनपुर सेती जलविद्युत आयोजनाको अवलोकन गरेका छन् ।

मन्त्री जोशी र प्रदेशसभा सदस्य भण्डारीले देशकै गौरवको आयोजनाका रुपमा लिइएको २१० मेगावाटको तीन वटा टनेल र विद्युतगृहको भ्रमण अवलोकन गरेका हुन् ।

मन्त्री जोशी र प्रदेशसभा सदस्य भण्डारीले आयोजनालाई छिटोछरितोरुपमा निर्माण सम्पन्न गर्नका लागि सबैले सघाउनुपर्नेमा जोड दिए । सो क्रममा मन्त्री जोशीले बष्टी गाउँ नजिक रहेको टनेलको स्वीच अन गरेर टनेल ब्लाष्टिङ कार्य पनि अगाडि बढाएका छन् ।

अवलोकनपछि चैनपुर सेती जलविद्युत आयोजनाका कार्यकारी निर्देशक अनिल भक्त श्रेष्ठको अध्यक्षतामा सर्वपक्षिय भेला पनि भएको थियो । कार्यकारी निर्देशक श्रेष्ठले आयोजनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै समस्या, चुनौती र परियोजनाले गर्ने सामाजिक उत्तरदायित्वका कामका बारेमा जानकारी दिएका थिए । भेलामा प्रभावित समुदायको समस्या तथा माग सम्बोधन गरिने र अबदेखि स्थानीयले पनि अवरोध नगर्ने प्रतिबद्धता जनाइएको छ । 

नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन चैनपुर सेती जलविद्युत आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको छ । तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट शुरु गरिएको २१० मेगावाट जलविद्युत आयोजनाअन्तर्गत अहिले अडिट सुरुङ निर्माण शुरु भएको छ । चैनपुर सेती जलविद्युत आयोजनाका भूगर्भविद् अर्जुनकुमार पाण्डेले अहिले तीन वटा अडिट सुरुङ र प्रसारण लाइन निर्माणका लागि सर्भे भइरहेको बताए ।

एउटा अडिट सुरुङको एक सय ३० मिटरभन्दा बढी काम पूरा भइसकेको छ भने अर्को अडिट सुरुङको २३ मिटर खनिएको र एउटा अडिट सुरुङ बस्ती नजिक भएकाले हालै मात्रै शुरु गरिएको पाण्डेको भनाइ छ । चार वर्षसम्म सम्भाव्यता अध्ययन भएर निर्माण शुरु गरिएको गौरवको आयोजना चैनपुर सेती जलविद्युत आयोजनामा आगामी आर्थिक वर्षका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । प्राधिकरणले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ । 

चैनपुर सेती जलविद्युत आयोजनाको २०७४⁄२०७५ देखि अध्ययन शुरु भएको थियो । जलविद्युतको बाँध ५४ मिटर गहिरो र ५३ मिटर उचाइमा रहेको र ३ वटा थिग्राउने पोखरीबाट आएको पानी अर्धभूमिगत हुने छ । आयोजनाले वार्षिकरुपमा १२ सय ६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

आयोजना निर्माण गर्न करिब ४७ अर्ब ५५ करोडको लागत अनुमान गरिएको आयोजनाका निर्देशक श्रेष्ठले बताए । गाउँपालिकामा देशकै दोस्रो ठूलो गौरवको आयोजना बन्न लागेकाले स्थानीयले रोजगार पाउनुका साथै केही वर्षमा स्थानीय र प्रदेश सरकारलाई राजस्व पनि प्राप्त हुने भएकाले आयोजना समयमै निर्माण सम्पन्न गर्न आयोजनाका प्रमुखलाई तलकोट गाउँपालिका अध्यक्ष कलक बहादुर रोकायाले आग्रह गरेका छन् ।

मन्त्री जोशीलाई सेती नदीको राताढुंगामा पुल निर्माणका लागि बजेट विनियोजन गर्न र धार्मिक तथा ऐतिहासिक महत्व बोकेको तपोवनको संरक्षणका लागि समेत बजेट विनियोजन गरिदिन अध्यक्ष रोकायाले अनुरोध गरेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise