२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

उच्च निगरानीमा रवि, पक्राउ परे छवि

ADV
२०८१ असोज ७ गते ०६:४०
उच्च निगरानीमा रवि, पक्राउ परे छवि

काठमाडौं : सहकारीको रकम हिनामिनामा जोडिएको आरोप लागेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ परेका छन् । पूर्वडीआईजी समेत रहेका जोशीलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा जोडिएको आरोप लागेकाले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान गरिनेछ । जोशी आइतबार नै पोखरा लागिएको छ । 

सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले आन्तरिक अनुसन्धान तीव्र पारेको छ । यसक्रममा जोशी पक्राउ परेका हुन् । 

समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन केही दिनअघि संसदलाई बुझाएको थियो । प्रतिवेदन संसदले शुक्रबार सार्वजनिकसमेत गरेको छ ।

सार्वजनिक प्रतिवेदनमा जोशीसँगै पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि समेत कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस गरिएको छ । यसकारण लामिछानेलाई समेत पक्राउको तयारी थालिएको जनाइएको छ । 

लामिछानेलाई पक्राउ गर्दा उनका समर्थकबाट प्रर्दशन हुन सक्ने भएकाले सम्बन्धित जिल्लाका प्रहरीलाई अर्लट रहन निर्देशन दिइएको बताइएको छ । प्रहरीका अनुसार लामिछाने प्रहरीको उच्च निगरानीमा छन् । प्रहरी प्रधान कार्यालयले सहकारीको रकम अपचलन भएका सम्बन्धित जिल्लाका प्रहरी अधिकारीलाई समेत सतर्क रहन भनेको छ । 

ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी)ले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा लामिछाने समेत संलग्न रहेको आरोप लागेको छ । 
सहकारीको रकम जीबी राईले नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्टमा पुगेको र त्यो रकम लामिछानेको हस्ताक्षरमा खर्च भएको संसदीय समितिको निष्कर्ष छ । त्यसमा पूर्वडीआईजी छविलाल जोशीको समेत संलग्नता देखिएपछि उनीहरू दुवै जनालाई कारबाही सिफारिस गरिएको छ ।

लामिछाने ग्यालेक्सी टेलिभिजनका सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकसमेत रहेका थिए । पूर्वडीआईजी जोशी सेयर सदस्य र सञ्चालक सदस्य हुन् । जोशी पक्राउ परेसँगै लामिछानेमाथि उच्च निगरानीमा रहेका हुन् । 

२०७७ माघदेखि लामिछाने ग्यालेक्सी टेलिभिजनमा जोडिएका थिए । पाँच करोडमध्ये लामिछानेले सहकारीकै ७५ लाख रुपैयाँ तिरेर १५ प्रतिशत सेयर पाएको खुलेको छ । त्यस्तै, जीबी राईको ५० र छविलाल जोशीको ३५ प्रतिशत सेयर कायम गरिएको थियो ।

समितिले नाम उल्लेख गरी कारबाही सिफारिस गरेपछि प्रहरीले लामिछानेमाथि निगरानी बढाएको हो । 

गृह मन्त्रालयले प्रतिवेदन तत्काल कार्यान्यवन गर्न प्रहरी प्रधान कार्यालयलाई आइतबार निर्देशनसमेत दिएको थियो । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले गृह मन्त्रालयसँग सम्बधित विषय तत्काल कार्यान्यवन गर्न लेखी पठाएको छ । 

जोशी पक्राउ परेसँगै लामिछानेको सन्दर्भमा कार्यकर्ताले चासो राखेका छन् । वनस्थलीस्थित पार्टी कार्यालयमा रास्वपाका नेता÷कार्यकर्ताका भीड नै लागेको छ ।  

जोशी पक्राउ परेपछि रास्वपा सभापति लामिछाने पार्टी कार्यालयमा रहेका छन् । त्यसपछि रास्वपाका बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका थिए । त्यस पछि नेता÷कार्यकर्ता वनस्थलीस्थित पार्टी कार्यालय पुगेका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise