२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

कविता : रेमिट्यान्सको दशैं

ADV
२०८१ असोज १२ गते ०६:२०
कविता : रेमिट्यान्सको दशैं

–राजन केसी

दशैको मौसम मनमोहक
बल्लो घर पल्लो घर रङ्गीचङ्गी
बाटोघाटा झाङ झाडी सफाचट
चराहरूको चिरचिराहट धुन
मगंल धुन कालिका मन्दिरहरूमा
फुरुक्क मन नयाँ–नयाँ कपडाको आस ।।

गाउँघरमा पुगेको बाटोघाटो,
त्यहीमाथि आफ्नै गाडीको सवारी,
सबै परिवार एउटै गाडीमा लस्करी,
आएर खुसी परिवारको गुरुङ दाइ रमाए,
भेटेर नयाँ–नयाँ नातिनातिना !

दशैसँगै सबै रमाउने यी परिवारको साथ
भेटिन्न यस्तो खुसी कहीँ संसारमा
रिस राग पूर्वाग्रह भुलेर छिमेकी
हाँसी मजाक गर्दछन्
ठुलाबडासँग आशीर्वाद लिई !

साइलादाइ र माइला दाइ भेट हुने मेलो,
भाउजू र बुहारीहरूको मन पेट माझ्ने मेसो
भतिज, नाति, पलाँतीहरूको चिनजानको भलाकुसारी,
हजुरबा–हजुरआमाको बुढ्यौली फुर्ती
देखेर आँगनभर आफ्नै सन्तति !

लिङ्गे पिङ र चग्रेली पिङ
मच्चाउने युवाहरू
गाउँ सजिएको मस्त रमेर
ठिटा तरुनीहरूको आँखाका भाका
स्वादहरूमा रमेको पर्व ।।

वल्लो गाउँ पल्लो गाउँ चाहरेर
खोज्दै हिँड्नु पर्छ बोका मुसारेर
ल्याएका खसी छानेर ल्याउनुपर्छ बाँधेर
कुभिन्डा घिरौँलाका बतिला पहिलो बलिपुजा
फूलपातीले मन्साएको बोकाको बली ।।

न जाडो न गर्मीको शीतल मौसम
फाँट भरि लहलहाउँदा धानको गाजहरू
लटरम्म फलेका बेलाउँती र स्याउहरू
हिमाल खुलेको त्यही आकाश हाँसेको ।।

टिकाको साइत छोप्ने भ्याइ नभ्याई
मान्यजनसँगको धाई धाई गएर आशीर्वाद,
मिठो मसिनो खाएर गद गद,
सबैसँग गफगाफको फुर्सद ।।

ठुलीआमा र हजुर–आमाको टिका अन्तिम जस्तै छ यो
टिका र आशिष् फेरी काहा पाइन्छ र भोलि
रहेनन् भनी उनी यो धर्तीमा फेरी
खुड्को रहिरहेनछ मेरो जीवन भरी ।।

छोरा छोरीलाई आर्सीवाद दिन पर्खिएका आमा बाबु
रातिको मध्यरातमा पनि आउँछ की भनी
टोलाएर बाटो हेरी राख्छन् जुनको उज्यालोमा पनि
हेर्दा हेर्दै भाले बास्यो बिहानी सित चल्यो ।।

अनयासै झस्किए बुढा
छोराले विदेशबाट पठाएको पैसाको नम्बर हेरे
आइएमई नम्बरमा छोराको अनुहार देखे
त्यही पैसाले गर्जो मिलाउन तम्सिएर निस्किए
रेमिट्यान्सको पैसाले साटिएछ बाको यो दशैको खुसी ।।

ADVADV

सम्बन्धित खबर

Advertise